काठमाडौं- नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरी हर्षोल्लासका साथ मनाइँदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटको शुभ साइतमा विधिपूर्वक देवी विसर्जन गरिन्छ । त्यसैगरी, टीका लगाउनका लागि बिहान १० बजेर २६ मिनेटको समय उत्तम साइतका रूपमा रहेको छ । टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने समितिले जनाएको छ ।
घटस्थापनादेखि विधिपूर्वक स्थापना गरिएको जमरा र रातो टीका आज घरका मूल मानिस तथा ज्येष्ठ सदस्यबाट लगाई आशीर्वाद लिने गरिन्छ । यस अवसरमा बन्धु-बान्धवहरूका साथ बसेर भगवतीको प्रसाद ग्रहण गर्ने परम्परा छ । दसैँको टीकाले टाढा-टाढा रहेका परिवारका सदस्यहरूलाई एकै ठाउँमा जोड्ने काम गर्दछ । यस पर्वले परिवारका सदस्यहरूबिच आपसी प्रेम, सम्मान, मेलमिलाप र सद्भाव अभिवृद्धि गर्नुका साथै आफन्त, छिमेकी र सिङ्गो समुदायबिच समेत भाइचाराको भावना बलियो बनाउँछ ।
विजयादशमीको धार्मिक तथा पौराणिक पक्षलाई मार्कण्डेय पुराणअन्तर्गत ‘देवीमाहात्म्य’ मा विशेष रूपमा वर्णन गरिएको छ । जसमा चण्डीपाठ, देवीको महिमा, दानवी शक्तिविरुद्धको सङ्घर्ष र धर्मको रक्षासम्बन्धी प्रसङ्ग तथा देवी दुर्गाको विजयको स्मरण गरिएको छ । नवरात्रभर गरिएको धार्मिक साधनाको समापन गर्दै ज्येष्ठ सदस्यहरूसँग टीका र जमरा लगाई आशीर्वाद लिने परम्परा यसैमा आधारित छ ।
धार्मिक मान्यताअनुसार, विजयादशमीलाई देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको र भगवान् श्रीरामले रावणमाथि विजय हासिल गरेको दिनका रूपमा मनाइन्छ। त्यसैले दसैँको टीका लगाउँदा जीवनमा सधैँ सत्य, धर्म र सदाचारको विजय होस् भन्ने धार्मिक भावना जोडिएको हुन्छ ।
दसैँमा लगाइने रातो टीकालाई शक्ति, विजय, सौभाग्य र मङ्गलको प्रतीक मानिन्छ भने जमराले उर्वरता, जीवनशक्ति र समृद्धिको सङ्केत गर्दछ । यस दिन जलले अभिषेक गरी भगवतीलाई चढाइएको रातो तथा सेतो वस्त्रलाई प्रसादको रूपमा घाँटीमा लगाउने परम्परा समेत रहेको छ ।
दशैका आशिषहरुः
ॐ आयूद्रोण सुते श्रीयं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यँ नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
दानं सूर्यसुते बलं हलधरे सत्यं च कुन्ती सुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
अर्थ
अश्वत्थामाको समान लामो आयु , राजा दशरथका समान ख्याति, राम चन्द्रका समान शत्रुलाई परास्त गर्ने क्षमता, राजा नहुषका समान ऐश्वर्य , वायुको समान वेग , दुर्योधनको जस्तै मान–सम्मान , सूर्यपुत्र कर्णका समान दानी ,बलरामका समान बलशाली , कुन्ती पुत्र युधिष्ठिरका समान सत्यवादी , विदुरका समान नीतिज्ञ र भगवान नारायणका समान कीर्तिशाली बन्न सकियोस् ।
भद्रमस्ति शिवं चास्तु महालक्ष्मी प्रसीदतु
रक्षतु त्वां सदा देवा आशिषः सन्तु सर्वदा
अर्थ
कल्याण होस् , महालक्ष्मी प्रसन्न हुनुहोस् , देवताहरुले सधै रक्षा गरिरहुन् , सधै महापुरुषहरूको आशीर्वाद लागिरहोस् ।
जयन्ति मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।
जयन्ति, मङ्गला, काली ,भद्रकाली ,कपालिनी ,दुर्गा ,क्षमा , शिवा , धात्री , स्वाहा , स्वधा , नामले प्रसिद्ध तिमिलाई नमस्कार छ ।
जय त्वं देवी चामुन्डे जय भूतार्तिहारिणी
जय सर्वगते देवी कालरात्रि नमोऽस्तुते
देवी, चामुन्डे १ तिम्रो जय होस्, सम्पूर्ण प्राणीको दुःख हरण गर्ने जगदम्बे १ तिम्रो जय होस्, सबमा व्यापक रहनेवाली देवी १ तिम्रो जय होस् हे कालरात्रि १ तिमिलाई नमस्कार छ ।
सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके
शरण्येत्र्यम्बके गौरि नारायणी नमोऽस्तुते
सब मङ्गलमा माङ्गल्यरुप,कल्याण स्वरुपिणी सर्वार्थ सिद्ध गर्ने शरणागतलाई शरण लिने, तीन नेत्रवाली हे गौरी, नारायणी १ तिमीलाई नमस्कार छ ।
प्रतिक्रिया