काठमाडौं– जनकपुरधाम र भारतको अयोध्यालाई जोड्ने सरयू–कमला एक्सप्रेस रेलको टिकट बुकिङ खुला भएको छ । भारतीय रेल्वेले आगामी शनिबारदेखि व्यावसायिक सञ्चालन गर्ने तयारीसहित टिकट बुकिङ खुलाएको हो ।
प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत सोमबार भर्चुअल माध्यमबाट हरियो झण्डा देखाएर शुभारम्भ गरेको रेल सातामा एक दिन सञ्चालन हुनेछ । रेल प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गर्नेछ भने सोमबार अयोध्याबाट जनकपुरधाम फर्किनेछ ।
करिब ६०४ किलोमिटर दूरी तय गर्ने रेलले नेपालका जनकपुरधामसहित भारतका उत्तर प्रदेश र बिहारका विभिन्न सहरलाई जोड्नेछ । भारतीय रेल्वेका अनुसार उत्तर प्रदेशका मनकापुर, बस्ती र गोरखपुर तथा बिहारका नरकटियागञ्ज, रक्सौल, सीतामढी, शीशो, मधुबनी र जयनगर स्टेसनमा रेल रोकिनेछ ।
भारतीय रेल्वेले यो रेललाई पूर्णतः आरक्षित सेवाका रूपमा सञ्चालन गर्ने जनाएको छ । अर्थात् कन्फर्म टिकट भएका यात्रुले मात्र यात्रा गर्न पाउनेछन् । रेलमा आरएसी सुविधा नहुने भएकाले प्रतीक्षा सूचीमा रहेका यात्रुले यात्रा गर्न पाउने छैनन् ।
टिकट बुकिङमा जनरल कोटा मात्र उपलब्ध हुनेछ । तत्काल, प्रिमियम तत्काल, ज्येष्ठ नागरिक, महिला तथा आकस्मिक कोटाको सुविधा रहने छैन । कुल आरक्षित सिटमध्ये ७० प्रतिशत एन्ड टु एन्ड र ३० प्रतिशत रोड साइड कोटाका लागि छुट्याइएको छ ।
यात्रुहरूले अधिकतम ६० दिनअघिसम्म अग्रिम टिकट काट्न सक्नेछन् । टिकट बुकिङ गर्दा नाम, उमेर, लिङ्ग, राष्ट्रियता र परिचयपत्रसम्बन्धी विवरण अनिवार्य हुनेछ । यस रेलमा नेपाली र भारतीय नागरिकले मात्र यात्रा गर्न पाउनेछन् । दुवै देशका यात्रुले यात्राका क्रममा वैध परिचयपत्र साथमा राख्नुपर्नेछ ।
चार श्रेणीमा भाडादर, नेपालीले ५८४ रुपैयाँदेखि तिर्नुपर्ने
भारतीय रेल्वेले रेलका चार श्रेणीका लागि भाडादर निर्धारण गरेको छ । जसअनुसार शयनयान ९स्लिपर० श्रेणीको टिकट ३६५ भारतीय रुपैयाँ, वातानुकूलित तृतीय इकोनोमीको ८८५, वातानुकूलित तृतीय श्रेणीको ९६५ र वातानुकूलित द्वितीय श्रेणीको १ हजार ३६० भारतीय रुपैयाँ तोकिएको छ ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार नेपाली यात्रुले भने उक्त भाडा नेपाली रुपैयाँमा तिर्नुपर्नेछ । भारतीय रेल्वेले तोकेको भाडालाई नेपाली रुपैयाँमा रूपान्तरण गरी भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
उनका अनुसार स्लिपर श्रेणीमा यात्रा गर्न नेपाली यात्रुले ५८४ रुपैयाँ तिर्नुपर्नेछ । नेपाल रेल्वेले यात्रुबाट थप शुल्क नलिने पनि उनले स्पष्ट पारेका छन् । नेपाल रेल्वेले भारतीय रेल्वेबाट रेलमार्ग प्रयोग गरेबापत मासिक पाँच लाखभन्दा बढी रुपैयाँ प्राप्त गर्ने उनको भनाइ छ ।
यात्रुहरूले भारतीय रेल्वेको आईआरसीटीसी वेबसाइट तथा मोबाइल एप, आधिकारिक अनलाइन टिकटिङ एजेन्ट र नेपालमा उपलब्ध अधिकृत सेवा एजेन्टमार्फत टिकट काट्न सक्नेछन् । भारततर्फका यात्रुले रेल्वेका आरक्षण काउन्टरबाट समेत टिकट लिन सक्नेछन् ।
कति सामान लैजान पाइन्छ रु
रेलमा प्रत्येक यात्रुले अधिकतम दुईवटा सामान लैजान पाउने व्यवस्था गरिएको छ । निःशुल्क सामान बोक्न पाउने सीमा प्रथम वातानुकूलित श्रेणीमा ७० किलो, द्वितीय वातानुकूलितमा ५० किलो तथा तृतीय वातानुकूलित र शयनयान श्रेणीमा ४०–४० किलो तोकिएको छ । तोकिएको सीमाभन्दा बढी सामान भए अतिरिक्त शुल्क लाग्नेछ । रेलमा पार्सल तथा मालसामान बुकिङ गर्न भने पाइने छैन ।
बालबालिकाको टिकट तथा भाडा भारतीय रेल्वेका अन्य एक्सप्रेस रेलमा लागू हुने नियमअनुसार निर्धारण हुनेछ । छुट्टै बर्थ लिने बालबालिकाले वयस्कसरह भाडा तिर्नुपर्नेछ भने बर्थ नलिनेको हकमा निर्धारित बाल भाडा लागू हुनेछ ।
१७ डिब्बासहित सञ्चालन हुँदै
सरयू–कमला एक्सप्रेसमा कुल १७ वटा डिब्बा रहनेछन् । जसमा शयनयान श्रेणीका सात, वातानुकूलित तृतीय इकोनोमीका तीन, वातानुकूलित तृतीय श्रेणीका तीन र वातानुकूलित द्वितीय श्रेणीका दुईवटा डिब्बा रहनेछन् । त्यसबाहेक दुईवटा एसएलआर डिब्बा पनि जडान गरिएका छन् ।
भारतीय रेल्वेका अनुसार जनकपुरधाम रेल्वे स्टेसनबाट प्रसिद्ध जानकी मन्दिर करिब १।२५ किलोमिटर दूरीमा छ । स्टेसनबाट मन्दिरसम्म पुग्न ई–रिक्सा, साइकल रिक्सा, अटो, ट्याक्सी तथा निजी सवारीसाधन उपलब्ध हुनेछन् । यात्रुले पैदलै पनि मन्दिरसम्म पुग्न सक्नेछन् ।
यो रेल सेवा सञ्चालनले जनकपुरधाम र अयोध्याबीच धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै रामायण सर्किटलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ । यसबाट तीर्थयात्री तथा पर्यटकको आवागमन सहज हुनुका साथै होटल, पर्यटन व्यवसाय, स्थानीय व्यापार र परम्परागत हस्तकलामा समेत सकारात्मक प्रभाव पर्ने विश्वास भारतीय रेल्वेको छ ।
नेपाल र भारतबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने लक्ष्यसहित सुरु गरिएको रेल सेवाले सीमावर्ती क्षेत्रका नागरिकलाई आवागमनको नयाँ विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया