काठमाडौं - कहिल्यै नाम नसुनिएका एक जना कलिलो उमेरका बिचौलिया इनम सापकोटाको कनेक्सनको कारण मात्र राज्यको बेथितीको अवस्था होइन । यस्ता अनेक बिचौलियाहरु अहिले मात्र देखिएका होइनन् । इनम प्रकरणमा प्रधानन्यायधीशदेखि न्यायधीशसम्मका हाइप्रोफाइलहरु जोडिएका समाचारहरु आएका छन् । यसले राज्यको अस्तव्यस्त स्थितिको वोध गराएको छ ।
यस प्रकरणमा सत्तारुढ दल लगायत केहीले न्यायालयको ‘शुद्धीकरण’ को कुरा मात्र उठाएका छन् । केहीले यो व्यवस्थाको चरित्र नै यस्तै भएकोले व्यवस्थाकै विकल्प खोज्नुपर्ने मत पनि व्यक्त गरेका छन् । राज्यका सबै निकायमा विकृतिहरु छन् । यो त केवल सतहमा आएको कुरा मात्र हो । बेथिती र भ्रष्टाचारले गाँजेका सबै निकायमा निर्मम रुपमा अनुसन्धान र कारबाही अघि बढाउने हिम्मत सरकारले गर्नुपर्दछ । न्यायालयको सुधारले मात्र राज्य संयन्त्रमा सुधार आउन सक्तैन । त्यसको लागि सरकार नै जिम्मेवार र जवाफदेही बन्नुपर्दछ । सरकार निकटका व्यक्तिहरु भने उम्किने र सरकारलाई मन नपरेकाहरु कारबाहीमा पर्ने अवस्थाले राज्यलाई अराजकता र निरङकुशतातर्फ जैजान सक्तछ ।
तर सरकारको कार्यशैली, आफू मात्रै अन्तिम सत्य, आफू बाहेक सबै असत्य भन्ने जमातबाट जुन शासन अहिले चलिहरकोे छ, यसले मुलुकमा ढिलो चाँडो निम्त्याउने त नयाँ द्वन्द नै हो । द्वन्दवादका कैयौं सिद्धान्तहरु छन्, अहिलेको घण्टी नेतृत्वको सरकारले ति द्धन्दवादका सबै सिद्धान्तहरुका बर्खिलापमा काम गरिरहेको छ । सुकुम्बासीमाथि गरिएको मानवता विरोधी अपराध होस् वा राहतमा गरिएको राजनीति सबैतिर सरकार चुकेकै छ ।
एक वर्ष पहिले भएको त्यति ठूलो आन्दोलनको विरासतमा बनेको सरकार पनि विगतका सरकारहरुभन्दा चरित्रमा फरक हुन नसक्नु ज्यादै दुखद कुरा हो । राज्य संरक्षित दमन र गैर संवैधानिक हर्कत उूतै छ । हिजो केपी ओलीका पालामा पाथीभरा गोली काण्ड, तीनकुने रक्तपात काण्डहरु भए । आज बालेन्द्र शाहको पालामा सुकुम्बासी काण्ड, सप्तरी काण्डहरु भएकै छन् । घटनाका प्रकृत्तिहरु उस्तै छन, राज्य संरक्षित अपराध । केपी ओलीले सामाजिक सञ्जाल मात्रै बन्द गरेका थिए, अहिले रास्वपाका विरोध गर्दा सामाजिक सञ्जाल आफैले बन्द गरेर बस्नुपर्ने अवस्थाको हेय र घृणा फैलिएको छ । परिवर्तन यही देख्नका लागि थियो त ? विगतकै जस्तो भद्रगोल, योजनाविहीन अवस्थाका लागि जनताले बलिदान गरेका थिए र ? निर्दोष कलिला युवाहरुको बलिदानलाई सार्थक बनाउन नयाँ बहस जरुरी छ । आम बौद्धिक जगतले नयाँ विश्लेषण गर्न ढिलाई गर्नु हुँदैन ।
सरकार सञ्चालन गरेकाहरुलाई सधैं नयाँ भनेर पन्छिने छुट हुँदैन । नयाँ नै सबै कुरामा ठिक हुन्छन् भन्ने पनि ह्ुँदैन । मुख्य कुरा विचार र दृष्टिकोणको कुरा हो । राज्य सञ्चालन गर्नु सामान्य विषय होइन । फेसबुकमा कमेन्ट गरेर मात्र मुलुक चल्दैन । राज्य सञ्चालन एउटा कला पनि हो । अनुभव, विचार र कुशल नेतृत्व क्षमता अपरिहार्य सर्त हुन । भर्खरै ब्राजिलमा भएको राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्ने लुला कुनै नवयुवा होइनन् । उनी ८० वर्षीय पाका र अनुभवी नेता हुन । उनी पहिलो पटकका विजेता पनि होइनन् । उनको यो राष्ट्रपतिको चौथो कार्यकाल हो । प्रश्न यो पनि छ कि ब्राजीलका जनताले किन युवालाई नछानेर वृद्ध लुलाई चौथो पटकको लिागि निर्वाचित गरे ?
प्रतिक्रिया