दसैंको मुखमा नेपालको वामपन्थी आन्दोलनका बौद्धिक नेता डा. विजय पौडेलको दुखद् निधन भयो। जन्मिएपछि मृत्यु हुनु स्वाभाविक प्रक्रिया हो । यसलाई विज्ञानसम्मत नै मानिन्छ । तर मृत्युहरु सहज र असहज हने गर्दछन । त्यस्तै असहज मृतु भयो विजय पौडेलको । उनको निधनले नेपाली वामपन्थी आन्दोलन, राजनीतिक नेतृत्व, सञ्चार क्षेत्र र हाम्रो सामाजिक चरित्रमाथि अनेक प्रश्न जन्माएको छ।
एउटा मानिसको मृत्युमा दुःख व्यक्त गर्नु स्वाभाविक हो। सामाजिक सञ्जालमा श्रद्धाञ्जलीका शब्द लेख्नु, अन्त्येष्टिमा सहभागी हुनु, फूलमाला चढाउनु र दिवंगत व्यक्तिको योगदानको चर्चा गर्नु पनि मानवीय संवेदना हुन्। तर प्रश्न यति मात्र होइन, हामीले आज श्रद्धाञ्जली अर्पण गरिरहेको व्यक्ति जो बाच्न चाहन्थ्यो, कुनै रोग ब्याधी र दुर्घटनामा उसको मृत्यु भएको होइन। तर यो समाजले उसलाई मृत्यु रोज्न बाध्य बनायो।
यहाँ उठाउन खोजेको विषय उनी जीवित हुँदा उनले सहयोगका लागि गरेका याचना हामिले कति सुन्यौं ? कति साथ दियौं ? उनको संकटमा कति साथमै उभियौं ? उनले सहयोग खोज्दा हाम्रो व्यवहार कस्तो थियो ? यी प्रश्नको उत्तर हाम्रो समाजले खोज्नु पर्दछ ।
डा. विजय पौडेल मूलतः नेपालको वामपन्थी राजनीतिक आन्दोलनसँग लामो समयदेखि जोडिएका नेता, अर्थशास्त्रका अध्येता, लेखक, पूर्व संविधानसभा सदस्य तथा जनता टेलिभिजनका संस्थापक अध्यक्ष थिए। उनी चर्चित वामपन्थी नेता तथा साहित्यकार मोदनाथ प्रश्रितका एक मात्र छोरा थिए। उनले अर्थशास्त्रमा विद्यावारिधि गरेका थिए र नेपालको वामपन्थी राजनीतिमा आफ्नै छुट्टै वैचारिक पहिचान बनाएका थिए।
उनी केवल राजनीतिक पद प्राप्त गर्न राजनीतिमा आएका व्यक्ति थिए कि वैचारिक उद्देश्यबाट प्रेरित थिए भन्ने बहस हुन सक्छ । तर अर्थशास्त्रको अध्ययन, लेखन र सञ्चार संस्थाको निर्माणमा उनले गरेको योगदानलाई बेवास्ता गर्न मिल्दैन। उनको निधनसँगै एउटा व्यक्तिको जीवन मात्र समाप्त भएको छैन, एउटा राजनीतिक अनुभव, एउटा बौद्धिक सम्भावना र एउटा संस्थागत प्रयासको भविष्यमाथि पनि प्रश्न उठेको छ।
डा. पौडेल लामो समय नेकपा एमालेमा सक्रिय रहे। माधवकुमार नेपाल नेतृत्वको समूह एमालेबाट अलगिएर नेकपा (एकीकृत समाजवादी) गठन गर्दा उनी पनि त्यस राजनीतिक धारसँग जोडिए। पछि एकीकृत समाजवादी र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीच एकता प्रक्रिया अघि बढ्दा त्यसप्रति असहमति जनाउँदै उनी घनश्याम भुसालसँग रहे । र, पछि नेकपा (संयुक्त) को जिम्मेवारीमा थिए । उनको राजनीतिक यात्राले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ—राजनीतिमा विचार, सिद्धान्त र आत्मसम्मानको स्थान कति छ ?
कुनै व्यक्ति आफ्नो राजनीतिक धार परिवर्तन गर्छ वा नेतृत्वको निर्णयसँग असहमत हुन्छ भने उसको योगदान पनि समाप्त हुन्छ ? उसलाई विगतमा गरेको कामको सम्मानबाट वञ्चित गर्न मिल्छ ? राजनीतिक असहमति लोकतन्त्रको स्वाभाविक पक्ष हो। तर असहमतिको मूल्य आर्थिक, सामाजिक र व्यक्तिगत रूपमा चुकाउनुपर्ने अवस्था सिर्जना हुन्छ भने त्यसले लोकतान्त्रिक संस्कारमाथि प्रश्न उठाउँछ।
डा. पौडेलको परिवारको अवस्था, श्रीमती तथा छोराछोरीको भविष्य र उनीमाथि परेको आर्थिक दबाबका विषयमा समाचार सार्वजनिक भएका छन्। तर परिवारका निजी विवरणलाई सनसनीपूर्ण बनाउनु उचित हुँदैन। बरु प्रश्न यो हो कि एउटा सार्वजनिक व्यक्तित्वले गम्भीर आर्थिक संकट भोग्दा त्यसको असर परिवारमा कति पर्छ ? राजनीतिक तप्काले यस्तो अवस्थामा परिवारलाई कति सहयोग गर्छ ? सिंगो जीवन राजनीतिमा खर्चिएको ब्यक्तिले पनि संकटको अन्तिम भार व्यक्तिले एक्लैले बोक्नुपर्ने अवस्था विजय पौडेलको मृत्युले उजागर गरेको छ।
जनता टेलिभिजनको स्थापना र संकट
डा. विजय पौडेलको जीवनसँग जोडिएको अर्को महत्त्वपूर्ण अध्याय जनता टेलिभिजन हो। उनले यस सञ्चार संस्थाको स्थापना तथा सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। एउटा टेलिभिजन स्थापना गर्नु केवल कार्यालय खोल्नु मात्रै होइन। त्यसका लागि ठूलो लगानी, दक्ष जनशक्ति, प्रविधि, नियमित सञ्चालन खर्च, विज्ञापन, बजार व्यवस्थापन र दीर्घकालीन आर्थिक योजना आवश्यक पर्छ।
जनता टेलिभिजन सञ्चालनमा आएपछि त्यससँग कर्मचारी, लगानीकर्ता, सञ्चारकर्मी र दर्शकका अपेक्षाहरू जोडिए। तर पछिल्लो समय टेलिभिजन आर्थिक संकटमा परेको, ऋणको दायित्व बढेको, कर्मचारीलाई तलब दिन समस्या भएको र ऋण व्यवस्थापन गर्न कठिनाइ भएको विवरण सार्वजनिक भए। टेलिभिजन सञ्चालनको आर्थिक दायित्वले पौडेललाई व्यक्तिगत रूपमा निकै प्रभावित गरेको थियो।
यहाँ एउटा गम्भीर प्रश्न छ सार्वजनिक उद्देश्यले स्थापना गरिएको संस्था आर्थिक संकटमा पर्दा त्यसको सम्पूर्ण दायित्व एक व्यक्तिले मात्र बोक्नुपर्ने हो ? लगानीकर्ता, व्यवस्थापन, राजनीतिक सहयात्री, सम्बन्धित निकाय र संस्थाबाट लाभ लिएका पक्षहरूको जिम्मेवारी कहाँ जान्छ ?
व्यावसायिक असफलताको कारण पत्ता लगाउनु आवश्यक छ। राजनीतिक दबाब, विज्ञापनको अभाव, व्यवस्थापनका कमजोरी वा ऋणको बोझमध्ये कुन पक्षको कति भूमिका थियो भन्ने निष्पक्ष अध्ययन हुनुपर्छ। प्रमाणबिना कसैलाई दोषी ठहर गर्नु उचित हुँदैन। तर संस्थाको संकटलाई एउटा व्यक्तिको निजी असफलता भनेर मात्र टुङ्ग्याउनु पनि न्यायसंगत हुँदैन।
अन्तिम दिनको फोन र सहयोगको खोजी
डा. पौडेलको निधनपछि सार्वजनिक भएका विवरणमध्ये सबैभन्दा मर्मस्पर्शी विषय उनको अन्तिम दिनतिर गरिएको सहयोगको याचना हो। समाचारअनुसार, निधन हुनुभन्दा अघि उनले नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेसहित दर्जनौं सहयात्री, साथीभाई आफन्तलाई फोन गरेका थिए। पाण्डेले सार्वजनिक गरेको विवरणअनुसार पौडेलले ऋणको तनावमा रहेको बताउँदै केही समयका लागि ऋण उपलब्ध गराउन सक्ने व्यक्तिबारे सोधेका थिए। यो विवरणले हाम्रो राजनीतिक सम्बन्धको प्रकृतिमाथि प्रश्न उठाउँछ। लामो समय एउटै आन्दोलनमा हिँडेका, विचार र संघर्षका अनुभव साटेका सहयात्रीबीच संकटको समयमा कस्तो सम्बन्ध हुनुपर्छ ? कसैले सहयोग माग्दा सहयोग गर्न नसक्नु आफैँमा अपराध होइन। हरेक व्यक्तिको आफ्नै सीमा, आर्थिक अवस्था र बाध्यता हुन्छ। तर सहयोग गर्न नसक्नु र संकटमा परेको मानिसको अवस्थाप्रति बेवास्ता गर्नु एउटै कुरा होइन।
आर्थिक सहयोग सम्भव नभए पनि अर्को उपाय खोज्न, सम्बन्धित व्यक्तिसँग समन्वय गर्न, व्यवस्थापनको बाटो देखाउन वा कम्तीमा उसको कुरा धैर्यपूर्वक सुन्न सकिन्छ। डा. पौडेलको फोनमा उठेका प्रश्नलाई व्यक्तिगत आरोपका रूपमा मात्र बुझ्नु हुँदैन। यो हाम्रो राजनीतिक संस्कारमाथिको प्रश्न हो हामी सहयात्रीलाई पदमा हुँदा मात्र चिन्छौँ कि संकटमा पर्दा पनि साथ दिन्छौँ ? बाहिरबाट हेर्दा बौद्धिक क्षमता, राजनीतिक अनुभव, सामाजिक प्रतिष्ठा र सम्बन्धको ठूलो घेरा देखिन सक्छ। तर ती सबै हुँदाहुँदै पनि मानिसले आर्थिक, पारिवारिक, व्यावसायिक वा व्यक्तिगत जीवनमा कठिन परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ। बाहिर देखिने व्यक्तित्व र भित्रको पीडाबीचको दूरी हामीले अनुमान गरेभन्दा धेरै हुन सक्छ। डा. पौडेलको निधनसँग जोडिएर सार्वजनिक भएका आर्थिक कठिनाइ र सहयोगको खोजीसम्बन्धी विवरणले हामीलाई यस्तै मानवीय पक्षबारे सोच्न बाध्य बनाएको छ ।
यी विवरणले संकटमा परेका मानिसप्रति हाम्रो व्यवहार कस्तो हुनुपर्छ भन्ने प्रश्न अवश्य उठाउँछन्। आर्थिक समस्या आउनु, व्यवसायमा कठिनाइ हुनु वा जीवनको कुनै मोडमा सहयोग खोज्नुपर्ने अवस्था सिर्जना हुनु मानिसको कमजोरी वा असफलताको अन्तिम प्रमाण होइन। कठिन परिस्थितिमा परेका व्यक्तिलाई दोष दिनुभन्दा उसको अवस्था बुझ्ने, सम्भव भएसम्म सहयोग जुटाउने र समाधानका विकल्प खोज्ने संस्कार आवश्यक हुन्छ। अप्ठ्यारो समयमा साथमा उभिएर एक्लो नभएको अनुभूति दिलाउनु महत्त्वपूर्ण हुन सक्छ।
कुनै व्यक्तिको निधनपछि उसले भोगेको पीडाको सम्पूर्ण कथा हामीलाई थाहा हुन्छ भन्ने छैन। त्यसैले मृत्युपछि दोषी खोज्ने हतारभन्दा जीवनकालमा मानिसलाई सहयोग गर्न सक्ने वातावरण कसरी बनाउने भन्ने प्रश्न बढी महत्त्वपूर्ण छ। राजनीतिक दल, सामाजिक संस्था, सहयात्री र परिवारले कठिन परिस्थितिमा परेका मानिसलाई समयमै सहयोग पुग्ने संयन्त्र विकास गर्न सके यस्ता संकटमा परेका अरू व्यक्तिलाई सहारा दिन सकिन्छ।
अन्त्येष्टिमा श्रद्धाञ्जली, जीवित छँदा उपेक्षा
कुनै व्यक्तिको निधनपछि नेता, कार्यकर्ता, आफन्त र शुभचिन्तक भेला हुनु स्वाभाविक हो। श्रद्धाञ्जली व्यक्त गर्नु, उनको योगदान सम्झनु र परिवारप्रति समवेदना प्रकट गर्नु मानवीय व्यवहार हुन्। त्यसैले अन्त्येष्टिमा उपस्थित भएका सबैलाई ढोँगी भन्न मिल्दैन। तर एउटा प्रश्न उठाउन भने मिल्छ आज जसको योगदानको प्रशंसा गर्दैछौँ, उनी जीवित छँदा उनको समस्याबारे हामी कति जानकार थियौँ ? थाहा पाएर पनि केही गर्न नसकेका हौँ कि गर्न चाहेनौँ ? उनको संकट समाधानका लागि राजनीतिक तथा सामाजिक तहमा कुनै सामूहिक पहल भएको थियो ? यदि कसैले जीवित छँदा सहयोग माग्दा बेवास्ता गर्यो, तर निधनपछि लामो श्रद्धाञ्जली लेखेर आफ्नो कर्तव्य पूरा भएको ठान्यो भने त्यस्तो व्यवहारमाथि प्रश्न उठ्नैपर्छ। श्रद्धाञ्जलीका शब्दले मृतकलाई फर्काउन सक्दैनन्। तर जीवित व्यक्तिलाई समयमै दिएको साथले उसको जीवनमा फरक पार्न सक्छ। त्यसैले मृत्युपछिको प्रशंसाभन्दा जीवनकालको सहकार्य ठूलो हो। मान्छे जीवित छँदा उसको दुःखमा साथ दिन नसक्ने समाजले मृत्युपछि फूलमाला चढाएर मात्र आफ्नो जिम्मेवारी पूरा गरेको मान्न मिल्दैन।
भाषणमा सामूहिकता, व्यवहारमा एक्लोपन
वामपन्थी आन्दोलनको एउटा महत्त्वपूर्ण आदर्श सामूहिकता हो। वर्गीय एकता, सहकार्य, आपसी सहयोग, सामाजिक न्याय र श्रमको सम्मान यसका आधारभूत मान्यता हुन्। समाजवादको कुरा गर्नेहरूले व्यक्तिको दुःखलाई उसको निजी समस्या भनेर पन्छाउन मिल्दैन। तर व्यवहारमा हामी कस्तो छौँ ? पदमा हुँदा वरिपरि मानिसको भीड हुन्छ। निर्णय गर्ने अधिकार हुँदा प्रशंसा गर्नेहरू धेरै हुन्छन्। स्रोत र शक्ति हुँदा सम्बन्धहरू बाक्ला देखिन्छन्। तर आर्थिक संकटमा पर्दा, पद गुमाउँदा वा राजनीतिक रूपमा कमजोर हुँदा ती सम्बन्ध कति टिक्छन् ? यो प्रश्न कुनै एक दल वा व्यक्तिको मात्र होइन, हाम्रो राजनीतिक संस्कारको साझा प्रश्न हो।
यदि हामी सामूहिक नेतृत्वको कुरा गर्छौँ भने सामूहिक जिम्मेवारी पनि स्वीकार गर्नुपर्छ। यदि हामी समाजवादको कुरा गर्छौँ भने संकटमा परेको सहयात्रीप्रति सामाजिक दायित्व पनि निर्वाह गर्नुपर्छ। यदि हामी वर्गीय एकताको कुरा गर्छौँ भने आफ्नो वरिपरिका मानिसको दुःखप्रति संवेदनशील हुनुपर्छ। नत्र समाजवाद भाषणको विषय मात्र बन्छ, सामूहिकता नारामा सीमित हुन्छ र सहयात्रा स्वार्थको सम्बन्धमा रूपान्तरित हुन्छ।
निर्दयी बन्दै गएको समाज र कर्मकाण्डी श्रद्धाञ्जली
आज हाम्रो समाजमा सार्वजनिक रूपमा दुःख व्यक्त गर्ने माध्यम प्रशस्त छन्। सामाजिक सञ्जालमा केही मिनेटमै श्रद्धाञ्जली लेख्न सकिन्छ। कसैको योगदानको प्रशंसा गर्न सकिन्छ। फोटो राखेर सम्मान प्रकट गर्न सकिन्छ।
तर दुःखमा परेको मानिसको समस्या समाधान गर्न समय, श्रम, स्रोत र जिम्मेवारी चाहिन्छ। यही आएर हाम्रो संवेदनशीलताको वास्तविक परीक्षा हुन्छ।
हामी अरूको असफलतामा टिप्पणी गर्न छिटो हुन्छौं। ऋण लाग्यो भने कमजोर व्यवस्थापक भन्छौं। व्यवसाय डुब्यो भने अयोग्य ठान्छौं। राजनीतिक रूपमा एक्लियो भने उसको विचारलाई दोष दिन्छौँ। तर त्यही व्यक्तिलाई संकटबाट बाहिर निकाल्न के गर्न सकिन्छ भनेर सोच्ने बानी कति छ ?
कर्मकाण्डी श्रद्धाञ्जलीको अर्थ मृतकप्रति सम्मान व्यक्त गर्नु गलत हो भन्ने होइन। यसको अर्थ सम्मानलाई व्यवहारसँग जोड्न नसक्नु हो। यदि डा. पौडेलको निधनले हामीलाई केही सिकाउँछ भने त्यो शिक्षा केवल शोकसभामा सीमित हुनु हुँदैन। आर्थिक संकटमा परेका मानिसलाई अपमान नगर्ने, सहयोग माग्नेलाई तुच्छ नठान्ने, साथीको समस्यालाई समयमै बुझ्ने र आवश्यक परे संस्थागत सहयोग जुटाउने संस्कार विकास गर्नुपर्छ।
‘३५ वर्ष लुटे’ भन्ने भाष्य र त्यागी नेतृत्वको मूल्यांकन
नेपाली राजनीतिमा लामो समयदेखि स्थापित नेतृत्वमाथि आलोचना हुँदै आएको छ। कतिपय नेताले लामो समय शासन गरे, तर जनताको अपेक्षाअनुसार परिणाम दिन सकेनन् भन्ने आलोचना स्वाभाविक हो। भ्रष्टाचार, अकर्मण्यता, अवसरवाद र सार्वजनिक स्रोतको दुरुपयोग गर्ने जोसुकैलाई प्रश्न गर्नु लोकतान्त्रिक अधिकार हो।तर केही नेताको कमजोरीलाई आधार बनाएर दशकौँदेखि राजनीतिक आन्दोलनमा लागेका सबै व्यक्तिलाई एउटै डालोमा राखेर अपमान गर्नु पनि न्यायसंगत हुँदैन।
‘३५ वर्ष लुटे’ भन्ने आरोप लगाउनेहरूले एउटा प्रश्नको उत्तर दिनुपर्छ ती ३५ वर्षमा सबैले एउटै भूमिका खेलेका थिए ? सबैले सत्ता र स्रोतमा समान पहुँच पाएका थिए ? सबैको जीवनशैली, आर्थिक अवस्था र राजनीतिक व्यवहार उस्तै थियो ? डा. विजय पौडेलको जीवनले कम्तीमा यो प्रश्न उठाउँछ कि राजनीतिक आन्दोलनभित्र सबैको अनुभव एउटै हुँदैन। कोही सत्ताको लाभमा रहन सक्छन्, कोही पद र अवसरबाट टाढा हुन सक्छन्, कोही संस्थागत संकटको भारी बोकिरहेका हुन सक्छन्। त्यसैले आलोचना तथ्यमा आधारित हुनुपर्छ। दोषीलाई संरक्षण गर्नु हुँदैन, तर दोष प्रमाणित नभएका मानिसलाई सामूहिक रूपमा अपराधी ठहर गर्नु पनि हुँदैन। नयाँ पुस्ताले पुरानो नेतृत्वका गल्तीमाथि प्रश्न उठाउनुपर्छ। तर इतिहासको योगदान, व्यक्तिगत इमानदारी, वैचारिक प्रतिबद्धता र राजनीतिक परिस्थितिको भिन्नता बुझ्ने क्षमता पनि देखाउनुपर्छ। नयाँ हुनु आफैँमा योग्यताको प्रमाण होइन, पुरानो हुनु आफैँमा अयोग्यताको प्रमाण पनि होइन।
अर्को कुरा, वामपन्थी आन्दोलनका लागि आत्मसमीक्षाको अवसर पनि हो । डा. विजय पौडेलको निधनलाई केवल एउटा नेताको निधन भनेर बिर्सनु हुँदैन। यसले वामपन्थी आन्दोलनको आन्तरिक सम्बन्ध, नेतृत्वको उत्तरदायित्व र संस्थागत सहयोगको अवस्थाबारे आत्मसमीक्षा गर्ने अवसर दिएको छ। हामीले यस्ता प्रश्नमा गम्भीर छलफल गर्नुपर्छ ।
निष्कर्ष,
श्रद्धाञ्जलीभन्दा ठूलो जिम्मेवारी
डा. विजय पौडेलको निधनले एउटा असहज सत्यतर्फ हाम्रो ध्यान खिचेको छ मानिसको सार्वजनिक परिचय जति ठूलो भए पनि ऊ व्यक्तिगत जीवनमा संकटमुक्त हुन्छ भन्ने छैन। राजनीतिक अनुभव, शैक्षिक योग्यता र सामाजिक सम्बन्धले मात्र आर्थिक तथा मानसिक दबाबबाट जोगाउन सक्दैनन्।
उनको निधनको कारणबारे निष्कर्ष निकाल्ने काम तथ्य र आधिकारिक विवरणका आधारमा हुनुपर्छ। तर उनको आर्थिक संकट, सहयोगको खोजी र सार्वजनिक जीवनसँग जोडिएका प्रश्नलाई बेवास्ता गर्न मिल्दैन। त्यस्तै, उनको योगदानलाई केवल निधनपछिको प्रशंसामा सीमित गर्नु पनि हुँदैन। हामीले आफूलाई सोध्नुपर्छ हामी कस्तो राजनीतिक समाज निर्माण गर्दैछौँरु हाम्रो सहयात्रा विचारमा आधारित छ कि अवसरमारु हाम्रो समाजवाद व्यवहारमा छ कि भाषणमारु हाम्रो सामूहिकता सङ्कटमा पनि देखिन्छ कि केवल सभामञ्चमारु कसैको मृत्युमा आँसु झार्नु मानवीय संवेदना हो। तर ऊ जीवित छँदा उसको पीडा बुझ्नु, सम्भव भएसम्म सहयोग गर्नु र सङ्कटबाट निस्कने बाटो खोज्न साथ दिनु त्योभन्दा ठूलो मानवीय दायित्व हो।
मृत्युपछिको श्रद्धाञ्जलीले हाम्रो संवेदना देखाउँछ, जीवित छँदाको सहयोगले हाम्रो चरित्र देखाउँछ। डा. विजय पौडेलको निधनबाट हामीले सिक्नुपर्ने सबैभन्दा ठूलो पाठ मानिसलाई उसको सबैभन्दा कठिन समयमा एक्लो नछाडौं भन्ने हो । राजनीतिक विचार फरक हुन सक्छन्, नेतृत्वसँग असहमति हुन सक्छ, आर्थिक व्यवहारमा विवाद हुन सक्छ। तर ती कुनै पनि कुराले मानवीय संवेदना र सहयोगको ढोका बन्द गर्नु हुँदैन। उनको सम्झनामा फूलमाला चढाउनुका साथै, यस्ता सङ्कटमा परेका अरू मानिसलाई समयमै साथ दिन सक्ने समाज निर्माण गरौँ। यही नै डा. विजय पौडेलप्रति साँचो श्रद्धाञ्जली हुनेछ।
प्रतिक्रिया