चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछस् प्रदेश प्रमुख देवकोटा

आइतबार, २२ कार्तिक २०८३, १३ : १३

काठमाडौं- बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालीका मौलिक चाडपर्वले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन् ।

नेपाल संवत् ११४७, भाइटीका तथा छठ पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले विविध भाषा, धर्म र संस्कृतिले सम्पन्न नेपाली समाजमा चाडपर्वले आपसी एकता र सहअस्तित्वलाई प्रगाढ बनाउने उल्लेख गरेका छन् ।

प्रदेश प्रमुख देवकोटाले तिहारलाई अन्धकारमाथि उज्यालो र निराशामाथि आशाको विजयको प्रतीकका रूपमा उल्लेख गर्दै नेपाल संवत् नेपालीको मौलिकता, स्वाभिमान र सांस्कृतिक पहिचानको महत्वपूर्ण धरोहर रहेको बताए ।

उनले नेवार समुदायको म्हपूजाले आत्मबोध, भाइटीकाले पारिवारिक सम्बन्ध तथा छठले प्रकृति र मानवबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उल्लेख गरे ।

राष्ट्रिय स्वाभिमान, एकता र सहअस्तित्वलाई आत्मसात् गर्दै अघि बढ्नु आजको आवश्यकता रहेको बताउँदै प्रदेश प्रमुख देवकोटाले यी पर्वले शान्त, सभ्य र समृद्ध नेपाल निर्माणमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

आइतबार, २२ कार्तिक २०८३, १३ : १३

प्रतिक्रिया