महिला तथा बालिकामाथि हुने हिंसाविरुद्ध अहिले देशभर १६ दिने अभियान सञ्चालन भइरहेको छ। सरकार, सरकारी तथा गैरसरकारी संघसंस्था, राजनीतिक दल, नागरिक समाज र विभिन्न सामाजिक अभियन्ता अभियानमा सहभागी छन्। सभा, समारोह, र्याली, अन्तरक्रिया, गोष्ठी तथा सचेतनामूलक कार्यक्रम भइरहेका छन्। महिला अधिकार, लैङ्गिक समानता, न्याय र सुरक्षाका विषयमा प्रतिबद्धता व्यक्त भइरहेका छन्। तर प्रश्न उठ्छ– वर्षैपिच्छे यति धेरै कार्यक्रम र अभियान सञ्चालन हुँदा पनि महिला तथा बालिकामाथि हुने हिंसा किन रोकिएको छैन ?
बलात्कार, घरेलु हिंसा, यौन दुर्व्यवहार, हत्या र अन्य जघन्य अपराधका घटना निरन्तर सार्वजनिक भइरहेका छन्। महिलाले आफ्नै घर, परिवार, विद्यालय, कार्यस्थल र सार्वजनिक स्थानमा समेत सुरक्षित महसुस गर्न नसक्नु गम्भीर चिन्ताको विषय हो। आखिर हाम्रा अभियान कहाँ चुकिरहेका छन् ? राज्यका सुरक्षा तथा न्यायिक संयन्त्र किन अपेक्षाअनुसार प्रभावकारी बन्न सकेका छैनन् रु यी प्रश्नको जवाफ खोज्नु अहिलेको प्रमुख आवश्यकता हो।
नेपालमा महिला तथा बालिकामाथि भएका जघन्य अपराधका घटनामध्ये कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अझै पनि न्याय प्रणालीमाथि प्रश्न उठाउने प्रमुख उदाहरणका रूपमा रहेको छ। २०७५ साउन १० गते घरबाट साथीको घरमा पढ्न गएकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो। घटनाको अनुसन्धानमा भएको भनिएको लापरबाही, प्रमाण नष्ट गरिएको आरोप, प्रहरीको विवादास्पद भूमिका तथा राजनीतिक हस्तक्षेपका विषयले घटनालाई राष्ट्रिय बहसको विषय बनायो। यति लामो समय बितिसक्दा पनि घटनाको न्यायिक निरूपण हुन नसक्नु पीडित परिवारका लागि मात्र नभई समग्र न्याय प्रणालीका लागि गम्भीर प्रश्न हो।
निर्मला प्रकरणपछि पनि देशका विभिन्न स्थानमा महिला तथा बालिकामाथि बलात्कार, सामूहिक बलात्कार, घरेलु हिंसा र हत्याका घटना सार्वजनिक भइरहेका छन्। मोरङको लेटाङमा १३ वर्षीया बालिकाको हत्या, सुर्खेतमा १६ वर्षीया किशोरीको सामूहिक बलात्कारपछि हत्या तथा २०८३ सालमा बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाले बालिकाको सुरक्षामाथि थप चिन्ता पैदा गरेका छन्। यस्ता घटना कुनै एउटा परिवारको निजी पीडा मात्र होइनन्, समाजको सुरक्षा अवस्था, सामाजिक चेतना, प्रहरी अनुसन्धान र न्याय सम्पादनसँग जोडिएका गम्भीर सवाल हुन्।
तथ्यांकले देखाएको हिंसाको अवस्था
महिला तथा बालिकामाथि हुने हिंसाको अवस्था बुझ्न प्रहरीमा दर्ता भएका घटनाको तथ्यांकलाई पनि गम्भीरतापूर्वक विश्लेषण गर्न आवश्यक छ। नेपाल प्रहरीका प्रकाशित विवरणअनुसार आर्थिक वर्ष २०८१र८२ मा जबरजस्ती करणीका २ हजार २५३ मुद्दा दर्ता भएका थिए। जबरजस्ती करणी उद्योगका ४५९ र बाल यौन दुरुपयोगका ३५५ घटना अभिलेख भएका थिए। त्यस्तै, घरेलु हिंसाका १७ हजार ४९६ घटना अभिलेख गरिएको थियो।
सोही अवधिमा बलात्कारपछि हत्या भएका चार, दाइजोका कारण हत्या भएका दुई तथा घरेलु हिंसासँग सम्बन्धित ३८ वटा हत्याका घटना अभिलेख भएको विवरण उल्लेख गरिएको छ। यी घटनालाई छुट्टाछुट्टै वर्गीकरण गरेर विश्लेषण गर्नु आवश्यक छ। किनकि सबै महिला हत्याका घटनालाई एउटै प्रकृतिको अपराधका रूपमा बुझ्न मिल्दैन।
आर्थिक वर्ष २०८२र८३ को प्रहरी विवरणमा आधारित अनुसन्धानात्मक समाचारअनुसार उक्त अवधिमा बलात्कारपछि हत्या भएका पाँच घटना अभिलेख भएका छन्। यसअघि प्रकाशित आठ आर्थिक वर्षको विवरणमा ४५ जना बालिका बलात्कारपछि मारिएको उल्लेख छ। त्यस्तै, पाँच वर्षको प्रहरी तथ्यांक विश्लेषण गर्दा बलात्कारका पीडितमध्ये ६३ प्रतिशतभन्दा बढी १८ वर्षमुनिका बालिका रहेको देखिन्छ।
यी तथ्यांकले हाम्रो समाजसामु गम्भीर प्रश्न खडा गरेका छन्। बालिका जन्मिनु, हुर्किनु, विद्यालय जानु र आफ्नो भविष्य निर्माण गर्नु किन असुरक्षाको जोखिमसँग जोडिनुपरेको छ रु बालबालिकाको संरक्षण र सुरक्षाको जिम्मेवारी लिएका राज्यका निकायले यस अवस्थालाई कसरी सम्बोधन गरिरहेका छन् रु
यहाँ अर्को महत्वपूर्ण पक्ष पनि छ। बलात्कारपछि हत्या, घरेलु हिंसाका कारण हत्या र अन्य कारणले भएका महिला हत्यालाई एउटै तथ्यांकमा मिसाएर प्रस्तुत गर्नु हुँदैन। अपराधको प्रकृति, पीडितको उमेर, घटनास्थल, अपराधीसँगको सम्बन्ध, अनुसन्धानको अवस्था र न्यायिक प्रक्रियासहितको स्पष्ट विवरण आवश्यक हुन्छ। सरकारले महिला तथा बालिकामाथि हुने हिंसा र हत्यासम्बन्धी एकीकृत तथा नियमित तथ्यांक सार्वजनिक गर्नुपर्छ। तथ्यांकको सही विश्लेषणबाट मात्र समस्या पहिचान र प्रभावकारी नीति निर्माण गर्न सकिन्छ।
१६ दिने अभियानपछि पनि हिंसा किन रोकिँदैन ?
महिला हिंसाको समस्या कानुनको अभावसँग मात्र सम्बन्धित छैन। समाजमा जरा गाडेर बसेको पितृसत्तात्मक सोच, सामाजिक व्यवहार, कमजोर कार्यान्वयन र न्याय प्रणालीका चुनौती पनि यसका प्रमुख कारण हुन्।
पहिलो, हाम्रो समाजमा अझै पनि पितृसत्तात्मक सोचको प्रभाव कायम छ। महिलालाई पुरुषसरह स्वतन्त्र र समान अधिकार भएको नागरिकका रूपमा स्वीकार गर्ने मानसिकता सबै तहमा स्थापित हुन सकेको छैन। महिलाको पहिरन, हिँडडुल, सम्बन्ध, स्वतन्त्रता र व्यक्तिगत निर्णयमाथि नियन्त्रण गर्न खोज्ने प्रवृत्ति अझै देखिन्छ। यस्तो सोचले महिला हिंसालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मलजल गरिरहेको छ।
दोस्रो, अपराध गरेपछि सजाय भोग्नुपर्छ भन्ने कानुनी डर पर्याप्त रूपमा स्थापित हुन सकेको छैन। राजनीतिक पहुँच, आर्थिक प्रभाव, पारिवारिक दबाब र सामाजिक प्रतिष्ठाका नाममा कतिपय घटनालाई ढाकछोप गर्ने प्रयास हुन्छ। कतिपय अवस्थामा पीडितलाई नै दोषी देखाउने र अपराधीलाई संरक्षण गर्ने प्रवृत्तिले न्यायको बाटो कठिन बनाउँछ।
तेस्रो, प्रहरी अनुसन्धान र न्याय सम्पादन प्रक्रियामा देखिने कमजोरीले पीडितलाई थप पीडा दिने गरेको छ। प्रमाण संकलनमा लापरबाही, अनुसन्धानमा ढिलाइ, पीडितमैत्री व्यवहारको अभाव र लामो न्यायिक प्रक्रियाले पीडित परिवारलाई न्याय प्राप्त गर्न कठिन बनाउँछ। निर्मला पन्त प्रकरणले पनि अनुसन्धानको विश्वसनीयता र जवाफदेहिताको महत्वलाई उजागर गरेको छ।
चौथो, महिला हिंसाविरुद्ध सञ्चालन हुने कतिपय कार्यक्रम औपचारिकता र परियोजनामुखी गतिविधिमा सीमित हुने गरेका छन्। निश्चित दिन कार्यक्रम गर्ने, बजेट खर्च गर्ने, प्रतिवेदन तयार पार्ने र उपलब्धि सार्वजनिक गर्ने अभ्यासले मात्र समाजको सोच र व्यवहार परिवर्तन हुन सक्दैन। अभियानको प्रभाव समुदायको दैनिक जीवनमा देखिनुपर्छ।
पाँचौँ, प्रविधिको विकाससँगै हिंसाका नयाँ स्वरूप पनि देखिन थालेका छन्। सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन दुर्व्यवहार, निजी तस्बिर तथा सामग्रीको दुरुपयोग र बालबालिकाको असुरक्षित डिजिटल पहुँचले महिला तथा बालिकाको सुरक्षामा थप चुनौती सिर्जना गरेका छन्। यसतर्फ पनि राज्य, अभिभावक, विद्यालय र समाजले समान रूपमा ध्यान दिन आवश्यक छ।
महिला सुरक्षाको जिम्मेवारी राज्यले पूरा गर्नुपर्छ
महिला तथा बालिकाको सुरक्षा सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो। संविधानले समानताको हक, सम्मानपूर्वक बाँच्न पाउने अधिकार, महिलाको हक र शोषणविरुद्धको हक सुनिश्चित गरेको छ। महिला हिंसा नियन्त्रण र पीडितलाई न्याय दिलाउन विभिन्न कानुनी व्यवस्था पनि छन्। तर कानुन निर्माण हुनु र त्यसको प्रभावकारी कार्यान्वयन हुनु फरक विषय हुन्।
निर्मला पन्त प्रकरणमा अनुसन्धानको अवस्थाबारे उठेका प्रश्नको जवाफ कसले दिने रु हिंसाको सूचना पाएर पनि समयमै उद्धार तथा संरक्षण गर्न नसक्ने निकायलाई कसरी जवाफदेही बनाउने रु अनुसन्धान प्रभावित पार्ने वा अपराध ढाकछोप गर्ने प्रयास भए त्यसको जिम्मेवारी कसले लिने रु यस्ता प्रश्नको जवाफ राज्यका सम्बन्धित निकायले दिनुपर्छ।
महिला तथा बालिकामाथि भएका पुराना र गम्भीर अपराधका घटनाको निष्पक्ष पुनरावलोकन गर्न आवश्यक छ। अनुसन्धानमा लापरबाही भएको पुष्टि भए सम्बन्धित जिम्मेवार व्यक्तिमाथि कानुनअनुसार कारबाही हुनुपर्छ। प्रमाण नष्ट गर्ने, अनुसन्धान प्रभावित पार्ने वा अपराधीलाई संरक्षण गर्ने कार्यमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्छ। पीडित परिवारलाई न्याय दिलाउनु सरकारको प्राथमिक जिम्मेवारी बन्नुपर्छ।
त्यस्तै, अपराधको प्रकृतिअनुसार प्रमाणमा आधारित अनुसन्धान, प्रभावकारी अभियोजन र निष्पक्ष न्याय सम्पादन हुनुपर्छ। अपराधीलाई कानुनबमोजिम शीघ्र कारबाही गर्ने व्यवस्था सुनिश्चित गर्न सके मात्र कानुनप्रतिको विश्वास र अपराध नियन्त्रणमा सकारात्मक प्रभाव पर्न सक्छ।
हिंसामुक्त समाज निर्माणका लागि अब के गर्ने ?
महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्न अब कार्यक्रम र प्रतिबद्धताभन्दा माथि उठेर व्यवहारमै देखिने सुधार आवश्यक छ। यसका लागि राज्य, स्थानीय सरकार, विद्यालय, परिवार, नागरिक समाज र समुदाय सबैको भूमिका महत्वपूर्ण हुन्छ।
पहिलो, प्रत्येक स्थानीय तहमा महिला तथा बालिका सुरक्षा संयन्त्र प्रभावकारी बनाउनुपर्छ। जोखिममा रहेका महिला तथा बालिकाको पहिचान, आपत्कालीन उद्धार, सुरक्षित आवास र निःशुल्क कानुनी सहायताको व्यवस्था हुनुपर्छ।
दोस्रो, बलात्कार, हत्या र घरेलु हिंसासम्बन्धी घटनाको अनुसन्धान तथा अभियोजनलाई प्रभावकारी बनाउनुपर्छ। पीडितले न्याय प्राप्त गर्न अनावश्यक ढिलाइ र प्रशासनिक झन्झट बेहोर्नुपर्ने अवस्था अन्त्य गर्न आवश्यक छ।
तेस्रो, विद्यालय तहदेखि नै लैङ्गिक समानता, उमेरअनुकूल यौन शिक्षा, आपसी सम्मान, व्यक्तिगत सीमा, सहमति र हिंसाविरुद्धको चेतना विकास गर्नुपर्छ। बालबालिकालाई सानैदेखि सम्मानजनक व्यवहार र समानताको संस्कार सिकाउनुपर्छ।
चौथो, हिंसापीडित महिलालाई आर्थिक सहयोग, मनोसामाजिक परामर्श, स्वास्थ्य उपचार, कानुनी सहायता र पुनःस्थापनाको व्यवस्था गर्नुपर्छ। पीडितलाई न्याय दिलाउनुका साथै सामान्य जीवनमा फर्कन सक्ने वातावरण निर्माण गर्नु पनि राज्यको दायित्व हो।
पाँचौँ, स्थानीय सरकार, प्रहरी, विद्यालय, स्वास्थ्य संस्था र नागरिक समाजबीच प्रभावकारी समन्वय हुनुपर्छ। हिंसाको जोखिममा रहेका महिला तथा बालिकाको पहिचान गरी समयमै संरक्षण र सहयोग उपलब्ध गराउने संयन्त्र विकास गर्नुपर्छ।
छैटौँ, राजनीतिक संरक्षण, सामाजिक दबाब र पारिवारिक मिलापका नाममा गम्भीर अपराधलाई ढाकछोप गर्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्छ। पीडितको स्वतन्त्र सहमति र कानुनी अधिकारलाई बेवास्ता गरेर अपराधलाई सामान्यीकरण गर्ने अभ्यास रोक्नुपर्छ।
सातौँ, महिला तथा बालिकामाथि हुने हिंसा, हत्या, बलात्कार, घरेलु हिंसा, अनुसन्धान, अभियोजन र दोषी ठहरको अवस्थासहितको राष्ट्रिय प्रतिवेदन प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्छ। यसले राज्यका निकायको कामको मूल्याङ्कन र आगामी रणनीति निर्माणमा सहयोग पुर्याउनेछ।
राज्यको जिम्मेवारीसँगै नागरिकको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ। घरभित्र छोरी र छोराबीच समान व्यवहार गर्नुपर्छ। महिलामाथि हुने अपमान, दुर्व्यवहार र हिंसालाई सामान्य पारिवारिक विषय ठानेर बेवास्ता गर्नु हुँदैन। हिंसा देख्दा मौन बस्ने होइन, पीडितको पक्षमा उभिने सामाजिक संस्कार विकास गर्नुपर्छ। सामाजिक सञ्जालमा पीडितको चरित्र हत्या गर्ने, निजी तस्बिर तथा परिचय सार्वजनिक गर्ने र हिंसालाई मनोरञ्जनको विषय बनाउने प्रवृत्तिको पनि विरोध गर्नुपर्छ।
अन्त्यमा, १६ दिन होइन, ३६५ दिनकै अभियान आवश्यक छ
महिला हिंसाविरुद्धको १६ दिने अभियानको उद्देश्य केवल कार्यक्रम आयोजना गर्नु र प्रतिबद्धता दोहोर्याउनु होइन। यसको वास्तविक उपलब्धि समाजको सोच, व्यवहार र राज्यको कार्यशैलीमा आएको परिवर्तनबाट मापन हुनुपर्छ। वर्षका १६ दिन महिला अधिकार र सुरक्षाका पक्षमा आवाज उठाउने तर बाँकी ३६५ दिन मौन रहने हो भने अभियानको उद्देश्य पूरा हुन सक्दैन।
निर्मला पन्तले न्याय पाउन नसकेको अवस्था, विभिन्न स्थानमा किशोरी तथा बालिकामाथि भइरहेका जघन्य अपराध र घरेलु हिंसाका घटनाले हाम्रो समाज तथा राज्यका सामु गम्भीर चुनौती खडा गरेका छन्। यी घटनालाई व्यक्तिगत वा पारिवारिक समस्याका रूपमा मात्र सीमित गरेर हेर्न मिल्दैन। महिला सुरक्षा मानव अधिकार, सामाजिक न्याय, लोकतन्त्र र सुशासनसँग प्रत्यक्ष जोडिएको विषय हो।
आधा आकाश ओगट्ने महिलाहरू नै असुरक्षित हुने समाजले समृद्धि र सभ्यताको लक्ष्य पूरा गर्न सक्दैन। त्यसैले सरकारले दिवस र अभियान मनाएर आफ्नो जिम्मेवारी पूरा भएको ठान्नु हुँदैन। प्रत्येक घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कानुनी कारबाही, पीडितलाई न्याय र सुरक्षित वातावरण निर्माणमा निरन्तर काम गर्नुपर्छ।
हामीलाई भाषणमा महिला सम्मान होइन, व्यवहारमा महिला सुरक्षा चाहिएको छ। नारामा मात्र समानता होइन, दैनिक जीवनमा समानताको अनुभूति चाहिएको छ। हामीलाई १६ दिनको औपचारिक अभियान होइन, वर्षका ३६५ दिन नै महिला तथा बालिकाको अधिकार, सम्मान र सुरक्षाका लागि निरन्तर पहल चाहिएको छ।
किनकि महिला तथा बालिकाको जीवन रक्षाको सुनिश्चितता नभएसम्म लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको सपना पूर्ण हुन सक्दैन।
प्रतिक्रिया