१३औँ कृति अवार्ड्स २०८३ को निर्णायक अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुधबार, ०९ मंसिर २०८३, १६ : ५८

काठमाडौं- नेपाल विज्ञापन संघ (आन) को आयोजनामा सञ्चालन भइरहेको ‘रेड बुल १३औँ कृति अवार्ड्स २०८३’ अन्तर्गत निर्णायक मण्डलका लागि आयोजित अभिमुखीकरण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ।

कार्यक्रममा निर्णायक मण्डलका अध्यक्ष प्रा. डा. विजय केसी तथा वरिष्ठ निर्णायकहरू रवीन्द्रमान श्रेष्ठ र भारती सिलवाल गिरीले सहभागी निर्णायकहरूलाई मनोनयन मूल्याङ्कनका मापदण्ड, प्रक्रिया तथा आचारसंहिताबारे विस्तृत जानकारी गराएका थिए।

यस वर्षको कृति अवार्ड्सका लागि विज्ञापन, बजार व्यवस्थापन, डिजिटल मार्केटिङ तथा बजार सञ्चारका विभिन्न विधाका विज्ञहरूलाई निर्णायक मण्डलमा समावेश गरिएको छ। साथै, सङ्गीत, कला तथा साहित्य, ग्राफिक डिजाइन, डिजिटल प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता सिर्जनात्मक तथा प्राविधिक क्षेत्रका विज्ञहरूको समेत सहभागिता रहेको बहुविधागत निर्णायक टोली गठन गरिएको छ।

आन कार्यसमितिको कार्यादेशअनुसार सम्बन्धित विधामा योगदान र विज्ञताका आधारमा छनोट गरी आमन्त्रण गरिएका निर्णायकहरूले अवार्डका लागि प्राप्त मनोनयनहरूको मूल्याङ्कन गर्नेछन्।

अवार्डलाई थप मर्यादित, निष्पक्ष, विश्वसनीय र प्रभावमुक्त बनाउन आन कार्यसमिति निर्णायक छनोट प्रक्रियाबाट पूर्ण रूपमा अलग रहेको आयोजकले जनाएको छ। निर्णायक छनोट तथा मूल्याङ्कन प्रक्रियामा कार्यसमितिका कुनै पनि पदाधिकारी वा सदस्यको संलग्नता नरहेको पनि स्पष्ट पारिएको छ।

ऊर्जा पेय रेड बुल मुख्य प्रायोजक रहेको यस वर्षको कृति अवार्ड्समा इन्फ्लुएन्सर व्यवस्थापन गर्ने डिजिटल प्लेटफर्म इनमार्कको ‘इन एसोसिएसन विथ’ तथा जीएमडब्ल्यू ओरा, कोका–कोला र यति इन्टरनेसनल कलेजको ‘पावर्ड बाइ’ प्रायोजन रहेको छ।

यस सम्बन्धमा थप जानकारी आवश्यक भएमा नेपाल विज्ञापन संघको सचिवालयमा फोन नम्बर ०१-४७५०६३ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

बुधबार, ०९ मंसिर २०८३, १६ : ५८

प्रतिक्रिया