काठमाडौं- नागरिक लगानी कोषले सरकारी संलग्नता रहेका पूर्वाधार आयोजनामा लगानी विस्तारका लागि सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गरेको छ ।
प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा कोषको अवस्था र भावी कार्ययोजना प्रस्तुत गर्दै कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले माथिल्लो तामाकोशी र न्यादीजस्ता जलविद्युत् आयोजनामा थप लगानी विस्तारका लागि सरकारी पहल आवश्यक रहेको बताए ।
प्रत्यक्ष लगानी सम्भव नभए सरकारले दीर्घकालीन विकास ऋणपत्र जारी गरेर विकास निर्माणमा रकम परिचालन गर्न सक्ने उनको भनाइ छ । कार्यकारी निर्देशक कार्कीले समान प्रकृतिका संस्थाबीचको प्रतिस्पर्धा र संस्थागत निक्षेपको ब्याजदर घट्दा आम्दानीमा गिरावट आएको उल्लेख गरे । उनले तत्काल अन्य क्षेत्रमा लगानी विस्तार गर्न नसक्दा ठूलो रकम कल तथा चालु खातामा रहेको जानकारी दिए ।
प्राविधिक जनशक्तिको अभाव, व्यावसायिक सफ्टवेयर स्तरोन्नतिको आवश्यकता, पुराना अभिलेखको अभाव तथा कानुनी र नीतिगत सुधारलाई उनले चुनौतीका रूपमा प्रस्तुत गरे । कोषले नागरिक पेन्सन योजनामार्फत स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका व्यक्तिलाई समेट्ने, बचत सङ्कलनको दायरा विस्तार गर्ने र सरकारका प्राथमिकताप्राप्त परियोजनामा लगानी विस्तार गर्ने योजना अघि सारेको छ ।
कर्जा विस्तार, सामूहिक लगानी कोष, उपयुक्त संस्थाको इक्विटी तथा पुँजीबजारका नयाँ उपकरणमा लगानी विविधीकरण गर्ने तयारी गरिएको कार्यकारी निर्देशक कार्कीको भनाइ छ ।
बन्दमुखी सामूहिक लगानी कोष सञ्चालनका लागि धितोपत्र बोर्डमा अनुमतिको प्रक्रिया अघि बढाइएको र पोर्टफोलियो व्यवस्थापन सेवा सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए । बुधबारदेखि समितिको बैठकमा नागरिक लगानी कोष ऐन संशोधन गर्न बनेको विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल सुरु भएको थियो ।
प्रतिक्रिया