काठमाडौं- अटोमोबाइल क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग विस्तार गर्ने लक्ष्यसहित अमेरिकामा आधारित प्रविधि कम्पनी अटोस् ग्यालेक्सी (AutosGalaxy) ले आफ्नो एकीकृत डिजिटल प्लेटफर्म २० भन्दा बढी देशमा सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले नेपालसहित विभिन्न अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै मोबाइल तथा वेब प्लेटफर्म सञ्चालनमा ल्याउन लागेको हो।
कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक डा. धर्मराज उपाध्यायले आफूहरूको उद्देश्य अर्को गाडी खरिद–बिक्री प्लेटफर्म निर्माण गर्नु मात्र नभएको बताएका छन्। कृत्रिम बुद्धिमत्ता, प्रत्यक्ष सञ्चार र वास्तविक सेवाहरूलाई एउटै प्रणालीमा जोडेर अटोमोबाइल क्षेत्रको समग्र अनुभवलाई नयाँ स्वरूप दिने लक्ष्य रहेको उनको भनाइ छ।

परम्परागत गाडी खरिद–बिक्री गर्ने माध्यमभन्दा फरक अटोस् ग्यालेक्सीले गाडी खरिद तथा बिक्री, डिलर व्यवस्थापन, अटोमोबाइल विशेषज्ञसँग परामर्श, प्रत्यक्ष संवाद र घरदैलोमै उपलब्ध हुने सवारीसाधनसम्बन्धी सेवालाई एउटै डिजिटल प्रणालीमा समेटेको अटोस् ग्यालेक्सीले जनाएको छ।
प्लेटफर्ममार्फत सर्वसाधारणले आफ्ना सवारीसाधन बिक्रीका लागि राख्न, आवश्यक गाडी खोज्न तथा खरिद–बिक्री गर्न सक्नेछन्। त्यस्तै, गाडीका डिलर तथा व्यवसायीका लागि छुट्टै पोर्टल उपलब्ध हुनेछ। यसबाट गाडीको सूचीकरण, मौज्दात व्यवस्थापन, ग्राहक व्यवस्थापन र सञ्चार गर्न सकिने कम्पनीको भनाइ छ।
_37mYFkVdq8.jpg)
यसमा खरिदकर्ता, विक्रेता, डिलर, अटोमोबाइल विशेषज्ञ तथा सेवा प्रदायकबीच प्रत्यक्ष संवाद गर्न सकिने लाइभ मेसेजिङ सुविधा पनि समावेश गरिएको छ। गाडी खरिद गर्नुअघि प्राविधिक निरीक्षण, अवस्था परीक्षण, मर्मतसम्भार तथा खरिदसम्बन्धी निर्णयमा सहयोग लिन सकिने अटो एक्सपर्ट सेवा पनि प्लेटफर्मको अर्को विशेषता हो।
कम्पनीले 'वी कम टु यु' नामक सेवामार्फत ग्राहकले चाहेको स्थानमै सवारीसाधनसम्बन्धी सेवा उपलब्ध गराउने योजना बनाएको छ। यसअन्तर्गत गाडी मर्मत, सफाइ, डिटेलिङ, सिरामिक कोटिङलगायतका सेवा प्रदायकलाई ग्राहकसँग जोडिनेछ।
अटोस् ग्यालेक्सीको मुख्य प्रविधिका रूपमा एजीएक्स (AGX) नामक कृत्रिम बुद्धिमत्तामा आधारित प्रणाली विकास गरिएको छ। लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) प्रविधिमा आधारित यस प्रणालीले प्रयोगकर्ताको आवश्यकता बुझेर अटोमोबाइलसम्बन्धी विभिन्न काममा सहयोग गर्ने कम्पनीले जनाएको छ।

एजीएक्सले गाडी खरिद तथा बिक्री प्रक्रियामा आवश्यक जानकारी उपलब्ध गराउने, उपयुक्त विकल्प पहिचान गर्न सहयोग गर्ने र विभिन्न सेवा प्रक्रियालाई स्वचालित बनाउने लक्ष्य राखेको छ। यसबाट उपभोक्ता तथा व्यवसायीलाई अटोमोबाइलसम्बन्धी सेवा लिन सहज हुने कम्पनीको अपेक्षा छ।
२० भन्दा बढी देशमा प्रस्तावित विस्तारसँगै कम्पनीले उपभोक्ता, गाडी विक्रेता, डिलर, विशेषज्ञ तथा सेवा प्रदायकलाई एउटै डिजिटल सञ्जालमा जोड्ने लक्ष्य लिएको छ।
अमेरिकामा मुख्य कार्यालय रहेको अटोस् ग्यालेक्सीले आफ्नो मोबाइल तथा वेब प्लेटफर्म चाँडै सार्वजनिक गर्ने जनाएको छ। कम्पनीको वेबसाइट www.autosgalaxy.com रहेको छ।

प्रतिक्रिया