सन्दर्भ : बडादशैं

दशैंको समयमा गरीने पशु हत्याको विरोध र त्यसको सान्दर्भिकता

बुधबार, ०४ कार्तिक २०८३, ०७ : ११

नेपालको ग्रामिण समाजमा हुर्केर जीवनको उत्तरार्धमा पुग्दै गर्दा व्यक्तिगत भोगाईको यो लामो कालखण्डमा मांसहार र बली प्रथा सम्बन्धमा अनेक तर्कहरु मनमा आई रहेका छन । यहाँ व्यक्त गरिएका बिचारहरु नितान्त व्यक्तिगत धारणामा आधारीत हुन ।  

जीवनमा भोगेका विषय र उमेरमा आएको परिवर्तन संगसंगै प्रस्तुत विषयका सम्बन्धमा आएका धारणात्मक परिवर्तनका आधारमा निर्माण भएको बिचारमात्र यहाँ प्रस्तुत गरीएको  हो ।  उमेरगत परिवर्तन संगै मानिसको सोच र बिचारमा आउने धेरैवटा परिवर्तन मध्ये अध्यात्म र यस भित्रका विवादास्पद पाटो प्रतिको दृष्टिकोणमा आउने बैचारिक भिन्नता  पनि एउटा हो ।  

खासगरी दशैंको समयमा यो विषयले बढीनै दिमाग तताउने काम गरीरहेको देखिन्छ । धर्म संग जोडिएर नआएको भए सम्भबत यसको बारेमा त्यति चर्चा पनि हुने थिएन । दुनियाँमा हुने पशुबधको दशै मनाईने दक्षिण एशियाको सानो भूगोलमा गरीने काटमारमा आधारीत बली प्रथा र मांशभक्ष परम्पराले पशुबधको संख्यात्मक हिसाबमा खासै प्रभाव पार्ने पनि हैन ।  

एउटा प्राणीपनि मारिनु हुन्न र बाँच्न पाउनु पर्छ भन्ने बाँच्न पाउने अधिकारको मीठो भनाईलाई आधार मान्ने हो भने त यो आंकडा पनि असामान्य नै बन्छ । तर विश्वमा खपत हुने मासु र त्यसको आपुर्ती कर्ता पशुपंक्षीहरुको बधको अनुमान गर्नेहो भने दशैंमा गरिने पशुबध नगन्यनै हुन जान्छ । खास गरी यस विषयमा चिन्तन गर्दा ४-४ वटा विषयमा दिमाग भौंतारीन पुग्छ । 

१.यसको भाबनात्मक पक्ष- हामी मानिस हौं । हामीमा चेतना छ र संसारमा हाम्रो जातिय साम्राज्य छ । हामी मानिस बाहेक हरेक पशुपंक्षी लाई किनबेच गर्न र स्वादका लागि मारेर खान स्वतन्त्र छौं । मार्न पनि जसरी चाह्यो त्यसरी नै पाउँ छौं । तर ति पनि प्राणी हुन दुख र पिडा तीनिहरुलाई  पनि हुन्छ । 

पालै पालो घाँटी रेटेर मार्दा तिनीहरुको मन कति रुन्छ होला । निरीह छन । कठै भन्ने कोही छैन । आमाकै अगाडि बच्चा मारिएको छ । त्यो माउको मन कस्तो हुन्छ होला । त्यो चित्कार त्यो आँशु र त्यो पिडा कसरी बयान गर्न सकिन्छ र ? मर्नु परेको छ कसैको स्वादका लागि । 

२. समाज बिकासको चरणका आधारमा - मानव समाजको बिकास क्रमलाई हेर्नेही भने जंगली जीवन , त्यतिबेलाको शिकारी युग , सके जनावरहरुलाई मारेर पेट भर्ने नसके पशुहरुको आक्रमणमा परी आफैं मारीने । खाद्यश्रृङ्खलाका आधारमा हेर्ने हो भने हरेक प्राणी कसैको आहारा नै हुँदै आएको देखिन्छ । यहाँ एउटाले अर्कोलाई मार्नु र खानु कुनै ठूलो विषय नै हुन आउँदैन । 

३. राजनीतिक साम्राज्य- कुनै अबिबेकी प्राणिलाई विश्वमा साम्राज्य खडा गर्ने अबसर दिइयो भने विवेकी प्राणीको बाँच्ने अबसर गुम्छ । मानिसका पुर्खाहरुले आजको अबस्थामा हामीलाई ल्याउनका लागि कति जुध्न भिड्न पर्योहोला ?  कति दुख कष्ट भोगेर आजको यो मानव समाजको साम्राज्य खडा भएको होला ? यस अर्थमा हेर्दा धरतीका कुनै पनि प्राणीले सक्थे र मानिसमा यो शारीरिक बनोट तथा चेतनाको स्तर हुँदैनथ्यो भने अस्तित्व पुरै संकटमा परिसकेको हुनेथियो । 

उस्लाई कुनै पनि अरु प्राणिले दयामाया गर्ने थिए भनेर विश्वास गर्ने कुनै ठाउँ नै छैन । तृणहारी पशु हिंसक नभए पनि सामुहिक बलको प्राचुर्यतामा उनीहरु पनि मानिस प्रति सहिष्णु हुन्थे भन्न सकिदैन । 

४. बर्तमान अबस्थामा ब्यवसायका रुपमा - अहिले पशुपंक्षीपालन बिश्वकै प्रमुख पेशाका रुपमा रहेको छ । पशुपंक्षी र माछामात्र हैन  किरा फट्याङ्ग्रा भ्यागुता गँगटा लगायत धेरै प्राणीहरुलाई मानिसले आहारका रुपमा प्रयोग गरी रहेको छ । यो ब्यबसाय यति ठूलो भैसकेको छ की यसलाई रोक्न सक्ने सम्भावना छैन । असम्भव के छ र ? भनिएला तर सम्भावना छैन । 

विश्व अर्थतन्त्रको पशुपन्छी पालन (पशुपालन) क्षेत्रले विश्वको कुल कृषि गार्हस्थ्य उत्पादन (Agricultural GDP) मा लगभग ४० प्रतिशत योगदान पुर्‍याएको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अनुसार यो योगदान करिब १.८ ट्रिलियन अमेरिकी डलर बराबरको रहेको छ। विश्वभरका करिब १.३ अर्ब मानिसहरू आफ्नो जीविकोपार्जनका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पशुपालन क्षेत्रमा निर्भर छन्। 

पशुपालन क्षेत्रमा पशुवध र मासु उत्पादन तथा यसको विश्वव्यापी व्यापार को हिस्सा सबैभन्दा ठूलो र आर्थिक रूपमा निकै शक्तिशाली रहेको छ। FAO को पछिल्लो प्रतिवेदन अनुसार, विश्वभर वार्षिक मासु उत्पादन करिब ३९१ मिलियन टन पुगेको छ। 

धर्म र बली प्रथा - 

साधारण अर्थमा देवतालाई खुसी पार्नका लागि कुनै जीव (पशुपक्षी) को गर्धन काट्नु वा रगत चढाउनुलाई बलिप्रथा भनिए पनि, यसको वास्तविक र दार्शनिक अर्थ निकै व्यापक र गहिरो छ। हिन्दु धर्मशास्त्र, भाषा र संस्कृति अनुसार बलिलाई मुख्य गरी तीन वटा दृष्टिकोणबाट बुझ्न सकिन्छ . 

१.पञ्चमहायज्ञ र बलि: हिन्दु धर्ममा गृहस्थीहरूले दैनिक रूपमा गर्नुपर्ने पाँच वटा महायज्ञमध्ये भोजन गर्नुअघि प्रकृतिका अन्य जीवहरू (जस्तै: काग, कुकुर, गाई, कमिला र देवता) का लागि खानाको केही अंश छुट्ट्याएर राख्नुलाई 'बलि' भनिन्छ। 

२.प्रतीकात्मक बलि: अध्यात्ममा मानिसभित्र रहेका काम, क्रोध, लोभ, मोह र अहंकार जस्ता पशुवत् दुर्गुणहरूलाई त्याग्नु नै वास्तविक बलि हो। 

३.पशुबलि: समयक्रममा र विशेष गरी शाक्त र तान्त्रिक परम्परामा बलिलाई शाब्दिक रूपमा बुझ्न थालियो। रगत र मासुको अर्पण: देवी-देवता वा शक्तिपीठहरूमा बोका, राँगो, भेडा, हाँस वा कुखुरा जस्ता पशुपक्षीहरू काटेर रगत चढाउने प्रथा सुरु भयो।यसलाई 'पशुबलि' भनिन्छ। 

के पशुबलिप्रथा रोक्न सकिन्छ?अनि रोकिँदा कस्तो असर पर्छ त? राज्यले प्रशासनिक संयन्त्रको प्रयोग गरेर यसलाई अबैध घोषणा त गर्न सक्छ तर त्यसलाई धार्मिक कट्टरताले ठूलो चुनौती दिनेछ । कुनै सम्प्रदायले समर्थन गर्लान तर सनातनीहरु जस्ले यो परम्परा अपनाई रहेका छन उनीहरु यसलाई मान्न तयार हुने छैनन । 

ग्रामीण किसानको अर्थतन्त्रमा पनि यसमा गरिएको बन्देजले खासै असर पार्दैन । बलिप्रथा रोकिनुको अर्थ अब सबै पशु पंछीले अकालमा मर्न र मारिनु पर्दैन भन्ने होइन । देबी देबताका नाममा पवित्र मन्दिरहरुमा विभत्स रक्तपात बन्द गर्नुमात्र हो । यसो गर्दा जोखिम बेहोर्नु पर्छ तर बेफाईदा कसैलाई केहिपनि हुँदैन । मन्दिरहरुको पबित्रता अझसुदृढ हुन्छ । ईश्वर प्रतिको प्रेम अझै गाढा हुन्छ । 

मानिस र ईश्वरका बिच रहेको बलिप्रथाको तगारो हटाउन सके धर्मप्रतिको एउटा ठूलो स्थापित कलङ्क हट्नेछ । धर्म क्षणिक बिबादमा पर्छ तर केहि समयमा बिबाद मुक्त हुनेछ । सन् ७० मा रोमन साम्राज्यद्वारा जेरुसेलमको मन्दिर ध्वस्त पारिएपछि यहुदी धर्ममा पशुबलिको भौतिक प्रथा पूर्ण रूपमा बन्द भयो। अहिले यसको ठाउँ प्रार्थना र पवित्र ग्रन्थको अध्ययनले लिएको छ। यो रोक्नै नसकिने विषय हैन । 

दशैंको समयमा गरीने पशु हत्याको विरोध नाजायज छैन र त्यसको सान्दर्भिकता लाई नकार्न पनि सकिदैन । यो विषयलाई  विश्व परिवेसको सन्दर्भमा दाँजेर हेरिनु पर्छ ।  यो हत्या र हिंसाको क्रम  दशैंमा मात्र सिमित छैन । 

बलीप्रथा के हिन्दु धर्मको मात्र गलत विरासत हो त ?  बलीप्रथा केवल हिन्दु धर्ममा मात्र सीमित नभएर विश्वका प्रायः सबै प्राचीन धर्म, सभ्यता र संस्कृतिहरूमा कुनै न कुनै रूपमा रहिआएको देखिन्छ। मानवशास्त्रीहरूका अनुसार आदिम कालमा प्रकृतिप्रतिको भय, पापको प्रायश्चित्त, र ईश्वरलाई खुसी पार्ने चाहनाका कारण संसारभरि नै रगत चढाउने (Blood Sacrifice) परम्परा विकास भएको थियो। 

१.इस्लाम धर्ममा बलिको अभ्यास एउटा प्रमुख उत्सवका रूपमा अहिलेसम्म कायम छ। बकरइद पर्वमा मुस्लिम धर्मावलम्बीहरूले अल्लाहको नाममा खसी, बोका, भेडा वा ऊँटको कूर्बानी (बलि) दिने गर्छन्।यो बलि पैगम्बर इब्राहिमले आफ्ना छोरा इस्माइललाई अल्लाहको आदेशमा कुर्वान (बलि) गर्न तयार भएको र अल्लाहले उनको निष्ठा देखेर छोराको ठाउँमा दुम्बा (भेडा) प्रतिस्थापन गरिदिएको सम्झनामा गरिन्छ। यसको मासुलाई तीन भागमा बाँडेर गरिब, नातेदार र आफ्नो परिवारमा बाँड्ने नियम छ। 

२.यहुदीहरूको प्राचीन इतिहास र धार्मिक ग्रन्थ 'तोराह' (Torah) मा बलिलाई निकै महत्त्व दिइएको थियो। प्राचीन कालमा जेरुसेलमको 'सेकेन्ड टेम्पल' (Second Temple) मा यहुदीहरूले आफ्ना पापहरूको प्रायश्चित्त गर्न, शुद्धीकरणका लागि र ईश्वरलाई धन्यवाद दिनका लागि नियमपूर्वक थुमा (भेडा), बाख्रा र ढुकुरहरूको बलि चढाउने गर्थे । 

३. इसाई धर्मको जग नै बलिको अवधारणाको 'अन्त्य' माथि उभिएको मानिन्छ ।इसाई मान्यता अनुसार मानव जातिको पापमुक्तिका लागि येशू ख्रीष्टले क्रुस  मा आफ्नो रगत बगाएर 'अन्तिम र सर्वोच्च बलि' दिनुभयो।  येशूको सोही महाबलिका कारण अब मानिसले ईश्वरलाई कुनै पशुको बलि चढाउनु पर्दैन भन्ने विश्वास गरिन्छ। त्यसैले चर्चहरूमा भौतिक बलिको सट्टा येशूको रगत र शरीरको प्रतीकका रूपमा रोटी र दाखमद्य (रक्सी) ग्रहण गर्ने (Holy Communion) संस्कार गरिन्छ। 

४. नेपाल र वरपरका क्षेत्रमा रहेका किरात तथा विभिन्न जनजातिहरूको प्रकृति पूजक परम्परामा पनि बलिको बलियो उपस्थिति छ। भूमि पूजा, सुम्निमा-पारुहाङ, र कूल देवता हरूलाई खुसी पार्न कुखुरा, सुँगुर वा राँगाको बलि दिने परम्परा लामो समयदेखि चल्दै आएको छ। उनीहरू प्रकृतिका शक्ति र पितृलाई खुसी नपारे अनिकाल वा बिमारी हुने डरले यो प्रथा मान्दै आएका छन्। प्राचीन ग्रीक र रोमनहरूले जुस, मार्स वा एपोलो जस्ता आफ्ना देवी-देवताहरूलाई खुसी पार्न युद्ध जित्न, र कृषि उब्जनी बढाउन हात्ती, साँढे, घोडा र बोकाहरूको भव्य बलि दिने गर्थे।

मध्य अमेरिकाको एज्टेक र माया सभ्यतामा त मानव बलि (Human Sacrifice) चरम रूपमा रहेको थियो। उनीहरू सूर्यलाई जीवित राख्न र ब्रह्माण्डको सन्तुलन मिलाउन युद्धका बन्दीहरूको मुटु निकालेर देवतालाई चढाउने गर्थे। चलन हट्यो सूर्य र ब्रम्हाण्डमा केही सन्तुलन बिग्रेको छैन । कुप्रथा हटाएर धर्मलाई फाईदै पुग्छ ।

५. बौद्ध धर्म, जैन धर्म र सिख धर्मले बलिको प्रथालाई सुरुदेखि नै पूर्ण रूपमा अस्वीकार र निषेध गरे। जैन र बौद्ध धर्मको मुख्य सिद्धान्त नै 'अहिंसा' भएकाले उनीहरूले पशुहत्यालाई महापाप माने र यसले गर्दा हिन्दु धर्मको वैदिक कालपछिको कालखण्डमा पनि पशुबलि कम गर्न ठूलो सघाउ पुग्यो। 

बलिप्रथा धार्मिक संस्कारमा मानिसलाई लडाकु र क्रुर बनाउन चलाईएको एउटा राजनीतिक हतियार भन्न मिल्छ वा मिल्दैन ? मानिसको सामान्य मानसिकता हिंसा मननपराउने नै हुन्छ । रगत बगेको सामान्य मानिसले हेर्न सक्दैन । मानिसलाई धार्मिक रुपमा क्रुर बनाएर धार्मिक युद्धमा भिडाउनका लागि मनोबैज्ञानिक त्रास र आसमा दिमाग भुट्नकै  लागि पनि बली प्रथाले राम्रै भूमिका खेल्न सक्छ । युद्धमा जानुअघि वा राज्यको सुरक्षाका लागि सैनिकहरूमा रगत देख्दा तर्सिने भय हटाउन र उनीहरूलाई मानसिक रूपमा बलियो लडाकु बनाउन शक्ति पूजा र पशुबलिलाई प्रोत्साहन दिइएको इतिहास पाइन्छ।

बलिप्रथा सुरु हुनुको पछाडि आदिम सामाजिक मनोविज्ञान र धार्मिक अन्धविश्वास मुख्य कारण थिए। तर, पछि आएर राजा, महाराजाहरू र सामन्ती शासकहरूले यसलाई आफ्नो राजनीतिक स्वार्थ, सैनिकहरूलाई निडर (लडाकु) बनाउन र सत्ता टिकाउनका लागि भरपूर उपयोग गरे भन्ने कुरालाई नकार्न सकिँदैन। त्यसैले, यो प्रथा आफैंमा राजनीतिक हतियारका रूपमा जन्मिएको नभए पनि, इतिहासको विभिन्न कालखण्डमा यसलाई राजनीतिक हतियारको रूपमा 

दुरुपयोग भने पक्कै गरिएको हो

नाम धर्मको भए पनि यसको भित्रि मनसाय धर्मलाईनै बिबादमा फसाउने नै देखिएको छ । यस सम्बन्धमा भएका विभिन्न सांस्कृतिक, धार्मिक तथा समाजशास्त्रीय शोध र विश्लेषणहरूले यसका बहुआयामिक पक्षहरूलाई केलाएका छन्। विशेष गरी हिन्दु धर्मशास्त्रका व्याख्याताहरुले मानव सभ्यताको विकासक्रम र समाजशास्त्रीय दृष्टिकोणका आधारमा पशुहत्याको आरोपलाई नकार्दै प्रतिकात्मक अर्थमा यस्को व्याख्या गरेको छ ।

आधुनिक आध्यात्मिक विश्लेषकहरूका अनुसार शास्त्रमा उल्लेखित 'पञ्चबली' (बोका, राँगो, भेडा, कुखुरा, हाँस) को वास्तविक अर्थ प्राणी हत्या नभई मानिसभित्र रहेका काम, क्रोध, लोभ, मोह र ईर्ष्या जस्ता पशुवत् भावनाहरूलाई त्याग्नु हो। धार्मिक अध्येताहरु र आधुनिक विचारकहरूले यो प्रथालाई मानव सभ्यताकै लागि एक कलङ्क र क्रूरताको रूपमा व्याख्या गर्दै यसको विकल्पमा नरिवल, कुभिण्डो वा अन्य फलफूल चढाउने पद्धति अपनाउन जोड दिएका छन । 

वेदान्त, उपनिषद् र भगवद्गीता जस्ता हिन्दु धर्मका सर्वोच्च दर्शनहरूले 'अहिंसा परमो धर्मः' (अहिंसा नै सबैभन्दा ठूलो धर्म हो) र सात्त्विक जीवन पद्धतिलाई जोड दिएका छन्। बलिप्रथा वेदको मूल मर्म नभई पछिका कालखण्डमा भित्रिएका विकृति वा स्थानीय संस्कृतिहरूको सम्मिश्रण हो। इतिहासको पाना पल्टाउँदा संसारका धेरै प्राचीन सभ्यताहरू (जस्तै: अमेरिकाको एज़्टेक र माया सभ्यता, प्राचीन इजिप्ट, र मेसोपोटामिया) मा विभिन्न कालखण्डमा देवतालाई खुसी पार्न वा प्राकृतिक प्रकोपबाट बच्न मानव बलि दिइने गरेको तितो सत्य छ। 

प्राचीन र मध्यकालीन नेपालका कतिपय शक्तिपीठहरू र तान्त्रिक अनुष्ठानहरूमा 'नरबलि' दिइने गरिएका ऐतिहासिक कथाहरू सुन्न पाइन्छ। काठमाडौँको नरदेवी मन्दिर लगायतका केही स्थानको प्राचीन इतिहास यसैसँग जोडिएको जनविश्वास छ। यस बाट प्रष्ट हुन्छ यो प्रथा नितान्त अन्धोपन पाखण्ड र भ्रमको शिकारमा रहेका आडम्बरीहरुले परम्पराका नाममा चलाई रहेको घृणित प्रचलन हो । 

धर्मका नाममा गरीने जुन सुकै प्राणी हत्यालाई जायज मान्न सकिदैन । यसको अन्त्यका लागि भएका प्रयासलाई धर्म र परम्पराका नाममा बाधा पुर्याउनेहरुको पाखण्डीपनले अन्तत धर्मलाईनै संकटमा पारी रहेको छ । धर्मसंग यसको कुनै सम्बन्ध छैन र पनि जबरजस्ती सम्बन्ध देखाउने काम भैरहेको छ । यसलाई समर्थन गर्न सकिदैन । त्यसैले बलिप्रथा रोक्न पूर्ण रूपमा सम्भव नभए पनि यसलाई कानुनी, सामाजिक र सचेतनामूलक प्रयासहरू मार्फत धेरै हदसम्म न्यूनीकरण गर्न र क्रमिक रूपमा रूपान्तरण गर्न सम्भव छ। त्यसैमा लागौं ।

बुधबार, ०४ कार्तिक २०८३, ०७ : ११

प्रतिक्रिया