टिप्पणी

इरान युद्धबाट ध्यान मोड्न ट्रम्पको अर्को फण्डा

शुक्रबार, २७ कार्तिक २०८३, १४ : ३०

काठमाडौं - मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय व्यहोरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रक्षात्मक बनेका छन् । उनले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धबाट ध्यान हटाएर भ्रष्टाचार र अपराधविरुद्धको अभियानमा केन्द्रित हुन निर्देशन दिएका छन्। इरान युद्धको आर्थिक तथा राजनीतिक प्रभावलाई लिएर आलोचना बढिरहेका बेला ट्रम्पको यस्तो निर्देशन आएको हो।


ट्रम्पले इरानसँग सम्झौता गर्न आवश्यक नरहेको दाबी गर्दै अमेरिकाले आफ्नो पैसा फिर्ता पाइसकेको र हर्मुज जलघाँटीमाथि नियन्त्रण प्राप्त गरेको बताएका छन्। यद्यपि, आवश्यक परे इरानमाथि सैन्य आक्रमण पुनः सुरु गर्न आफू तयार रहेको पनि उनले स्पष्ट पारेका छन्।


युद्ध अन्त्यका लागि वार्ताको नेतृत्व गरेका भान्सले निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोर्नुको एउटा कारण इरान युद्ध भएको टिप्पणी गरेका थिए। युद्धका कारण बढेको आर्थिक दबाब र त्यसको राजनीतिक प्रभावले ट्रम्प प्रशासनमाथि चुनौती थपिएको छ।


यसैबीच, इरानका मुख्य वार्ताकार तथा संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफले अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमार्फत प्रत्यक्ष वार्ताका लागि पहल गरेको दाबी गरेका छन्। तर, अमेरिकाले यस दाबीबारे स्पष्ट प्रतिक्रिया दिएको छैन।

वार्ताको प्रसंग चलिरहेकोबेला हर्मुज जलघाँटी आसपास तेल ट्याङ्करमाथि आक्रमणका घटना भने जारी छन्। बेलायती सेनाका अनुसार पछिल्ला दिनमा कम्तीमा दुईवटा तेल ट्याङ्कर प्रक्षेप्य आक्रमणमा परेका छन्। यसले खाडी क्षेत्रको समुद्री सुरक्षासँगै विश्व ऊर्जा आपूर्तिबारे चिन्ता थप बढाएको छ।
मध्यावधी निर्वाचनमा पराजय ब्यहोरेपछि ट्रम्पमा केही परिवर्तन आएको बताइएको छ । उनले सोचे जस्तो इरान युद्ध पनि नरहेकोले उनी पछिल्लो समय रक्षात्मक बनेका छन् । यद्यपी उनले बाहिर भने आफूलाई आक्रामक देखाउने प्रयास गरेका छन् । युद्धबाट ध्यान मोडेर खस्केको लोकप्रियता जोगाउन उनले भ्रष्टाचार विरुद्ध कदम चाल्न उपराष्ट्रपति भान्सलाई निर्देशन समेत दिएको स्रोतहरुले बताएका छन् ।  

शुक्रबार, २७ कार्तिक २०८३, १४ : ३०

प्रतिक्रिया