काण्डला बन्दरगाह नेपालका लागि खुला, नेपाली वनस्पति घिउ तथा तेल उद्योगलाई ठूलो राहत

बुधबार, ०९ मंसिर २०८३, १७ : १३

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणका क्रममा नेपाली वनस्पति घिउ तथा तेल उद्योगहरूले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन भएपछि काण्डला बन्दरगाहबाट समेत उक्त कच्चा पदार्थ आयात गर्न पाउने व्यवस्था भएको छ। यस निर्णयको नेपाल वनस्पति घिउ तथा तेल उद्योग संघले स्वागत गरेको छ।

भारतको गुजरातस्थित काण्डला बन्दरगाह नेपालका लागि समेत खुला भएपछि नेपाली प्रशोधित खाद्य तेल उद्योगले क्रुड सनफ्लावर आयल र क्रुड सोयाबिन आयल आयात गर्न थप वैकल्पिक मार्ग पाउने भएका हुन्।

यसअघि नेपाली उद्योगहरू भारतका वजवज, कलकत्ता र हल्दिया बन्दरगाहमा मात्र निर्भर रहनुपर्दा ढुवानी खर्च, समय तथा आयात लागतका दृष्टिले विभिन्न कठिनाइ भोग्दै आएका थिए। उक्त समस्या समाधानका लागि संघका अध्यक्ष विकास दुगडलगायत प्रतिनिधिमण्डलले नेपाल सरकारका सम्बन्धित निकायमा पटक–पटक काण्डला बन्दरगाहबाट समेत आयातको व्यवस्था गर्न माग गर्दै आएका थिए।

काण्डला बन्दरगाहबाट आयातको सुविधा उपलब्ध हुनु नेपाली उद्योगहरूका लागि महत्वपूर्ण उपलब्धि भएको संघको भनाइ छ। यसले आयातका लागि थप वैकल्पिक मार्ग उपलब्ध गराउनुका साथै ढुवानी लागत न्यूनीकरण, आपूर्ति व्यवस्थामा सहजता र उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउने विश्वास संघले लिएको छ।

यस महत्वपूर्ण उपलब्धिका लागि भारतसँगको उच्चस्तरीय वार्तामा नेपाली उद्योगहरूको मागलाई प्राथमिकताका साथ उठाएर समाधानको मार्ग प्रशस्त गरिदिएकोमा संघले सम्माननीय प्रधानमन्त्रीप्रति आभार तथा विशेष धन्यवाद व्यक्त गरेको छ।

त्यसैगरी, यस प्रक्रियामा सहयोग पुर्‍याउने नेपाल सरकारका सम्बन्धित निकाय, निजी क्षेत्रका प्रतिनिधि तथा सम्पूर्ण सरोकारवालालाई पनि संघले धन्यवाद दिएको छ।

आगामी दिनमा सरकार र निजी क्षेत्रबीचको सहकार्य, समन्वय तथा संवादलाई थप प्रभावकारी बनाउँदै नेपाली उद्योगहरूको विकास, विस्तार र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि यस्ता सकारात्मक पहलले निरन्तरता पाउने अपेक्षा संघले गरेको छ।

बुधबार, ०९ मंसिर २०८३, १७ : १३

प्रतिक्रिया