एकै प्रकृतिका दुई व्यावसायिक सम्भावना !

सोमबार, ३० कार्तिक २०८३, १३ : १६

बेलायत आएको तीस वर्ष पुग्न लाग्दा पनि सुरुका दिनको एउटा अनुभव अझै मेरो मनमा ताजै छ। रेल स्टेसनमा यात्रुहरूले आफ्ना भारी झोला, सुटकेस र अन्य सामान सुरक्षित ठाउँमा राखेर दिनभरि सहर घुम्थे, आवश्यक काम सक्थे र फर्किएपछि आफ्नै सामान लिएर यात्रा अगाडि बढाउँथे। त्यो सुविधा देखेर म निकै अचम्मित भएको थिएँ। त्यतिबेला मनमा एउटा प्रश्न उठेको थियो, नेपालमा पनि यस्तो व्यवस्था भए यात्रुहरूलाई कति सहज हुन्थ्यो होला?

बेलायतमा बस्दा मैले आफैँ पनि पटकपटक यस्तो सेवा प्रयोग गरेको छु। कुनै सहरमा केही घण्टा मात्र बिताउनुपर्ने, होटलबाट चेकआउट गरिसकेको तर उडान वा रेल छुट्ने समय बाँकी रहेको अथवा भारी सामान बोकेर घुम्न असहज भएको अवस्थामा यो सेवा निकै उपयोगी हुन्छ। सामान सुरक्षित ठाउँमा राखेर ढुक्कसँग घुम्न, भेटघाट गर्न वा आवश्यक काम सक्न पाउनु आफैँमा ठूलो सुविधा हो।

तीस वर्षअघि देखेको यही सामान्य सुविधाले आज मलाई नेपालमा दुईवटा व्यावसायिक सम्भावनाबारे सोच्न प्रेरित गरेको छ। ती हुन्, यात्रुका सामान केही घण्टा वा दिनका लागि सुरक्षित राख्ने सेवा र घरायसी तथा व्यावसायिक सामान लामो समयसम्म भण्डारण गर्ने व्यवसाय। दुवैको उद्देश्य सामान सुरक्षित राख्नु भए पनि प्रकृति, ग्राहक र सञ्चालन प्रणाली फरक छन्।

१. यात्रुको सामान राख्ने सुविधा (Left Luggage)

बेलायतमा रेल स्टेसन, विमानस्थल र प्रमुख यातायात केन्द्रहरूमा यात्रुको सामान सुरक्षित राख्ने सुविधा लामो समयदेखि चलनमा छ। रेल यातायातको विकाससँगै यात्रुको सामान ओसारपसार र सुरक्षित राख्ने व्यवस्था पनि विकसित हुँदै गयो। समयसँगै केही घण्टा वा दिनका लागि सामान राख्ने छुट्टै सेवा व्यवस्थित बन्यो।

आज लन्डनका किङ्स क्रस, युस्टन, प्याडिङ्टन, भिक्टोरिया र वाटरलु लगायत प्रमुख रेल स्टेसन तथा विमानस्थलहरूमा यस्तो सुविधा उपलब्ध छ। यस क्षेत्रमा एक्सेस ब्यागेज कम्पनी (Excess Baggage Company) एउटा परिचित नाम हो। यसले प्रमुख रेल स्टेसन र विमानस्थलहरूमा यात्रुको सामान राख्ने, प्याकिङ गर्ने तथा सामान अर्को गन्तव्यमा पठाउने सेवासमेत उपलब्ध गराउँदै आएको छ।

पछिल्लो समय प्रविधिको विकाससँगै यो व्यवसायले नयाँ स्वरूप लिएको छ। स्टाशर (Stasher), बाउन्स (Bounce), रेडिकल स्टोरेज (Radical Storage), लगेज हिरो (LuggageHero) र न्यानिब्याग (Nannybag) जस्ता कम्पनीहरूले वेबसाइट र मोबाइल एपमार्फत सामान राख्ने ठाउँ खोज्ने र बुकिङ गर्ने सुविधा दिएका छन्।

यीमध्ये धेरै कम्पनीले आफैँ सबै स्थानमा ठूला भण्डारण केन्द्र बनाउँदैनन्। होटल, पसल, क्याफे र अन्य स्थानीय व्यवसायसँग सहकार्य गरेर उनीहरूको सुरक्षित खाली ठाउँलाई सामान राख्ने केन्द्रका रूपमा प्रयोग गर्छन्। ग्राहकले अनलाइनबाट नजिकको स्थान छान्छन्, बुकिङ गर्छन्, तोकिएको समयमा सामान बुझाउँछन् र पछि फिर्ता लिन्छन्। यसले ठूलो भवन वा जग्गामा लगानी नगरी पनि स्थानीय व्यवसायसँगको सहकार्यमा यस्तो सेवा सञ्चालन गर्न सकिने देखाउँछ।

नेपालमा पनि यस्तो सेवा सुरु गर्ने पर्याप्त सम्भावना छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंका प्रमुख बसपार्क तथा पोखरा, चितवन र लुम्बिनीजस्ता पर्यटकीय क्षेत्रमा यो सुविधा निकै उपयोगी हुन सक्छ।


यो सेवा सुरु गर्न सुरुमै ठूलो भवन वा धेरै लगानी आवश्यक नहुन सक्छ। उपयुक्त स्थानमा सानो सुरक्षित कोठा, सामानको अभिलेख राख्ने प्रणाली, सीसीटीभी, बीमा र भरपर्दो कर्मचारीको व्यवस्था गरेर पनि सुरु गर्न सकिन्छ। स्थानीय होटल र पसलसँग सहकार्य गरेर क्रमशः सेवा विस्तार गर्ने मोडेल पनि उपयुक्त हुन सक्छ।

२. सेल्फ स्टोरेज (Self Storage): सामान भण्डारण गर्ने ठूलो उद्योग

यात्रुको सामान केही घण्टा राख्ने सेवाभन्दा फरक, सेल्फ स्टोरेज भनेको घरायसी तथा व्यावसायिक सामान लामो समयसम्म सुरक्षित राख्न छुट्टाछुट्टै कोठा वा भण्डारण कक्ष भाडामा दिने व्यवसाय हो।

यसको आधुनिक व्यावसायिक अवधारणा संयुक्त राज्य अमेरिकामा सन् १९६० को दशकतिर विकसित भएको मानिन्छ। शहरीकरण, बसाइँसराइ, घरको सीमित ठाउँ र व्यापारिक गतिविधिको विस्तारसँगै मानिसहरूलाई अतिरिक्त सामान राख्ने सुरक्षित ठाउँ आवश्यक पर्न थाल्यो। यही आवश्यकताले निजी भण्डारण कक्ष भाडामा दिने व्यवसायको विकास गर्‍यो।

बेलायतमा यसको आधुनिक व्यावसायिक सुरुवात सन् १९७९ मा भएको मानिन्छ। अमेरिकामा यस्तो व्यवसायको अवधारणा देखेर फर्किएका डग ह्याम्पसनले एबे सेल्फ स्टोरेज स्थापना गरेका थिए। त्यसपछि क्रमशः यो उद्योग विस्तार हुँदै गयो। सुरुमा व्यापारी तथा साना व्यवसायले अतिरिक्त मालसामान, कागजात र उपकरण राख्न यसको प्रयोग गर्थे। पछि घरायसी ग्राहक पनि यसतर्फ आकर्षित हुन थाले।

सन् १९९० को दशकपछि यसको प्रयोग अझ विस्तार भयो। घर सर्दा, विदेश जाँदा, घर मर्मत गर्दा वा केही समयका लागि अर्को ठाउँमा बस्नुपर्दा मानिसहरूले आफ्ना फर्निचर र घरायसी सामान सुरक्षित राख्न यस्तो सुविधा प्रयोग गर्न थाले।

आज बेलायतमा यो एउटा ठूलो व्यावसायिक उद्योग बनिसकेको छ। सेल्फ स्टोरेज एसोसिएसन युके र कुशम्यान एन्ड वेकफिल्डको सन् २०२६ को वार्षिक प्रतिवेदनअनुसार सन् २०२५ मा बेलायतभरि ३,१४३ वटा भण्डारण केन्द्र सञ्चालनमा थिए। तिनको कुल भण्डारण क्षेत्रफल ६ करोड ७५ लाख वर्गफिट पुगेको थियो भने वार्षिक कारोबार करिब १ अर्ब ३० करोड पाउन्ड थियो।

प्रतिवेदनअनुसार यस सेवाको ७६ प्रतिशत प्रयोग घरायसी ग्राहकले गरेका छन्। घरमा पर्याप्त ठाउँ नहुनु यसको प्रमुख कारण हो। त्यस्तै, ९४.२ प्रतिशत केन्द्रले अनलाइन बुकिङ सुविधा दिएका छन् भने ९०.८ प्रतिशतमा निगरानी गरिने सीसीटीभी प्रणाली प्रयोग भएको छ।

बेलायतमा यो व्यवसाय सञ्चालन गर्ने कम्पनीहरूको संख्या र विविधता पनि उल्लेखनीय छ। यस क्षेत्रमा सेफस्टोर (Safestore), बिग येलो (Big Yellow), शर्गार्ड (Shurgard), एक्सेस सेल्फ स्टोरेज (Access Self Storage), स्टोरेज किङ (Storage King), लक एन स्टोर (Lok'nStore), फ्लेक्सिस (Flexiss), युके स्टोरेज कम्पनी (UK Storage Company), लक स्टक (Lock Stock), स्टोरबक्स (Storebox), रेडी स्टेडी स्टोर (Ready Steady Store), आर्माडिलो (Armadillo) र सिन्च सेल्फ स्टोरेज (Cinch Self Storage) जस्ता कम्पनीहरू सक्रिय छन्।

यी कम्पनीहरूले ग्राहकको आवश्यकताअनुसार सानो लकरदेखि पूरै घरका सामान अट्ने ठूला भण्डारण कक्षसम्म उपलब्ध गराउँछन्। केही कम्पनीले व्यापारिक सामान, कागजात, उपकरण तथा कन्टेनर भण्डारणको सुविधा पनि दिन्छन्।

यसको सञ्चालन प्रणाली पनि निकै व्यवस्थित छ। ग्राहकले आवश्यक आकारको कोठा छनोट गर्छन्, निश्चित अवधिका लागि शुल्क तिर्छन् र आफ्नै ताला लगाएर सामान राख्छन्। सीसीटीभी, डिजिटल प्रवेश प्रणाली, अग्नि सुरक्षा, बीमा र अनलाइन बुकिङका कारण यसले सामान्य गोदामभन्दा फरक पहिचान बनाएको छ।

यस उद्योगको विकास हुनुमा घरको सीमित ठाउँ मात्र होइन, मानिसहरूको बदलिँदो जीवनशैली पनि महत्वपूर्ण छ। विद्यार्थी, आप्रवासी, अस्थायी रूपमा बसोबास गर्ने व्यक्ति र साना व्यवसायीका लागि यस्तो सेवा उपयोगी बनेको छ। ठूलो गोदाम भाडामा लिनुभन्दा आवश्यकताअनुसारको सानो भण्डारण कक्ष लिनु आर्थिक रूपमा पनि सहज हुन सक्छ।

नेपालमा यस्तो व्यवसायको सम्भावना पनि बदलिँदो जीवनशैलीसँग जोडिएको छ। काठमाडौंलगायत प्रमुख सहरहरूमा अपार्टमेन्ट र सीमित ठाउँ भएका घरमा बस्ने मानिसहरूको संख्या बढिरहेको छ। विदेश जाने र फर्कने नेपालीहरूलाई पनि आफ्ना सामान केही समय सुरक्षित राख्नुपर्ने अवस्था आउँछ। घर मर्मत गर्ने, नयाँ घरमा सर्ने वा अस्थायी रूपमा अर्को ठाउँमा बस्ने परिवारलाई पनि यस्तो सुविधा आवश्यक पर्न सक्छ।

त्यस्तै, साना व्यापारी तथा अनलाइन व्यवसाय सञ्चालन गर्नेहरूका लागि ठूलो गोदाम भाडामा लिनुभन्दा आवश्यकताअनुसारको सानो भण्डारण कक्ष लिनु सस्तो र सहज हुन सक्छ।

नेपालमा यो व्यवसाय सुरु गर्दा एकैपटक ठूलो लगानी गर्नुभन्दा बजारको मागअनुसार सानो स्तरबाट सुरु गर्नु उपयुक्त हुन्छ। यात्रुका लागि सामान राख्ने सेवा र घरायसी तथा व्यावसायिक भण्डारण सेवा छुट्टाछुट्टै सञ्चालन गर्न सकिन्छ। ग्राहकको विश्वास जित्न सुरक्षा, बीमा, सामानको अभिलेख र स्पष्ट शुल्क प्रणालीमा विशेष ध्यान दिनुपर्छ। (लेखक श्रेष्ठ हाल,विन्जर युकेमा रहेका छन्)

सोमबार, ३० कार्तिक २०८३, १३ : १६

प्रतिक्रिया