काठमाडौं- राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई महत्वपूर्ण खेल हुँदैछन्। प्लेअफको समीकरणलाई निर्णायक प्रभाव पार्ने दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्।
आज दिउँसो १२ बजे हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। यस्तै, साँझ ५ बजे सुरु हुने दोस्रो खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजको सामना गर्नेछ।
समान ८ अंक जोडेको काठमाडौं र सुदूरपश्चिम क्रमशः अंकतालिकाको दोस्रो र तेस्रो स्थानमा छन्। आजको खेल जित्ने टोलीले प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्नेछ। त्यसैले दुवै टोली जित निकाल्दै अर्को चरणको यात्रा सुनिश्चित गर्ने लक्ष्यमा मैदान उत्रनेछन्।
उता, प्लेअफको सम्भावना कायम राख्न जनकपुर र चितवनलाई पनि आजको खेल जित्नैपर्ने दबाब छ। पाँच खेलबाट पाँच अंक जोडेको चितवनका लागि बाँकी खेलमा जित निकाल्नु अनिवार्यजस्तै बनेको छ।
अन्तिम खेल खेल्न लागेको जनकपुरको अवस्था भने थप चुनौतीपूर्ण छ। चार अंक जोडेको जनकपुरले आज जित हासिल गरे पनि ६ अंकमा पुग्नेछ। तर, प्लेअफमा पुग्ने सम्भावना कायम राख्न उसले अन्य टोलीको नतिजामा समेत भर पर्नुपर्नेछ। त्यसैले आजका दुवै खेलले एनपीएलको प्लेअफ समीकरण थप रोचक बनाउने देखिएको छ।
प्रतिक्रिया