नेपालमा वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी, मानव श्रमको शोषण र नीतिगत तहबाट हुने सम्भावित आर्थिक चलखेलको एउटा गम्भीर प्रकरण फेरि सार्वजनिक भएको छ। मलेसिया रोजगारीमा जाने नेपाली युवामाथि भएको भनिएको अर्बौँ रुपैयाँको ठगी प्रकरणमा पूर्वमन्त्रीदेखि मन्त्रालयका उच्चपदस्थ कर्मचारीसम्मको नाम जोडिनु सामान्य विषय होइन। तर यस घटनाले अझ गम्भीर प्रश्न खडा गरेको छ कि ठगीको सञ्जालमा संलग्न भएको आरोपमा कर्मचारी पक्राउ पर्दा त्यसलाई सहज बनाउने निर्णय प्रक्रियामा जोडिएका राजनीतिक नेतृत्वमाथि अनुसन्धान किन अघि बढ्दैन ?
सार्वजनिक समाचारअनुसार मलेसिया रोजगारीमा जाने नेपाली युवाहरूसँग एक अर्ब ६९ करोड दुई लाख २८ हजार रुपैयाँ ठगी गरेको आरोप लागेको छ। यस प्रकरणमा पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित श्रम मन्त्रालयका तत्कालीन सचिव, सहसचिव तथा उपसचिवहरू पक्राउ परेका छन्। तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका प्रमुख उमेश ढुंगाना, राजीव पोखरेल तथा कानुन अधिकृत निर्मल कुँवरलगायत व्यक्तिहरू पनि अनुसन्धानको दायरामा आएको समाचारमा उल्लेख छ।
यो घटनाको अर्को महत्वपूर्ण पक्ष तत्कालीन श्रममन्त्री डीपी अर्यालको भूमिका हो। समाचारमा उल्लेख भएअनुसार उनले श्रममन्त्री रहेका बेला मलेसियामा रकम पठाउने प्रक्रियालाई सहजीकरण गर्न नेपाल राष्ट्र बैंकलाई दुईवटा विवादास्पद पत्राचार गरेका थिए। मलेसियामा नेपाली श्रमिकमाथि ठगी भइरहेको भनिएको समयमा रकम पठाउने प्रक्रियामा राजनीतिक तथा प्रशासनिक तहबाट सहजीकरण भएको विषयले थप अनुसन्धान माग गरेको छ।
यहाँ प्रश्न उठ्छ, कुनै मन्त्रालयको मन्त्रीले राष्ट्र बैंकलाई पत्राचार गर्नु सामान्य प्रशासनिक प्रक्रिया मात्र थियो कि त्यसका पछाडि कुनै निश्चित व्यावसायिक समूहको स्वार्थ जोडिएको थियो ? ती पत्र किन लेखिए ? कसको हितका लागि लेखिए ? त्यसबाट कसले आर्थिक लाभ लियो ? र त्यसको परिणामस्वरूप नेपाली श्रमिकमाथि भएको भनिएको ठगीमा राज्यका जिम्मेवार पदाधिकारीको भूमिका के थियो ? यी प्रश्नको जवाफ अनुसन्धानबाट आउनुपर्छ।
समाचारका अनुसार २०७६ देखि २०७९ सम्म मलेसिया जाने नेपाली श्रमिकलाई स्वास्थ्य परीक्षणको नाममा ठगी गरिएको र सोही अवधिमा उठाइएको रकम मलेसिया पठाइएको विषयसमेत उठाएको छ। श्रमिकले विदेश जानुअघि नै स्वास्थ्य परीक्षण, भिसा, टिकट र विभिन्न प्रक्रियाका नाममा ठूलो रकम खर्च गर्नुपर्ने बाध्यता छ। गरिब परिवारले ऋण खोजेर, जग्गा धितो राखेर वा घरखेत बेचेर विदेश पठाएका युवाहरूको कमाइमा समेत बिचौलिया र स्वार्थ समूहले आँखा लगाउनु राज्यको असफलताको पराकाष्ठा हो।
वैदेशिक रोजगारी नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार हो। हरेक वर्ष लाखौँ युवा रोजगारीको खोजीमा विदेशिन्छन्। उनीहरूले पठाएको रेमिट्यान्सले देशको विदेशी मुद्रा सञ्चिति धानिरहेको छ। तर यही क्षेत्रलाई ठगी, कमिसन र बिचौलियाको अखडा बन्न दिनु राज्यको गम्भीर कमजोरी हो। श्रमिक विदेश जानुअघि ठगिन्छन्, विदेश पुगेपछि श्रम शोषणमा पर्छन् र स्वदेश फर्किएपछि पनि राज्यबाट न्याय पाउन संघर्ष गर्नुपर्ने अवस्था छ।
अझ विडम्बना त के छ भने राजनीतिक नेतृत्वमा पुगेका व्यक्तिहरूको निर्णय र पत्राचारले कुनै विवादास्पद प्रक्रियालाई संस्थागत रूपमा सहयोग गरेको आशंका उठ्दा पनि अनुसन्धानको दायरा कर्मचारीमा मात्र सीमित हुने हो भने यसले गलत सन्देश दिन्छ। कुनै पनि मन्त्रालयमा कर्मचारीले गर्ने काम मन्त्रीको जानकारी र नीतिगत निर्देशनबिना सम्भव हुन्छ कि हुँदैन भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। मन्त्रीले गरेका निर्णयको जवाफदेहिता मन्त्रीले नै लिनुपर्छ। कर्मचारी पक्राउ परेपछि राजनीतिक नेतृत्वको जिम्मेवारी स्वतः समाप्त हुँदैन।
यसैगरी सार्वजनिक समाचारमा पूर्वमन्त्री डीपी अर्याल र पूर्वमन्त्री शरतसिंह भण्डारीमाथि अनुसन्धान अघि नबढाइएको विषयसमेत उठाइएको छ। यदि उनीहरूको निर्णय, पत्राचार वा अन्य भूमिकासँग यो प्रकरणको सम्बन्ध छ भने अनुसन्धान हुनुपर्छ। कसैलाई राजनीतिक पहुँच, पद, पार्टी वा शक्तिका आधारमा अनुसन्धानबाट बाहिर राख्नु हुँदैन। तर आरोप लाग्दैमा कसैलाई दोषी घोषणा गर्नु पनि न्यायसंगत हुँदैन। प्रमाणका आधारमा निष्पक्ष अनुसन्धान र कानुनी प्रक्रिया नै सही बाटो हो।
अहिलेको सरकारले पनि यो प्रकरणलाई राजनीतिक प्रतिशोध वा कर्मचारीमाथि मात्र कारबाही गरेर प्रचार गर्ने अवसरका रूपमा लिनु हुँदैन। अनुसन्धानको दायरा राजनीतिक नेतृत्व, प्रशासनिक संयन्त्र, बिचौलिया र आर्थिक लाभ लिने समूहसम्म समान रूपमा विस्तार गर्नुपर्छ। राष्ट्र बैंकलाई लेखिएका पत्र, रकम पठाउने अनुमति तथा सहजीकरणका निर्णय, सम्बन्धित कम्पनीका आर्थिक कारोबार र त्यसबाट लाभ लिने व्यक्तिको सम्पूर्ण विवरण सार्वजनिक गरिनुपर्छ।
सरकारले एउटा कुरा स्पष्ट बुझ्नुपर्छ कि श्रमिकको पसिनाबाट देशको अर्थतन्त्र चलाउने तर उनीहरूलाई ठग्ने गिरोहलाई राजनीतिक संरक्षण दिने राज्यप्रति जनताको विश्वास रहँदैन। कर्मचारी पक्राउ गरेर मात्र सुशासन स्थापित हुँदैन। निर्णय गर्ने, निर्णय गराउने र त्यसबाट लाभ लिने सबैको जवाफदेहिता सुनिश्चित हुनुपर्छ। प्रश्न डीपी अर्याल दोषी हुन् कि होइनन् भन्ने मात्र होइन, उनीसहित यस प्रकरणमा जोडिएका सबै राजनीतिक तथा प्रशासनिक व्यक्तिको भूमिका निष्पक्ष रूपमा अनुसन्धान हुन्छ कि हुँदैन भन्ने हो।
देशमा कानुन साना कर्मचारी र कमजोर नागरिकका लागि मात्र होइन, मन्त्री, सांसद र शक्तिशाली राजनीतिक नेतृत्वका लागि पनि समान रूपमा लागू हुन्छ भन्ने प्रमाणित गर्ने अवसर सरकारसामु छ। अन्यथा सुशासनको नारा जति चर्को लगाए पनि श्रमिक लुटिने र शक्तिशालीले उन्मुक्ति पाउने पुरानै प्रवृत्तिमा कुनै परिवर्तन आउने छैन।
प्रतिक्रिया