यतिबेला दिपावली तिहारको रौनकले शहर बजार गाउ झिलिमिलि भएको छ। सबैतिर उज्यालो र उल्लासमय वातावरण छ। तिहार नेपाली समाजको एक महत्वपूर्ण, सांस्कृतिक र धार्मिक पर्व हो। यसलाई उज्यालोको पर्व पनि भनिन्छ। अँध्यारोलाई चिर्दै उज्यालोतर्फ अघि बढ्ने सन्देश दिने भएकाले तिहारको विशेष महत्त्व छ।
घर, आँगन र सडकमा झिलिमिली बत्ती, दियो, मैनबत्ती, फूलमाला र रंगोलीले सजिँदा वातावरण नै उल्लासमय बन्छ। लक्ष्मीपूजा, काग तिहार, कुकुर तिहार, गाई तिहार, गोवर्धन पूजा र भाइटीका यसले निराशामाथि आशा, अज्ञानतामाथि ज्ञान र अन्धकारमाथि उज्यालोको विजयको सन्देश दिने विश्वास छ।
अहिले सबैतिर झिलिमिलि देख्दा केही बर्ष अगाडिको दिनहरु याद आउँछ । ती दिनहरु नेपालमा विजुली बत्ती आउनु ठूलो भाग्य भएको जस्तो लाग्थ्यो। कैयौ दिपावली मैन बत्तीका भरमा बिते । त्यो समय देशमा दैनिक १८ घण्टासम्म विद्युत् कटौती हुने अवस्था थियो। अझ सुक्खायाममा विद्युत् अभावले जनजीवन अस्तव्यस्त बनाउँथ्यो। विद्यार्थीको पढाइ, उद्योगधन्दा, व्यापार व्यवसाय, सञ्चारमाध्यम र अस्पतालसम्म प्रभावित हुन्थे। मैनबत्ती, टुकी र इन्भर्टर नेपालीका बाध्यता बनेका थिए। विद्युत उत्पादनको सम्भावना हुँदाहुँदै पनि कमजोर व्यवस्थापन, उत्पादनको कमी, प्रसारण पूर्वाधारको अभाव र बढ्दो मागले समस्या जटिल बनेको थियो।
यस्तै, कष्टका बिचमा २०७३ साल साउन ३० गते उर्जामन्त्रालयको जिम्मेवारीमा जनार्दन शर्मा ‘प्रभाकर’ पुगे। उर्जाको जिम्मेवारीमा पुग्नासाथ उनको नजर विद्युत प्राधिकरण भित्रको बद्मासी र अनियमितता पर्यो । बर्षौदेखि खोला ओगटेर बस्ने अथवा सबै खोला दलालको हातमा र अनियमित वितरण प्रणाली , बिद्युत चोरी जस्ता विषयमा पर्यो । त्यसका लागि उनले
मन्त्रालयको जिम्मेवारी सम्हालेको दुई वर्षभित्र पूर्ण रूपमा लोडसेडिङ अन्त्य गर्ने प्रतिबद्धतासहित ३७ बुँदे कार्ययोजना सार्वजनिक गरे। जसमा ‘उज्यालो नेपाल अभियान’ र ‘नेपालको पानी, जनताको लगानी’ जस्ता अवधारणा जनार्दनले अगाडि सारेका हुन्।
यी कामलाई ब्यवस्थित रुपमा अगाडि बढाउन उनैको पहलमा विद्युत् प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय भयो। विद्युत् चुहावट नियन्त्रण, भारतबाट विद्युत् आयातको पहल तथा उपलब्ध स्रोतको प्रभावकारी व्यवस्थापनमा जनार्दनको राजनीतिक र नीतिगत नेतृत्व र विद्युत् प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ आएपछि विद्युत् व्यवस्थापनमा नयाँ पहल सुरु भयो। भारतबाट विद्युत् आयात, उपलब्ध विद्युत्को उचित व्यवस्थापन, चुहावट नियन्त्रण र मागअनुसार आपूर्ति मिलाउने प्रयासबाट क्रमशः लोडसेडिङ अन्त्य हुँदै गयो। सुरुमा काठमाडौं उपत्यकाबाट सुरु भएको नियमित विद्युत् आपूर्ति विस्तारै देशभर फैलियो।
लोडसेडिङ अन्त्य नेपालको ऊर्जा इतिहासमा जनार्दन शर्माको नेतृत्वमा भएको अति महत्वपूर्ण परिवर्तन हो। यसले उज्यालो मात्र दिएन, उद्योग, व्यवसाय र आम नागरिकको दैनिक जीवनमा नयाँ आशा पनि जगायो। २०७३ साउन ३० गते मन्त्रालयको जिम्मेवारी लिएका उनले कामहरु यति ब्यवस्थित रुपमा अगाडि बढाए कि परिणामस्वरूप २०७३ सालको लक्ष्मीपूजाबाट काठमाडौंमा नियमित विद्युत् आपूर्ति सुरु भयो र क्रमशः देशभर लोडसेडिङ अन्त्यको आधार तयार भयो। उनलाई फिल्डबाट कुशल प्रशासक कुलमान घिसिङले साथ दिए ।
लोडसेडिङ अन्त्य हुने आशा आम जनताका लागि एउटा दन्त्य कथा जस्तै थियो । तर आज तिहारले देशभर उज्यालो छरेको छ। गाउँदेखि सहरसम्म घर, आँगन र सडक झिलिमिली छन्। कुनै समय दैनिक १२ देखि १८ घण्टासम्मको लोडसेडिङ झेलेको हाम्रो देश आज विद्युत्को सहज आपूर्तिसँगै उज्यालोको पर्व दिपावली मनाइरहेको छ। यो परिवर्तन आफैँमा सुखद र गौरवपूर्ण छ।
तर आजको यो उज्यालोमा विगतको अँध्यारो हटाउन नीतिगत पहल, राजनीतिक प्रतिबद्धता र प्रशासनिक नेतृत्व प्रदान गर्ने व्यक्तित्वहरूको योगदान पनि स्मरण गर्न आवश्यक छ। तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले लोडसेडिङ अन्त्य गर्ने स्पष्ट लक्ष्यसहित अगाडि सारेको कार्ययोजना, नीतिगत निर्णय र समन्वयकारी पहलले ऊर्जा व्यवस्थापनमा नयाँ दिशा दिएको थियो। नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ र उनको नेतृत्वको प्राविधिक तथा प्रशासनिक टोलीले त्यसलाई व्यवहारमा उतार्न महत्वपूर्ण भूमिका निर्वाह गर्यो।
परिवर्तनका उपलब्धि सम्झँदा त्यसका लागि योगदान गर्ने पात्रहरूलाई बिर्सनु हुँदैन। नेतृत्वको पहिचान पद र प्रचारले मात्र होइन, देश र जनताको जीवनमा ल्याएको सकारात्मक परिवर्तनले स्थापित हुन्छ। आज घरघरमा बलेका बत्तीले उज्यालो दिइरहँदा त्यो उज्यालो सम्भव बनाउन योगदान गर्ने जनार्दन शर्मा, कुलमान घिसिङलगायतका पात्रहरूको योगदान पनि उत्तिकै उज्यालो भएर सम्झिरहेका छौ।
शुभ दीपावली !
प्रतिक्रिया