सेयर बजार

तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

शुक्रबार, २७ कार्तिक २०८३, १५ : ५९

काठमाडौं- तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। साताको एक मात्रै कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको हो।

कारोबारका क्रममा नेप्से परिसूचक २६५६ विन्दुसम्म पुगे पनि अन्तिम समयमा त्यसलाई कायम राख्न सकेन। बजार बन्द हुँदा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ।

शुक्रबार १६० कम्पनीको सेयर मूल्य घट्दा ११० कम्पनीको मूल्य बढेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.५८ अंकले घटेर ४७९.५४ विन्दुमा झरेको छ।

यस दिन कारोबारमा आएका १३ उपसूचकमध्ये ९ वटामा गिरावट आएको छ भने ४ वटा उपसूचक मात्रै बढेका छन्।

बजार परिसूचक घटे पनि कारोबार रकम भने ३ अर्ब रुपैयाँभन्दा माथि रहेको छ। शुक्रबार ३३५ कम्पनीका ७८ लाख ४४ हजार २६७ कित्ता सेयर ३१ हजार ३२३ पटक खरिदबिक्री भएका छन्।

यसबाट कुल ३ अर्ब ५ करोड ४२ लाख ७४ हजार ७२५ रुपैयाँको कारोबार भएको छ।

शुक्रबार, २७ कार्तिक २०८३, १५ : ५९

प्रतिक्रिया