साउदी अरबमा भएको आक्रमणमा एक नेपालीको मृत्यु, तीन जना घाइते

विहीबार, १० मंसिर २०८३, २१ : २३

काठमाडौं- साउदी अरबमा हालै भएको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

परराष्ट्र मन्त्रालयले बिहीबार साँझ सामाजिक सञ्जाल एक्समार्फत घटनाबारे जानकारी दिएको हो । जसअनुसार घाइतेमध्ये एक जना उपचारपछि निको भएका छन् भने दुई जनाको उपचार भइरहेको छ ।

मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । मृतकको परिचयन भने खुलाइएको छैन ।

मन्त्रालयले कुनै पनि बहानामा सर्वसाधारण नागरिक र सार्वजनिक पूर्वाधारलाई निशाना बनाउन नहुने जनाएको छ । विवाद र द्वन्द्व समाधानका लागि अधिकतम संयमता अपनाउन तथा शान्तिपूर्ण उपाय अवलम्बन गर्न सम्बन्धित सबै पक्षलाई नेपालले आग्रह गरेको छ ।

नोभेम्बर २४ मा रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टको एउटा टावरमा आक्रमण भएको थियो। साउदी नागरिक सुरक्षा निकायले उक्त आक्रमणमा यमनको हुथी विद्रोही समूहको संलग्नता रहेको आरोप लगाएको थियो ।
 

विहीबार, १० मंसिर २०८३, २१ : २३

प्रतिक्रिया