रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा निर्माण सम्पन्न भई सञ्चालनमा आएको स्यार्पु जलविद्युत् आयोजनाबाट दैनिक औसत ६५ हजार युनिट विद्युत् उत्पादन हुन थालेको छ। जिल्लाका ६ वटै स्थानीय तहको स्वामित्व रहेको यो आयोजनाले स्थानीय स्रोत, साधन र पुँजी परिचालनमार्फत विकास निर्माणलाई गति दिन सकिने उदाहरण प्रस्तुत गरेको छ। आयोजनाको सफलतासँगै रुकुममा स्थानीय तहको नेतृत्वमा विकास गर्ने अवधारणाको चर्चा पनि पुनः हुन थालेको छ।
स्थानीय तहको लगानीमा निर्माण भएको यो आयोजना केवल विद्युत् उत्पादनमा सीमित छैन। यसले स्थानीय स्रोतको उपयोग, जनताको प्रत्यक्ष निगरानी र स्थानीय सरकारको संस्थागत क्षमता अभिवृद्धिको सम्भावनालाई समेत उजागर गरेको छ। संविधानले परिकल्पना गरेको स्थानीय स्वायत्तता र स्रोतको स्थानीय परिचालनको अवधारणालाई व्यवहारमा उतार्ने एउटा उदाहरणका रूपमा पनि यसलाई हेरिएको छ।
स्यार्पु जलविद्युत् आयोजना स्थानीय लगानीमा निर्माण गर्ने परिकल्पना रुकुमका नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले अघि सारेका थिए। स्थानीय तहलाई बलियो बनाउनुपर्ने विषयमा निरन्तर पैरवी गर्दै आएका शर्माले आफू अर्थमन्त्री हुँदा आयोजनालाई अघि बढाउने निर्णयसहित आवश्यक प्रक्रिया अगाडि बढाएका थिए। त्यसको परिणामस्वरूप अहिले आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा पुगेको छ।
यो उपलब्धि स्थानीय प्राकृतिक स्रोतको उपयोग गरेर जिल्लाभित्रै आम्दानी र रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ भन्ने आत्मनिर्भर अर्थतन्त्रको अवधारणासँग पनि जोडिएको छ। स्थानीय तहको संयुक्त लगानीमा सञ्चालन भएको आयोजनाले जिल्लाको आर्थिक गतिविधि विस्तार गर्न सक्ने अपेक्षा गरिएको छ।
शर्माको ऊर्जा क्षेत्रसँग जोडिएको अर्को महत्त्वपूर्ण अभियान ‘उज्यालो नेपाल’ र ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम हो। उनी ऊर्जामन्त्री रहेका बेला अघि सारिएका यी अवधारणाले जलविद्युत् विकासमा नागरिकको सहभागिता र लगानी विस्तारको बहसलाई प्राथमिकतामा ल्याएका थिए। त्यस अवधिमा ऊर्जा उत्पादन तथा वितरण प्रणालीमा सुधारका प्रयाससमेत अघि बढे। लामो समय दैनिक १८ घण्टासम्मको लोडसेडिङ भोगेका नेपाली नागरिकलाई अँध्यारोबाट मुक्त गराउने अभियानमा पनि उनको भूमिका जोडिन्छ।
रुकुमको विकासको चर्चा गर्दा सडक, विद्युत्, खानेपानी र उद्योगका भौतिक संरचनालाई मात्र हेरेर पुग्दैन। त्यसका पछाडि रहेको राजनीतिक सोच, विकासको दृष्टिकोण र त्यसलाई व्यवहारमा उतार्न खोज्ने नेतृत्वको भूमिकासमेत विश्लेषण गर्नुपर्ने हुन्छ। रुकुमको विकास यात्रामा जनार्दन शर्माको नाम यही सन्दर्भमा जोडिने गरेको छ।
जिल्लामा विभिन्न समयमा राजनीतिक नेतृत्व गर्ने र राज्यसत्तामा पुग्ने अवसर पाएका नेताहरू भए पनि सडक विस्तार, विद्युतीकरण र उत्पादनमुखी अर्थतन्त्रको अवधारणालाई राजनीतिक अभियानका रूपमा अघि बढाउने प्रयासमा शर्माको भूमिका रहेको स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरू बताउँछन्। रुकुमलाई अँध्यारोबाट उज्यालोतर्फ लैजाने अभियान उनको राजनीतिक यात्राको एउटा महत्त्वपूर्ण पक्षका रूपमा स्थापित भएको उनीहरूको भनाइ छ।
युद्धबाट विकास र समृद्धिको अभियानसम्म
जनार्दन शर्माको राजनीतिक जीवन लामो संघर्षबाट सुरु भएको हो। पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन, जनयुद्ध, शान्ति प्रक्रिया हुँदै राज्य सञ्चालनको जिम्मेवारीसम्म आइपुग्दा उनको राजनीतिक यात्राले विभिन्न चरण पार गरेको छ।
शान्ति प्रक्रिया सुरु भएपछि रुकुमलाई युद्धकालीन अवस्थाबाट बाहिर निकालेर विकास र समृद्धिको नयाँ यात्रामा जोड्नुपर्ने सोच उनले अघि सारे। अबको संघर्ष गरिबी, बेरोजगारी, अभाव र पछौटेपनविरुद्ध हुनुपर्ने उनको धारणा थियो। यही सोचअनुसार जिल्लाको विकासलाई सडक, विद्युत्, खानेपानी, कृषि र उद्योगसँग जोडेर अघि बढाउने प्रयास गरिएको देखिन्छ।
भौगोलिक विकटताका कारण विकासका आधारभूत पूर्वाधार विस्तार गर्नु रुकुमका लागि सधैँ चुनौतीपूर्ण रहँदै आएको छ। अग्ला बस्तीमा खानेपानी पुर्याउन लिफ्ट खानेपानी आयोजनाको अवधारणा अघि सारियो। सडकमार्फत गाउँबस्तीलाई जोड्ने, विद्युत् विस्तार गरेर बस्ती उज्यालो बनाउने र खानेपानीको सहज पहुँच स्थापित गर्ने योजनालाई विकासको आधारका रूपमा अघि बढाइएको थियो।
आज रुकुमका धेरै बस्तीमा सडक र विद्युत्को पहुँच विस्तार भएको छ। खानेपानी तथा अन्य पूर्वाधार निर्माणका कामले पनि गति लिएका छन्। यद्यपि, सबै योजना सम्पन्न भइसकेका छैनन्। विकासका यी प्रयासको मूल्यांकन गर्दा योजनाको घोषणा र निर्माणसँगै तिनले नागरिकको दैनिक जीवनमा पारेको प्रभावलाई पनि हेर्नुपर्ने हुन्छ।
अधुरा सपना पूरा गर्ने चुनौती
रुकुमको विकासका लागि अघि सारिएका सबै योजना अपेक्षाअनुसार कार्यान्वयन हुन सकेका छैनन्। विभिन्न पालिकामा स्थापना गर्ने भनिएका उद्योगमध्ये कतिपय अझै सञ्चालनमा आउन सकेका छैनन्। किसानको दूध खरिद गरी नियमित आम्दानीको आधार तयार गर्ने उद्देश्यसहित अघि सारिएको दुग्ध विकास कम्पनीको संरचना निर्माण भए पनि बजेट र व्यवस्थापनको अभावमा सञ्चालन हुन सकेको छैन।
यी योजनालाई पूर्णता दिनु अहिलेको प्रमुख आवश्यकता हो। विकासको सफलता भवन र संरचना निर्माणमा मात्र मापन हुँदैन। त्यसबाट नागरिकले पाउने सेवा, रोजगारी, आम्दानी र आर्थिक अवसरले नै विकासको वास्तविक उपलब्धि निर्धारण गर्छ।
रुकुमलाई सडक, विद्युत्, खानेपानी, कृषि, उद्योग र ऊर्जामार्फत आत्मनिर्भर बनाउने परिकल्पना कुनै एक व्यक्तिको राजनीतिक उपलब्धिमा मात्र सीमित हुनुहुँदैन। त्यसलाई संस्थागत गर्दै निरन्तरता दिनु आवश्यक छ। शर्माले अघि सारेका योजनामध्ये कुन सम्पन्न भए, कुन अधुरा छन् र कुनले जनताको जीवनमा वास्तविक परिवर्तन ल्याए भन्ने विषयमा निष्पक्ष समीक्षा पनि उत्तिकै जरुरी छ।
रुकुमलाई अँध्यारोबाट उज्यालोतर्फ लैजाने अभियान, सडक सञ्जाल विस्तार र उत्पादनमा आधारित अर्थतन्त्रको परिकल्पनामा जनार्दन शर्माको भूमिका र योगदानलाई बेवास्ता गर्न नसकिने स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ।
नेतृत्वको सफलता भाषण र घोषणामा मात्र होइन, जनताको जीवनमा देखिने परिवर्तनमा मापन हुन्छ। स्यार्पु जलविद्युत् आयोजनाबाट सुरु भएको विद्युत् उत्पादनले रुकुमको विकास यात्रामा एउटा नयाँ सम्भावना थपेको छ। स्थानीय स्रोत र लगानीबाट निर्माण भएको यो आयोजनाले जिल्लाभित्रै आर्थिक गतिविधि विस्तार गर्ने आधारसमेत तयार गरेको छ।
अबको चुनौती अधुरा योजनालाई पूर्णता दिने, उत्पादन र रोजगारी बढाउने तथा स्थानीय स्रोत, सीप र श्रमको अधिकतम उपयोग गर्ने हो। स्यार्पु जलविद्युत् आयोजनाले देखाएको सम्भावनालाई दिगो आर्थिक समृद्धिमा बदल्न सके मात्रै रुकुमलाई आत्मनिर्भर बनाउने परिकल्पनाले सार्थकता पाउनेछ।
प्रतिक्रिया