काठमाडौँ- पूर्वऊर्जामन्त्री जनार्दन शर्माले ‘उज्यालो नेपाल अभियान’ सुरु भएको १० वर्ष पूरा भएको अवसरमा अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान गर्ने सम्पूर्ण नेपालीप्रति आभार व्यक्त गरेका छन्।
शर्माले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै अभियानमा साथ दिने नेपाली नागरिक, सहयोगी टोली तथा सम्पूर्ण शुभेच्छुकलाई धन्यवाद दिएका हुन्।
वर्षौँदेखि कायम रहेको अन्धकार अन्त्य गरी देशलाई उज्यालोतर्फ अघि बढाउने अभियानमा सामूहिक प्रयासको महत्त्वपूर्ण भूमिका रहेको उनले बताएका छन्।
‘सबैको साझा प्रयासले नै अँध्यारोमाथि उज्यालोको विजय सम्भव भएको हो,’ शर्माले भिडियो सन्देशमा भनेका छन्।
यसैबीच, शर्माले लक्ष्मीपूजा तथा दीपावलीको अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। उनले विगतका दिनहरूको स्मरण गर्दै एक जना साथीले उपहारस्वरूप पठाएको भिडियोसमेत सबै नेपालीप्रति समर्पित गरेको उल्लेख गरेका छन्।
उज्यालो नेपाल अभियानले एक दशक पूरा गरेको अवसरमा शर्माले अभियानको सफलतामा योगदान पुर्याउने सबैलाई धन्यवाद दिँदै सामूहिक एकता, सहकार्य र साझा प्रयासको महत्त्वलाई पुनः स्मरण गराएका छन्।
प्रतिक्रिया