अपडेट

नेपाल टेलिकमको नाफा ३७ प्रतिशतले बढ्यो, तीन महिनामै कमायो १ अर्ब ८२ करोड

शनिबार, २८ कार्तिक २०८३, ०९ : ०९

काठमाडौं- नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.३५ प्रतिशतले बढी हो।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस वर्ष नाफा ४९ करोड ४९ लाख रुपैयाँले बढेको हो।

तर कम्पनीको सञ्चालन आम्दानीमा भने उल्लेख्य सुधार देखिएको छैन। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल टेलिकमले ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ थियो।

त्यस्तै, कम्पनीको कुल आम्दानी ९ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा कुल आम्दानी ९ अर्ब ४७ करोड १० लाख रुपैयाँ थियो। यसअनुसार कुल आम्दानीमा ६६ लाख ४६ हजार रुपैयाँको सामान्य वृद्धि भएको छ।

आम्दानीमा खासै सुधार नभए पनि खर्च घट्दा कम्पनीको खुद नाफा बढेको देखिन्छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको करअघिको नाफा २ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो नाफा २ अर्ब ८८ करोड २१ लाख रुपैयाँ थियो। यसअनुसार करअघिको नाफा ३.६५ प्रतिशतले बढेको छ।

यद्यपि, ब्याज, कर, ह्रासकट्टी तथा परिशोधनअघिको सञ्चालन नाफा (इबीआईटीडीए) भने घटेको छ। गत वर्षको पहिलो त्रैमासमा ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँ रहेको यस्तो नाफा यस वर्ष ४ अर्ब ४५ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ। यो ६.१३ प्रतिशतको गिरावट हो। कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ४५ पैसा रहेको छ।

बाढीपहिरो र डेटा प्याकेजले आम्दानीमा असर

नेपाल टेलिकमका अनुसार भोटेकोशी र बुढीगण्डकी क्षेत्रमा आएको बाढीपहिरोका कारण कम्पनीको सेवा तथा आम्दानी प्रभावित भएको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोपछि प्रभावित सेवाग्राहीलाई १७ दिनसम्म निःशुल्क डेटा तथा भ्वाइस सेवा उपलब्ध गराइएको थियो।

प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा अवरुद्ध हुनुका साथै व्यावसायिक गतिविधिमा समेत असर परेकाले सेवा बिक्रीबाट प्राप्त हुने आम्दानी घटेको कम्पनीले जनाएको छ।

त्यस्तै, कम मूल्यका तथा ठूलो आकारका मोबाइल डेटा प्याकेजको प्रयोग बढ्दा पनि सेवाबाट हुने आम्दानी प्रभावित भएको कम्पनीको भनाइ छ। यद्यपि, जीएसएम र एफटीटीएच सेवातर्फको सञ्चालन आम्दानी क्रमशः १० लाख १६ हजार र ४ करोड ४० लाख रुपैयाँले बढेको छ।

खर्च घट्दा नाफामा सुधार

कम्पनीका अनुसार चालु आर्थिक वर्षमा कर्मचारीको तलब वृद्धि हुँदा कर्मचारी खर्च बढेको छ। तर ह्रास खर्च घट्नु र मूल्यह्रास क्षति फिर्ता समायोजन हुनुका कारण कम्पनीको कुल खुद खर्च ४८ करोड १२ लाख रुपैयाँ अर्थात् ५.९० प्रतिशतले घटेको छ।

आम्दानीमा उल्लेख्य वृद्धि नभए पनि खर्च नियन्त्रणमा आउँदा खुद नाफा बढाउन सहयोग पुगेको वित्तीय विवरणले देखाएको छ। यसरी नेपाल टेलिकमको पहिलो त्रैमासिक वित्तीय नतिजामा नाफा बढेको देखिए पनि सञ्चालन आम्दानी र इबीआईटीडीएमा भने अपेक्षित सुधार हुन सकेको छैन।

शनिबार, २८ कार्तिक २०८३, ०९ : ०९

प्रतिक्रिया