टिप्पणी

कांग्रेस महाधिवेशनमा प्रचण्ड : अरुलाई क्रमभंग गर भन्ने आफू भने बाँचुञ्जेल नेतृत्वमा

सोमबार, १९ असोज २०८३, १४ : ४१

काठमाडौं - नेपाली राजनीतिमा प्रचण्डको भूमिका र योगदानको बारेमा धेरै लामो व्याख्या आवश्यक छैन । राजनीतिमा आत्मेकिन्द्रत र स्वेच्छाचारी प्रवृत्ति उनको पुरानै समस्या हो । प्रचण्ड जस्तो दुई जीब्रे कुरा नगर्नु भनेर सामाजिक सञ्जालमा समेत ट्रोल बनाइएको छ । आफ्नो स्वार्थको लागि आवश्यकताभन्दा बढी झुक्ने नेताको रुपमा पनि उनलाई चिन्ने गरिन्छ । पार्टीभित्र भने उनले एकछत्र राज गर्दै आएका छन् । ३६ वर्षदेखि उनी पार्टीको नेतृत्वमा रहेका छन् । उनका विरुद्ध ‘क्रमभङ्ग’ गर्न खोज्नेहरुलाई भने उनले सबैलाई डाँडा कटाइदिएका छन् । 

नेपाली कांग्रेसको महाधिवेशनमा अतिथिको रुपमा उनलाई बोलाइएको थियो । उनीसँगै रास्वपाका सभापति रवि लामिछाने, एमालेका महासचिज शंकर पोख्रेल, राजेन्द्र लिङदेन र बाबुराम भट्टराई पनि उक्त समारोहमा सहभागी थिए । तर चर्चा प्रचण्डको अलि बढी भएको छ । किनकी उनी ती सबैभन्दा पाका र पूर्व प्रधानमन्त्री पनि हुन । उनी दश वर्षे विद्रोहका प्रमुख नेता पनि हुन । जसको कारण तत्कालीन अवस्थामा सात दल र माओवादीबीच शान्ति संझौता भएको थियो । शान्ति संझौतामा विद्रोही पक्षबाट प्रचण्ड र सात दलको तर्फबाट गिरिजा प्रसाद कोइरालाले हस्ताक्षर गरेका थिए । त्यही हस्ताक्षर प्रचण्डले आजसम्म पनि भजाइरहेका छन् । उद्घाटन समारोहमा सम्बोधन गर्ने क्रममा प्रचण्डले बोलेका केही कुराहरुले उनको द्वेध चरित्र र अवसरवादी राजनीतिलाई उजागर गरिदिएको छ ।

उनी आफू निरन्तर ३६ वर्षसम्म पार्टीको प्रमुख पदमा बसेर अरुलाई क्रमभंग गर्न उक्साइरहेका छन् । उनी भन्छन्, ‘उतिबेला क्रमभंग मैले गर्थे । अब त म क्रमभंग गर्ने अवस्थामा छैन । जेनजि आन्दोलनपछि पार्टी पनि सानो भएको छ । ठूला कुरा गर्यो भन्लान् । अब क्रमभंग गर्ने पालो गगनजीहरुको हो । ’ उनी यतिमा मात्र रोकिंदैनन् । रवि लामिछानेलाई पनि क्रमभंग गर्न हौस्याउँछन् । उनी आफैले स्विकारेका छन् पार्टीको आकार यति सानो भैसकेको छ कि ठूला कुरा गर्न पनि लाज लाग्ने भएको छ । तर पनि उनमा रहेको अहंकारी र सवैसर्वा प्रवृत्तिको अन्त्य भएको छैन । उनी एक्लै आजको अवस्थामा आएका होइनन् । माओवादी विद्रोहमा पनि उनी एक्लै लडेका होइनन् । हजारौंको बलिदान, सहादत र योगदानको कारण प्रचण्डको पार्टीले राष्ट्रिय राजनीतिमा प्रभावकारी र निर्णायक हैसियत बनाएको हो । त्यसैले प्रचण्डले आर्जन गरेको शक्तिका पछाडि युद्धमा लडेका सबै योद्धाहरुको मेहनत र पसिना लुकेको छ । उनीहरुको त्याग र योगदानको गाथा छ । शहीदहरुको रगतले सिर्जना गरेको रक्तरञ्जित इतिहास छ । तर प्रचण्डले ती सबलाई पाखा लगाएर आफूलाई मात्र केन्द्रमा राखेको देखिन्छ । उनका अभिव्यक्तिहरुमा त्यस्तै भाव भेटिन्छ । 

उनले महाधिवेशनमा बसेका कांग्रेसका नेताहरु विश्वप्रकाश, प्रदीप पौडेल र संभवतः राजेन्द्र लिङ्देन र बाबुरामा भट्टराईलाई समेत सम्बोधन गर्दै ‘मेरो क्याविनेटका मन्त्रीहरु” भनेका छन् । उनी तीनपटक प्रधानमन्त्री हँुदा धेरै नेताहरु मन्त्री बनेका थिए नै । तर उनले हाम्रो क्याविनेट भनेको भए राम्रो र स्वभाविक सुनिन्थ्यो होला । तर उनले यसो गरेनन् । उनको स्वभाव नै व्यक्तिवादी छ । ‘म नै राज्य हुँ ’ भन्ने हैकमवादी प्रवृत्तिबाट प्रचण्ड मुक्त हुन नसकेको यसैबाट प्रष्ट हुन्छ । यदि उनी सामुहिक नेतृत्वमा विश्वास गर्थे भने तत्कालीन माओवादी पार्टी विभाजनको शिकार हुने नै थिएन । उनले पार्टीमा आलोचनात्मक चेत राख्ने नेताहरलाई एक एक गर्दै बाहिरिन बाध्य पारे । जसको परिणामस्वरुप नै भन्नु पर्दछ, हरेक निर्वाचनमा सुरक्षित क्षेत्र खोज्दै भाग्नुपर्ने अवस्था सिर्जना भयो । जबसम्म प्रचण्डले यो यथार्थलाई स्विकार्न सक्तैनन् उनको पार्टीको आकार अब आउने हरेक निर्वाचनमा खुम्चिदै जानेछ । 

अरु राजनीतिक दलका नेता/कार्यकर्तालाई क्रमभंग गर्न जोडबल गर्ने तर आफ्नो पार्टीमा फरक मत राख्नेप्रति कठोर बन्ने प्रचण्डको प्रवृत्तिलाई सबैले जानेबुझेकै कुरा हो । तर पनि उनले यसो भन्दै आएका छन् । रवि लामिछानेहरु कतै आफ्नै सहयोग माग्न आउँछन् कि भन्ने झिनो आशा पनि प्रचण्डमा देखिन्छ । त्यसैले रविलाई पनि उनले गगनले जस्तै क्रमभंग गर्न सल्लाह दिएका छन् ।  महाभारतमा शकुनीको सहयोगमा युधिष्ठिरलाई पासको खेलमा पराजित गराउने घटनामा दुर्योधन प्रमुख थिए । यही घटनाले पाण्डवहरुको वनवास र अज्ञातवासको परिस्थिति बनेको थियो । युद्ध रोक्न कुष्णले शान्तिको प्रस्ताव राख्दा दुर्योधनले पाण्डवहरुलाई उनीहरुको अधिकार दिन अस्विकार गरेको प्रसंग पनि महहाभारतमा पाइन्छ । त्यसैले महाभारतमा दुर्योधनलाई खलनायक र महत्वाकांक्षी पात्रको रुपमा चिनिन्छ । प्रचण्ड कतै नेपाली राजनीतिको महाभारतमा दुर्योधनकै भूमिकामा त छैनन् ? किनकी उनी बाहिर एकता, रुपान्तरण, क्रमभंग र समृद्धीको कुरा गर्छन् तर भित्र भने बाँचुञ्जेल आफै नेतृत्व हत्याइरहने खेलमा लागेका छन् ।   
   
 

सोमबार, १९ असोज २०८३, १४ : ४१

प्रतिक्रिया