ग्लोबल आइएमई बैंकको आयोजनामा प्लाटिनम गल्फ प्रतियोगिता हुँदै

विहीबार, १० मंसिर २०८३, १६ : ४८

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ प्रतियोगिता आयोजना हुने भएको छ। बैंकले आगामी मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताले खेलप्रेमीहरूलाई खेल, प्रकृति र आपसी सद्भावको अनुपम अनुभव प्रदान गर्ने विश्वास बैंकले लिएको छ।

प्रतियोगितामा होल इन वान गर्ने खेलाडीलाई आधुनिक स्कोडा एसयूभी गाडी पुरस्कारस्वरूप प्रदान गरिनेछ। यस्तै, अन्य विधाका विजेताहरूका लागि चन्द्रागिरि हिल्स र डिसहोमका विशेष प्याकेज पुरस्कारको व्यवस्था गरिएको बैंकले जनाएको छ।

प्रतियोगिता आयोजना गर्न आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, एमएडब्लू तथा बाराहसिंघेको सहकार्य रहेको छ।

खेलकुद संस्कृतिको प्रवर्द्धन, आपसी सम्बन्धको विस्तार तथा विभिन्न क्षेत्रका खेलप्रेमी व्यक्तिहरूबीच अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने उद्देश्यले बैंकले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो।

आधुनिक प्रविधिको उच्चतम प्रयोगमार्फत उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ।

त्यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरलगायतका प्रतिष्ठित पुरस्कारसमेत प्राप्त गरेको छ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।

यसका साथै, बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको छ।

विहीबार, १० मंसिर २०८३, १६ : ४८

प्रतिक्रिया