फाइल फोटो
काठमाडौँ- यमपञ्चकको तेस्रो दिन आज घर–घरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी ‘गौमाता’का रूपमा सम्मान र पूजा गर्ने परम्परा रहिआएको छ ।
तिहारको औँसीको दिन आज गाईलाई धनकी देवी लक्ष्मीको प्रतीकका रूपमा पूजा गरी घरमा सुख, शान्ति, शुभता र समृद्धिको कामना गरिन्छ । ऋग्वेद र अथर्ववेदमा गाईलाई धन, स्वास्थ्य र समृद्धिको प्रतीक तथा मातृ स्वरूप सम्मानयोग्य प्राणीका रूपमा व्याख्या गरिएको छ । गाईको शरीरमा सम्पूर्ण देवीदेवताको वास हुने धार्मिक विश्वास छ ।
गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले पनि गाईलाई मातृ स्वरूप मानिएको हो। पूजा तथा धार्मिक अनुष्ठानहरूमा गाईको दूध, गोबर र गोमूत्रबाट पञ्चगव्य बनाउने गरिन्छ। आजको दिन गाईलाई पूजा गरी मीठा परिकार खान दिनाले घरपरिवारमा सुख र समृद्धि प्राप्त हुने जनविश्वास छ। साथै, साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले वैतरणी नदी तारिदिने धार्मिक मान्यतासमेत रहेको छ ।
भगवान् श्रीकृष्णको जीवन पनि गाई र गोपाल संस्कृतिसँग अभिन्न रूपमा जोडिएकाले हिन्दु समाजमा गाईप्रतिको श्रद्धा उच्च रहेको पाइन्छ। गाईपूजाले मानिसमा पशुप्रति दया, माया र संरक्षणको भावना विकास गराउन प्रेरित गर्दछ ।
प्रतिक्रिया