काठमाडौं- नेपालबाट वस्तु तथा सेवाको निर्यात उल्लेख्य रूपमा बढे पनि आयातको चाप कम नहुँदा व्यापार घाटा झन् फराकिलो बनेको छ । चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो चार महिनामा नेपालको व्यापार घाटा ६ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि कात्तिकसम्मको तथ्यांकअनुसार नेपालको निर्यात ४३ दशमलव ४८ प्रतिशतले बढेर १ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ९३ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको थियो ।
निर्यातमा उल्लेख्य वृद्धि भए पनि आयात अझ तीव्र गतिमा बढ्दा व्यापार घाटा नियन्त्रणबाहिर देखिएको हो । समीक्षा अवधिमा व्यापार घाटा गत आर्थिक वर्षको ५ खर्ब १५ अर्ब रुपैयाँबाट २९ दशमलव ६५ प्रतिशतले बढेको छ ।
विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले ८ खर्ब ३० अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब रुपैयाँको आयात भएको थियो । यससँगै आयात ३१ दशमलव ७७ प्रतिशतले बढेको देखिन्छ ।
समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार ९ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो व्यापार ७ खर्ब २ अर्ब रुपैयाँ थियो । यस आधारमा कुल वैदेशिक व्यापार ३३ प्रतिशतले विस्तार भएको छ ।
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८५ दशमलव ६९ प्रतिशत रहेको छ भने निर्यातको हिस्सा १४ दशमलव ३१ प्रतिशत मात्रै छ । यसले नेपालको वैदेशिक व्यापार अझै पनि आयातमुखी रहेको देखाउँछ ।
वस्तुगत आयाततर्फ सबैभन्दा धेरै कच्चा भटमासको तेल भित्रिएको छ । चार महिनामा ६२ अर्ब रुपैयाँ बराबरको कच्चा भटमासको तेल आयात भएको विभागको तथ्यांक छ । त्यसपछि ५९ अर्ब रुपैयाँको डिजेल र ३४ अर्ब रुपैयाँको पेट्रोल आयात भएको छ ।
रोचक पक्ष के छ भने नेपालमा सबैभन्दा धेरै आयात भएको कच्चा भटमासको तेल नै निर्यात हुने वस्तुको सूचीमा समेत पहिलो स्थानमा छ । आयात गरिएको कच्चा तेल प्रशोधन गरी ६१ अर्ब रुपैयाँ बराबरको तेल विदेश निर्यात गरिएको तथ्यांकले देखाएको छ । यसले नेपालको निर्यात वृद्धिमा प्रशोधित भटमासको तेलको ठूलो योगदान रहेको देखाउँछ ।
प्रतिक्रिया