सन्दर्भ : बडादशैं

दशैं : संस्कृति, रेमिट्यान्स, उपभोग र मितव्ययिताको प्रश्न

आइतबार, ०१ कार्तिक २०८३, २१ : ३७

दशैं नेपाली समाजको ठूलो पर्व मध्ये एक हो । परिवार भेटघाट, मान्यजनबाट टीका–जमरा र आशीर्वाद ग्रहण, गाउँ फर्किने परम्परा, नयाँ लुगा र मीठो–मसिनो खाने चलनसँग यसको गहिरो सामाजिक सम्बन्ध बनेको छ । तर दशैंलाई टीका, जमरा, मासु, नयाँ लुगा र रमाइलोमा सीमित गरेर बुझ्नु पर्याप्त हुँदैन । यससँग धर्म, संस्कृति, इतिहास, राज्यसत्ता, सामाजिक विभेद, विविधता र अर्थतन्त्रका अनेक पक्ष जोडिएका छन् ।

सबैभन्दा पहिले एउटा प्रश्न गर्न आवश्यक छ,दशैं कसको चाड हो?धार्मिक होकी सास्कृतिक हो?

यसको सरल उत्तर एउटै छैन । इतिहासकार महेशराज पन्तका अनुसार प्राचीन ग्रन्थहरूमा आजको जस्तो सर्वव्यापी दशैंको उल्लेख भेटिँदैन । उनका अनुसार नेपालमा दशैंको ऐतिहासिक प्रमाण करिब १४औँ शताब्दीतिरबाट मात्र स्पष्ट देखिन थाल्छ र मल्लकालीन दरबारमा यसको अलिअलि महत्त्व थियो । पृथ्वीनारायण शाहको राज्य विस्तारपछि फूलपाती, सैनिक तथा राज्यसँग जोडिएका केही परम्पराले अझ बढी महत्त्व पाएको उनको अध्ययनले देखाउँछ ।

लेखक तथा समाजशास्त्री आहुतिका अनुसार फुलपाती वाला बडा दशै चाहिँ ठ्याक्कै पृथ्वीनारायण शाहाको गोरखा राज्य बिस्तार संगै आयो ।

डा. केशबमान शाक्यको आफ्नै दृष्टिकोण छ । उहाँका अनुसार दशैंको जरा महिषपाल वंशसँग जोडिएको छ । प्रारम्भमा सेतो टीका प्रयोग हुन्थ्यो र पर्वलाई शाह,राणा शासकहरूले हिन्दुकरण गरेर अहिलेको स्वरूप दिएका हुन । टीका र जमरा उति बेलै शुरु भएको हो ।

त्यसैले आजको दशैंलाई एउटै जाति, धर्म वा समुदायको मात्र चाड भनेर परिभाषित गर्नु पनि इतिहासको सम्पूर्ण तस्वीर होइन । त्यस्तै, नेपालका सबै जाति, धर्म र समुदायको मौलिक चाड यही हो भन्नु पनि सही हुँदैन ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक,बहुसांस्कृतिक र बहुपर्यबरण विविधताले भरिपूर्ण सुन्दर देश हो । कतिपय समुदायले दशैंलाई धार्मिक पर्वका रूपमा मनाउँछन्, कतिपयले सांस्कृतिक वा पारिवारिक उत्सवका रूपमा ग्रहण गरेका छन् भने कतिपयले मनाउँदैनन् । अध्ययनहरूले विभिन्न समुदायमा दशैं मनाउने तरिका, टीकाको रङ र धार्मिक तथा सास्कृतिक अर्थसमेत फरक रहेको देखाएका छन् ।

राणा र शाहकालमा धार्मिक दमन नभएको होइन । गैरहिन्दूहरूले दशैं नमनाएको आरोपमा फाँसी दिइएका घटना र हरेक घरको मूल ढोकामा पशुबलिको निशान हुनैपर्ने जस्ता निकृष्ट उर्दीसमेत जारी गरिएका थिए । अहिले पनि धनकुटाका आठपहरिया राई समुदायका मानिसहरूले दशैंमा कालो टीका लगाउने परम्परा कायम राखेका छन् ।

नेपाल अहिले लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष राज्य हो । त्यसैले दशैं मनाउनेलाई सम्मान र नमनाउनेलाई पनि सम्मान गर्नु बहुलवादी समाजको सुन्दर विशेषता हो । अब कुरा गरौँ, दशैंमा नेपालको अर्थतन्त्र कति चलायमान हुन्छ?

दशैंको रेमिट्यान्स, आयातको बाटो हुँदै विदेश

अध्ययनहरूले देखाएका छन् कि वर्षभरिको कमाइको एकतिहाइसम्म रकम दशैंमा खर्च हुने गर्छ । अर्थतन्त्रमा ठुलो चलाईमान हुन्छ । कुनै समय दशैंको खर्चको मुख्य स्रोत कृषि थियो भने आज त्यो अवस्था बदलिएको छ । अहिले दशैं खर्चको मुख्य स्रोत रेमिट्यान्स बनेको छ । अघिपछिको तुलनामा दशैंका बेला रेमिट्यान्स बढी भित्रिए पनि भित्रिएको रकम भन्दा कैयौँ गुणा बढी रकम विभिन्न वस्तु तथा सेवाको आयात मार्फत पुनः विदेशिने गर्छ ।

यसका प्रमुख कारणहरू हुन्
१. मसला तथा खाद्य सामग्रीः नेपालमा उत्पादन नहुने वा पर्याप्त उत्पादन नहुने विभिन्न मसला तथा सामग्री अर्बौँ रुपैयाँको आयात हुन्छ ।
२. खाद्यान्न आयातः चामल, तेल, दाल, चिनी, काजु, बदामलगायतका खाद्यवस्तु ठूलो परिमाणमा विदेशबाट आयात गरिन्छ, जसमा खर्बौँ रुपैयाँ बाहिरिन्छ ।
३. मासु तथा पशुजन्य वस्तुः दशैंमा बलिका लागि बोका, च्याङ्ग्रा, राँगा तथा मासुका लागि खसी, भैंसी, बङ्गुर, कुखुरा लगायतको माग बढ्छ । स्वदेशी उत्पादनले नपुग्दा भारत तथा तिब्बतबाट समेत आयात गर्नुपर्छ ।
४. लत्ताकपडाः दशैंमा नयाँ कपडा लगाउने चलन भएकाले ठूलो कारोबार हुन्छ । तर धेरैजसो कपडा स्वदेशमा उत्पादन नभई विदेशबाटै आयात गरिन्छ ।
५. फलफूलः नेपालमा स्याउ, सुन्तला, केरा लगायतका फलफूल उत्पादन भए पनि माग धान्न पर्याप्त नहुँदा भारत र चीनबाट ठूलो परिमाणमा आयात गर्नुपर्छ ।
६. पूजा सामग्रीः दशैं धार्मिक तथा सांस्कृतिक पर्व भएकाले पूजा सामग्रीको ठूलो खपत हुन्छ । यस्ता सामग्रीको ठूलो हिस्सा चीन तथा भारतबाट आयात गरिन्छ ।
७.विद्युतीय सामग्रीः दशैंमा ठूलो मात्रामा विद्युतीय सामग्री नेपाल भित्रिन्छन ्। झिलिमिली बत्ती, पूजाका लागि प्रयोग हुने बत्ती, बालबालिकाका खेलौना देखि घरायसी विद्युतीय उपकरण सम्म आयात गरिन्छ । यस्ता सामग्री नेपालमै उत्पादन नहुने वा पर्याप्त उत्पादन नहुने भएकाले तिनको आयातमा खर्बौँ रुपैयाँ विदेशिने गरेको छ ।
८. सवारीसाधनः दशैंलाई लक्षित गरेर विभिन्न ‘अफर’ सञ्चालन हुन्छन् । मोटरसाइकल देखि साना तथा ठूला चारपाङ्ग्रे सवारी साधन सम्म विदेशबाट आयात हुने भएकाले यसबाट पनि ठूलो रकम बाहिरिन्छ ।

यसरी दशैंमा भित्रिने रेमिट्यान्सको ठूलो हिस्सा खाद्यान्न, लत्ताकपडा, पशुजन्य वस्तु, पूजा सामग्री, फलफूल र सवारीसाधनलगायतका वस्तुको आयातमार्फत पुनः विदेश पुग्ने गर्छ । दशै सके लगत्तै पुन नेपाली भान्सा रितो हुन्छ,हरेक घर ऋणमा डुब्छ । यो नियति कृषि युग देखि आजको रेमिट्यान्स युग सम्म निरन्तर चलिरहेकै छ ।

चाडपर्ब संस्कृतिको होकी, प्रदर्शनको ?

समय सँगै दशैँको स्वरूप पनि फेरिएको छ । पहिले दशैँमा एक जोर नयाँ लुगा सिलाउन सुचिकार मेसिन बोकेर घर घरमै आउथे । बेसीमा फलेको मार्सि धानको चामल, घरमै पालेको खसीबोका, केही मसला र टीकाटालोका लागि दक्षिणाको जोहो गर्नु नै ठूलो कुरा हुन्थ्यो । अहिले दशैँ बजारको ठूलो उपभोग पर्व बनेको छ । नयाँ मोबाइल, टेलिभिजन, मोटरसाइकल, महँगा कपडा, जुत्ता, फर्निचर देखि घुमघामसम्म दशैँको खर्चको आकार फैलिएको छ ।

दशैँले अर्थतन्त्रलाई चलायमान बनाउँछ,हलचल ल्याउछ भन्ने कुरा सत्य हो । चाडपर्वका बेला बजार, यातायात, कृषि उत्पादन, पर्यटन, होटल, कपडा तथा खुद्रा व्यापारमा गतिविधि बढ्छ । तर बजार चलायमान हुनु र अनावश्यक उपभोग बढ्नु एउटै कुरा होइन ।

आफ्नो आम्दानी भन्दा बढी ऋण लिएर चाड मनाउनु, अरूको देखासिकीमा महँगा सामान किन्नु, सामाजिक प्रतिष्ठाका लागि खर्च बढाउनु वा एक दिनको खुसीका लागि वर्षभरि आर्थिक बोझ बोक्नु संस्कृतिको संरक्षण होइन । दशैँले परिवार जोडोस्, ऋण होइन । दशैँले आत्मीयता बढाओस्, प्रतिस्पर्धा होइन । दशैँले खुसी ल्याओस्, आर्थिक तनाव होइन ।

देशमा अनेकौँ राजनीतिक तथा सामाजिक व्यवस्था फेरिए । नेपाल धर्मनिरपेक्ष राष्ट्र बन्यो, समाजमा चेतना र जीवनशैली फेरियो । तर दशैँ–तिहार मनाउने तौरतरिका र खर्चिलो प्रवृत्तिमा अपेक्षित रूपान्तरण आउन सकेको छैन ।

चाडपर्वको मौलिकता जोगाउनु आवश्यक छ, तर समय अनुसार विकृति र अनावश्यक प्रदर्शन हटाउनु पनि उत्तिकै जरुरी छ । धार्मिक तथा संस्कृतिको नाममा आर्थिक बोझ थप्ने होइन, संस्कृतिलाई सरल, आत्मीय र जीवनोपयोगी बनाउने दिशामा सोच्नु पर्छ कि ।

चाडको खुसी खर्चको प्रतिस्पर्धामा होइन, आपसी सद्भाव, आत्मीयता र सांस्कृतिक चेतनामा खोजौँ।

दशैंको लामो बिदा: संस्कृति कि आर्थिक भार ?

दशैंसँग जोडिएको अर्को महत्त्वपूर्ण विषय लामो सार्वजनिक बिदा हो । २०८३ सालमा सरकारले घटस्थापनामा छुट्टै सार्वजनिक बिदा दिएको छ । मुख्य दशैं बिदा कात्तिक २ देखि ६ गतेसम्म पाँच दिन तोकिएको भए पनि अधिकांश सरकारी विद्यालयमा छठसम्म करिब ३८ दिन बिदा हुने गरेको छ ।

लामो बिदाका सकारात्मक पक्ष छन् ।  टाढा रहेका परिवारका सदस्य घर फर्किन पाउँछन् । वैदेशिक रोजगारीमा वा सहरमा रहेका मानिसले परिवारसँग समय बिताउन सक्छन् । गाउँघरमा चहलपहल बढ्छ । यातायात, होटल, पर्यटन र स्थानीय बजारले आम्दानी गर्ने अवसर राम्रो पाउँछन। तर बिदाको अर्को पाटो पनि छ । सरकारी कार्यालय, विद्यालय, बैंक तथा अन्य संस्थाहरू लामो समय बन्द हुँदा सेवा प्रवाह प्रभावित हुन्छ । विद्यार्थीको पढाइमा अवरोध आउँछन् । उत्पादन, निर्माण र प्रशासनिक काम प्रभावित हुँदा अर्थतन्त्रले प्रत्यक्ष तथा अप्रत्यक्ष लागत बेहोर्नुपर्छ  ।केही व्यवसायले चाडपर्वमा राम्रो आम्दानी गरे पनि सबै क्षेत्रले समान लाभ लिन सक्दैनन् ।

त्यसैले प्रश्न दशैंमा बिदा दिने कि नदिने भन्ने होइन, बिदा कति आवश्यक छ र त्यसको सदुपयोग कसरी गर्ने भन्ने हो ।

चाडपर्व संस्कृति र पारिवारिक सम्बन्धसँग जोडिएका विषय हुन् । मानिसलाई कामबाट विश्राम चाहिन्छ, परिवारसँग भेटघाट गर्ने समय चाहिन्छ र आफ्नो संस्कृतिलाई निरन्तरता दिने अवसर पनि चाहिन्छ । तर सार्वजनिक बिदा बढाउँदैमा सांस्कृतिक सम्बन्ध बलियो हुन्छ वा आर्थिक समृद्धि बढ्छ भन्ने हुँदैन ।

लामो बिदा दिने हो भने त्यसको औचित्य, शैक्षिक क्यालेन्डर, सार्वजनिक सेवा र उत्पादनमा पर्ने प्रभावबारे पनि बृहत् बहस हुनुपर्छ । आवश्यक सेवाहरू निरन्तर सञ्चालन गर्ने, शैक्षिक बिदालाई व्यवस्थित गर्ने र उपलब्ध समयलाई परिवार, समाज, पर्यटन तथा सिर्जनात्मक काममा उपयोग गर्ने नीति आवश्यक छ  ।

चाडपर्व मनाउनु संस्कृति हो, तर बिदाको सदुपयोग गर्नु जिम्मेवारी पनि हो । संस्कृतिको सम्मान र अर्थतन्त्रको कार्यक्षमता एकअर्काका विरोधी होइनन् । आवश्यकता परम्परा जोगाउँदै समय, श्रम र उत्पादनको उचित सन्तुलन कायम गर्नु हो ।

दशैं : गाउँ फर्किने मात्र होइन, गाउँको अर्थतन्त्र उकास्ने पर्व पनि बनाऔँ

दशैंको एउटा सुन्दर पक्ष गाउँसँगको सम्बन्ध हो । घटस्थापनाको अघिल्लो दिनदेखि नै काठमाडौं उपत्यकाबाट मात्रै २०ओैं लाखौँ मानिस गाउँ फर्किने गर्छन् । सहरमा व्यस्त जीवन बिताइरहेका मानिस गाउँ फर्किँदा परिवारसँगको सम्बन्ध मात्र जोडिँदैन,पहेलपुर धानखेतमा एक दिन भए पनि,टिकटक वा रिल्स बनाउनै भए पनि पाईला टेकिन्छ । केटाकेटीले चामल बोरामा होईन,खेतमा उत्पादन हुनेरहेछ भन्ने पनि देखिन्छ । गाउँको अर्थतन्त्रमा पनि चहलपहल बढ्छ ।

घरमा पालेको खसी,कुखुरा,रागा,बदेल बिक्री हुन्छ । किसानका अन्न, तरकारी, फलफूल तथा अन्य कृषि उत्पादनले बजार पाउँछन् ।  स्थानीय पसल, यातायात, होटल र साना व्यवसायले आम्दानी गर्छन् । गाउँ फर्किने मानिसको खर्चले स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउँछ । तर एउटा प्रश्न छ,दशैंमा गाउँ फर्किने हाम्रो खर्चको कति हिस्सा गाउँमै रहन्छ र कति हिस्सा 

आयातित वस्तु किन्न फेरि विदेश पुग्छ ?

दशैंमा विदेशबाट आएको रेमिट्यान्स र सहरमा कमाएको आम्दानीको ठूलो हिस्सा आयातित वस्तुमा खर्च हुन्छ । हामी चाडपर्व मनाउन गाउँ त फर्किन्छौँ, तर उपभोग गर्ने वस्तु बाहिरबाट ल्याउँछौँ । यसले गाउँमा चहलपहल बढाए पनि स्थानीय उत्पादन र रोजगारीमा पुग्ने लाभ सीमित हुन सक्छ ।

यसलाई बदल्न सकिन्छ । गाउँको खसी, स्थानीय अन्न, तरकारी, फलफूल, हस्तकला, कपडा तथा स्थानीय सेवाको प्रयोग बढाउन सकिन्छ ।  स्थानीय उत्पादनलाई प्राथमिकता दिने संस्कार विकास गर्न सके दशैंमा हुने खर्च गाउँमै बढी रहनेछ । त्यसले किसानको आम्दानी बढाउने, स्थानीय रोजगारी सिर्जना गर्ने र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउनेछ ।

दशैंमा गाउँ फर्किनु सम्बन्ध जोड्नु हो भने स्थानीय उत्पादन किन्नु गाउँको अर्थतन्त्र सँग सम्बन्ध जोड्नु हो ।

त्यसैले दशैं उपभोग र खर्चको पर्व मात्र होइन, स्थानीय उत्पादन, रोजगारी र आत्मनिर्भरताको अभियान पनि बन्नुपर्छ । गाउँको पैसा गाउँमै बढी घुम्ने वातावरण बनाउन सके दशैंको खुसी परिवारमा मात्र सीमित रहनेछैन, गाउँको समृद्धिसँग पनि जोडिनेछ ।

अन्त्यमा

दशैँलाई कसैले धर्मका रूपमा, कसैले संस्कृति र पारिवारिक भेटघाटका रूपमा, कसैले परम्पराका रूपमा मनाउन सक्छन् भने कसैले नमनाउन पनि सक्छन् । लोकतान्त्रिक समाजमा सबैको आस्था, विश्वास र छनोटको सम्मान हुनुपर्छ । चाडपर्वको सुन्दरता अरूलाई आफ्नो संस्कारमा हिँडाउनुमा होइन, आफ्नै संस्कार मनाउने स्वतन्त्रता र अरूको संस्कारको सम्मान गर्न सक्नुमा हुन्छ ।

दशैँ धार्मिक तथा सांस्कृतिक पर्व मात्र होइन, सामाजिक सम्बन्ध र अर्थतन्त्रसँग पनि जोडिएको छ । त्यसैले यसको मौलिकता जोगाउँदै समय अनुकूल रूपान्तरण गर्न आवश्यक छ । दशैँलाई भड्किलो होइन, आत्मीय बनाऔँ । ऋण गरेर होइन, आम्दानी अनुसार खर्च गरौँ । देखासिकी होइन, मितव्ययिता अपनाऔँ । अनावश्यक उपभोग होइन, स्थानीय उत्पादन रोजौँ । लामो बिदालाई आराममा मात्र सीमित नराखी परिवार, समाज र सिर्जनशील काममा उपयोग गरौँ ।

दशैँमा भित्रिने रेमिट्यान्सको ठूलो हिस्सा आयातित वस्तुमा खर्चिनुको सट्टा स्वदेशी उत्पादन, कृषि, हस्तकला र स्थानीय सेवामा लगाउन सके गाउँको अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ । चाडपर्वको सम्मान गर्नु र आर्थिक अनुशासन कायम राख्नु परस्पर विरोधी कुरा होइनन् ।

अन्ततः दशैँको खुसी नयाँ मोबाइल, महँगा कपडा वा ठूलो भोजमा होइन, परिवारसँगको आत्मीयता, मानवीय सम्बन्ध, आपसी सद्भाव र मनको सन्तोषमा खोजौँ । दशैँ सबैको आस्थाको सम्मान गर्ने, कसैलाई बाध्य नपार्ने, संस्कृतिको संरक्षण गर्ने र समाजलाई अझ जोड्ने पर्व बनोस् । सबैलाई दशैको शुभकामना !!!


 

आइतबार, ०१ कार्तिक २०८३, २१ : ३७

प्रतिक्रिया