काठमाडौं - आज मुलुक जुन अवस्थामा पुगेको छ, त्यसको जिम्मेवार वर्तमान सरकारले त लिनै पर्दछ । तर पुराना दलहरु जो आजका नयाँ भनिएका दलका नेताहरुलाई पुल्पुलाएर उनीहरुका सबै कु कर्महरुमा आँखा चिम्लिदिए । सिंह दरवार जलाउँछु भन्नेलाई ‘गणतन्त्रका फूल’ भनियो । करोडौं ठगी र दुई दुईवटा पासपार्ट भएको व्यक्तिलाई दुईपटक गृहमन्त्री बनाइयो । त्यसैले आजको राजनीतिक विकृति र अपराधमा नयाँ जत्तिकै पुराना दल पनि हिस्सेदार छन् । आज त्यही राजनीतिक सौदाबाजीको कारण देशमाथि भद्धा मजाक भैरहेको छ । मुलुक नै असरफल राज्य बन्ने दिशातिर उन्मुख देखिन्छ । तर सरकारमा बसेकाहरुलाई बुनै मतलब छैन । उनीहरु आफ्नो स्वार्थको रोटी सेक्न मात्र तल्लीन छन् । प्रतिशोधलाई नै आफ्नो सफलता ठानिरहेका छन् ।
सबैलाई ज्ञात भएको कुरा हो यो सरकार गठनको पृष्ठभूमि जेन–जी आन्दोलनसँग जोडिएको छ । जेन–जी आन्दोलनको पृष्ठभूमि नागरिकमा निराशासँग जोडिएको थियो । तर त्यही पृष्ठभूमिबाट सत्तामा पुगेकाहरु अहिले सत्तालाई मजाक र रमाइृलोको विषय बनाइरहेका छन् । सुशासन, आर्थिक विकास र समृद्धिका नारा त लाग्थे तर नारामै सीमित हुन्थे । नियुक्तिहरू प्रायः विवादमा पर्थे । बेरोजगारी, महँगी र सामाजिक असुरक्षाले नागरिकमा असन्तुष्टि र निराशा बढ्दै थियो । अन्ततः विस्फोट भयो । दुर्भाग्यको कुरा नयाँ अनुहारहरु सत्तामा आएपछि पनि तिनै पुराना विकृतिहरु दोहोरिए ।
समाजशास्त्रको सिद्धान्तले भन्छ, समाज र राजनीति तरंगित भएकै राम्रो हो । त्यसले आममानिसलाई महत्त्वपूर्ण बहसको हिस्सा बनाउँदै लैजान्छ । समाजमा लोकतन्त्र संस्थागत पनि हुन्छ । तर, त्यस्तो तरंग समाजको मूल आवश्यकता र दिशासँग भने तादत्म्य हुनुपर्छ । बलियो सरकारको प्राथमिकतामा नागरिकले भोग्दै आएका समस्याको दीर्घकालीन समाधान खोज्ने विषय प्राथमिकतामा पर्नुपर्ने हो । यतिबेला नेपाली युवा बेरोजगारीबाट प्रताडित छन् । त्यसैले रोजगारी सिर्जना गर्नका लागि अपनाउनुपर्ने रणनीतिमा व्यापक विमर्श भइरहेको र सरकारले पनि पहल गरिरहेको विषयले महत्त्व पाउनुपर्ने हो । रोजगारी सिर्जना गर्न लगानी चाहिन्छ, लगानीका लागि लगानीकर्ता प्रोत्साहित गर्नुपर्ने हुन्छ, प्रोत्साहनका लागि कानुनी र राजनीतिक वातावरण बनाउनुपर्छ र सरकारले पूर्वाधारमा लगानी गर्नुपर्छ ।
यो सरकार बनेपछि बजारमा कुनै पनि वस्तुको मूल्य घटेको छैन । हरेका उपभोग्य वस्तुको मूल्य बढेकै छ । नागरिकले सहजै खाना पकाउने ग्यास पाउन सकेका छैनन् । भान्छा महँगो भएको छ । परिवारका विकल्प र आकांक्षा खुम्चिएका छन् । हरेक परिवार महँगीले प्रताडित भइरहँदा, ग्यास नपाएर छटपटिरहँदा सरकारले बलियो पहल गरेको अनुभूति हुँदैन । कसका कारण मूल्य बढ्यो वा अभाव सिर्जना भयो भनेर सरकारले नागरिकलाई प्रस्टसँग बताउँदैन । समस्या यतिमै सकिँदैन । एउटा परिवारको सबैभन्दा ठूलो चिन्ता बालबालिकाको शिक्षा र परिवारका सबै सदस्यको स्वास्थ्योपचार शुल्कसँग जोडिएको छ । यस्ता समस्यातर्फ सरकार गम्भीर भएको पाइँदैन ।
सरकार समर्थकहरु अहिले पनि ३५ वर्षको राग अलापिरहेका छन् । उनीहरुलाई हेक्का हुुनुपर्ने हो वर्तमान सरकार गठन भएपछि ऊ स्वयंद्वारा सिर्जना भएका वा गरिएका समस्याको पनि कुशलतापूर्वक समाधान हुन सकेको छैन । गत वैशाखमा हठात् सुकुमवासी बस्तीमाथि बल प्रयोग गरियो, डोजरको आतंक सिर्जना गरियो । आतंकित र निरीह भएका सुकुमवासीले आफूलाई राज्यसँगै समर्पित गरे । त्यस क्रममा परिवारको आर्थिक–सामाजिक आधार भत्कियो, बालबालिकाको पढाइ बिथोलियो, सबैको जीवन बिचल्लीमा पर्यो । अन्ततः तिनको प्रभावकारी व्यवस्थापन हुन सकेन ।उनीहरूलाई हेपियो, बेइज्जती गरियो, हैरान दिइयो, गलाइयो । अन्ततः अलपत्र पारियो । अर्को सन्दर्भका रूपमा भोटेकोशी बाढीपीडितलाई हेर्न सकिन्छ । विपद्कारी बाढी आएको दुई महिना बितिसकेको छ । मृत्यु हुने र बेपत्ता हुनेका आफ्नै दुःखान्त छन् । तर, प्रभावितको पुनःस्थापना, किरिया खर्च, आवास र जीविकोपार्जनमा राज्यको भूमिका कमजोर देखिएको छ । यसरी राज्यले हरपल साथ दिनुपर्नेहरू नै राज्यको बेवास्ता खेपिरहेका छन् । के यी सबै समस्याहरुलाई ३५ वर्षको गीत गाएर विषयान्तर गर्न मिल्छ ?
पूर्वाग्रह र दूई तिहाइको अहंकार यति बढेको छ कि अख्तियारका आयुक्तहरूलाई प्रधानमन्त्री कार्यालयमा धम्क्याएर सरकारको रुचिअनुसार निर्णय लिन बाध्य पारिन्छ । उद्योगीका घरमा घण्टौंसम्म खानतलासी लिइन्छ, पक्राउ गरिन्छ, तेजोवध गरिन्छ । समाचार लेखेकै कारण पत्रकारहरू पक्राउ पर्छन् तर कसले र किन पक्रियो भनेर खुलाइँदैन । विगतका सरकारलाई माथ दिने गरी विवादास्पद नियुक्तिहरू गरिन्छ ।
के राज्यसत्ता कसैको प्राइभेट कम्पनि हो ? जे मन लाग्यो त्यही गर्न पाइन्छ ? कुनैबेला जवाफ त दिनुपर्ला नि । किनकि सत्ता सधैं स्थिर रहँदैन ।
एक जना बिचौलिया इनम सापकोटा पक्राउ परेपछि उसलाई केन्द्रमा राखेर निष्पक्ष ढंगबाट विस्तृत छानबिन गर्ने, अनियमितता र सेटिङमा संलग्नलाई कानुनअनुसार कारबाही गर्ने र राज्य संरचनामा शुद्धीकरण सुनिश्चित गर्नेभन्दा दैनिक रोमाञ्च सिर्जना गर्न खोजिएको छ । बुधबार सरकारले नेपाल प्रहरीका आईजी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ । यस्ता धेरै विषय छन्, जसकारण राजनीति सधैं सनसनीपूर्ण भइरहने, मानिसको अधिकांश हिस्सा यस्तै विषयमा चर्चा गरेर बित्ने तर दैनिक समस्या भने ओझेल पर्ने स्थिति बनेको छ ।
नयाँ नयाँ राजनीतिक स्टन्ट र काण्डहरुलाई मानिसहरुले रमाईलो नै मानिरहेका होलान् । तर परिस्थिति सधै. यस्तै रहने छैन । यसले सरकारलाई त फाइदै पुर्याएको हुनुपर्छ किनकि नागरिक अन्तै भुलेका छन्, ऊप्रति प्रश्न गरिरहेका छैनन् । हिसाबकिताब मागिरहेका छैनन् । तर स्थिति यस्तै रहने हो भने नेपाली समाज असन्तुष्टि र निराशाको एउटा चक्रबाट फुत्किन नपाउँदै अर्को चक्रमा होमिने सम्भावनालाई नकार्न सकिँदैन ।
प्रतिक्रिया