काठमाडौं- स्वास्थ्य बीमा सेवा लिन भौतिक परिचयपत्र अनिवार्य बोक्नुपर्ने बाध्यता हटेको छ ।
स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्ड वा परिचयपत्रको विवरण स्पष्ट देखिने फोटोकपीका आधारमा समेत सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।
बोर्डले बुधबार सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भौतिक कार्ड नभएकै कारण बीमितलाई उपचार सेवाबाट वञ्चित नगर्न आग्रह गरेको हो ।
नयाँ व्यवस्थाअनुसार बीमितले भौतिक परिचयपत्र, डिजिटल कार्ड वा कार्डको विवरण स्पष्ट देखिने फोटोकपी प्रस्तुत गरेर स्वास्थ्य बीमाअन्तर्गतको सेवा लिन सक्नेछन् । त्यसअघि सम्बन्धित स्वास्थ्य संस्थाले आफ्नो दर्ता प्रणालीमार्फत बीमा नम्बर भिडान गरी सेवाग्राही बीमामा आबद्ध रहेको सुनिश्चित गर्नुपर्नेछ ।
बोर्डका प्रवक्ता पवनकुमार शाहले परिचयपत्र हराएका, घरमा छुटेका वा साथमा भौतिक कार्ड नभएका सेवाग्राहीको उपचार सहज बनाउनका लागि यो व्यवस्थाले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
प्रतिक्रिया