काठमाडौं- मनकामनाको पहिलो लक्जरी होटल मनकामना हिलक्रेस्ट रिसोर्टले सफल सञ्चालनको पहिलो वर्ष पूरा गर्दै दोस्रो वर्षमा प्रवेश गरेको छ।
चितवन को-ई समूहअन्तर्गत रिसोर्ट्स बाई मनकामना केबलकार प्रा.लि.द्वारा स्वामित्व तथा सञ्चालित रिसोर्टले मनकामनामा सुविधासम्पन्न र आरामदायी आतिथ्य सेवा प्रदान गर्दै यस क्षेत्रलाई धार्मिक पर्यटनसँगै अन्य पर्यटकीय गतिविधिका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
रिसोर्टका अनुसार समूहका स्वर्गीय संस्थापक लक्ष्मण बाबु श्रेष्ठको दीर्घकालीन परिकल्पना र योजनाअनुसार निर्माण भएको रिसोर्ट निर्धारित समयभन्दा केही ढिलो सञ्चालनमा आएको थियो। उहाँप्रतिको सम्मान र स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले रिसोर्टको औपचारिक उद्घाटन मनकामना केबलकार सञ्चालनमा आएको दिनसँगै मिलाइएको थियो।
पहिलो वर्षको सञ्चालन सन्तोषजनक र उत्साहजनक रहेको जनाउँदै रिसोर्टले आगामी दिनमा सेवा, गुणस्तर र पाहुनाको सन्तुष्टिलाई थप प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
रिसोर्टले सञ्चालनको पहिलो वर्षमा सहयोग गर्ने पाहुना, कर्मचारी, स्थानीय बासिन्दा, सहिद लखन गाउँपालिका, गोरखा जिल्ला प्रशासन कार्यालय, साझेदार ट्राभल एजेन्सी तथा पर्यटन र आतिथ्य क्षेत्रका सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।
मनकामनालाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित आगामी दिनमा थप स्तरीय सेवा र पर्यटकीय गतिविधि सञ्चालन गर्ने रिसोर्टले जनाएको छ।
प्रतिक्रिया