एनपिएल क्रिकेटः जनकपुरले टस जित्यो

विहीबार, १९ कार्तिक २०८३, १२ : ३९

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा भर्खरै भएको टसमा जनकपुरका कप्तान हर्मित सिंहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । यससँगै लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ । यस सिजनको खेलमा लुम्बिनी अपराजित टोली हो । 
    
रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले ३ खेलबाट ५ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । आज जनकपुरलाई हराउँदै लुम्बिनी शीर्ष स्थान कायम राख्ने योजनामा छ । 

साविक विजेतासमेत रहेको लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । 

त्यस्तै, दोस्रो खेल वर्षाका कारण रद्द भएपछि चितवन राइनोजसँग अंक बाँडेको थियो भने तेस्रो खेलमा पोखरा एभेन्र्जसलाई ८ विकेटले हराएको थियो । 

यता पहिलो संस्करणको विजेता जनकपुरले पनि लुम्बिनीलाई हराउँदै प्रतियोगिताको शीर्ष स्थानमा उक्लने दाउमा छ । चार खेलबाट २ खेलमा जित तथा दुई खेलमा हार बेहोरेको जनकपुरले ४ अंक जोेडेको छ । जनकपुर अंक तालिकाको चौथो स्थानमा छ । 
 
काठमाडौँ गोर्खाजलाई ८ विकेट र पोखरा एभेन्जर्सलाई ९ रनले हराएको जनकपुर कर्णाली याक्ससँग १९ रन तथा विराटनगर किङ्ग्ससँग दुई रनले पराजित भएको थियो । 

विहीबार, १९ कार्तिक २०८३, १२ : ३९

प्रतिक्रिया