काठमाडौँ- बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसँगै बढ्दै गएका साइबर जोखिम, डेटा गोपनीयता तथा नियमनकारी चुनौती न्यूनीकरण गर्ने उद्देश्यले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल (सीएसआरआई नेपाल) ले ‘ग्लोबल एआई रिसर्च ग्रान्ट २०२६’ घोषणा गरेको छ ।
नेपालको पहिलो एआई तथा साइबर सुरक्षा अनुसन्धान संस्थाका रूपमा परिचित सीएसआरआई नेपालले बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्रलाई लक्षित गरी अनुसन्धान अनुदान कार्यक्रम अघि सारेको हो । वित्तीय क्षेत्रमा एआईको बढ्दो प्रयोगलाई सुरक्षित, नैतिक र विश्वसनीय बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको संस्थाले जनाएको छ ।
काठमाडौँमा हालै आयोजित एक कार्यक्रममा संस्थाले अनुदान कार्यक्रमको उद्देश्य र प्राथमिकताका क्षेत्र सार्वजनिक गरेको हो । अनुसन्धानकर्ता, नियमनकारी निकाय र वित्तीय क्षेत्रबीच सहकार्य विस्तार गर्दै नेपाललाई सुरक्षित तथा सबल एआई प्रविधिको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य संस्थाले लिएको छ ।
सीएसआरआई नेपालका अध्यक्ष डा. शालिग्राम पराजुलीका अनुसार अनुसन्धान अनुदानले वित्तीय क्षेत्रका चार प्रमुख आयामलाई प्राथमिकता दिएको छ । यसअन्तर्गत डिजिटल ठगी नियन्त्रण, ग्राहकको डिजिटल परिचय चोरी रोकथाम र स्वचालित वित्तीय कारोबारलाई सुरक्षित बनाउन उन्नत एआई प्रणाली विकास गरिनेछ ।
त्यस्तै, ग्राहकको गोपनीयता कायम राख्दै वित्तीय विवरण प्रशोधन गर्न ‘फेडरेटेड लर्निङ’ जस्ता आधुनिक प्रविधिको प्रवर्द्धन गरिनेछ । यसबाट नेपालका युवा डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा साइबर सुरक्षाविद्लाई व्यावहारिक अनुसन्धानको अवसर प्रदान गर्नुका साथै स्वदेशमै दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममार्फत नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायलाई अनुसन्धानमा आधारित सुझाव उपलब्ध गराई तथ्यपरक नीति निर्माणमा सहयोग पुर्याउने लक्ष्यसमेत राखिएको अध्यक्ष डा. पराजुलीले जानकारी दिए ।
यस अनुसन्धान अनुदानको अवधारणात्मक ढाँचा सीएसआरआई नेपालका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारी, सीएसआरआई नेपालका वरिष्ठ उपाध्यक्ष प्रा.डा. गजेन्द्र शर्मा, सचिवद्वय सरला कार्की र बन्दना शर्मा, कार्यसमिति सदस्य शान्तिकला सुवेदी तथा सदस्य संगम न्यौपानेले संयुक्त रूपमा तयार पारेका हुन् ।
संस्थाले अनुदान कार्यक्रमअन्तर्गत चारवटा अनुसन्धान क्षेत्र निर्धारण गरेको छ । पहिलो, ‘एआई थ्रेट इन्टेलिजेन्स’ अन्तर्गत एआईमा आधारित साइबर खतराको वास्तविक समयमै निगरानी गरी बैंक तथा वित्तीय संस्थाका लागि स्वचालित खतरा पहिचान प्रणाली विकास गरिनेछ ।
दोस्रो, ‘डेटा गभर्नेन्स’ अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित र गोपनीयतामैत्री वित्तीय तथ्यांक प्रशोधन प्रणाली तयार गरिनेछ । तेस्रो, वित्तीय ठगी नियन्त्रणका लागि शंकास्पद कारोबारको पूर्वानुमान गरी सम्भावित आर्थिक नोक्सानी रोक्ने प्रणाली विकास गरिनेछ ।
त्यसैगरी, चौथो अनुसन्धान क्षेत्रका रूपमा ‘नैतिक एआई’ लाई समेटिएको छ । यसअन्तर्गत कर्जा मूल्यांकन तथा बैंकिङ सेवामा प्रयोग हुने एआई प्रणालीलाई पारदर्शी, निष्पक्ष र जवाफदेही बनाउने लक्ष्य राखिएको छ ।
सीएसआरआई नेपालका अनुसार यस कार्यक्रमले परम्परागत सुरक्षा प्रणालीलाई पूर्वानुमानमा आधारित स्वचालित सुरक्षा प्रणालीमा रूपान्तरण गर्न सहयोग पुर्याउनेछ । यसबाट ग्राहकका संवेदनशील वित्तीय विवरणको सुरक्षा, बैंक तथा वित्तीय संस्थाप्रतिको विश्वास अभिवृद्धि र सञ्चालन खर्च न्यूनीकरणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, केन्द्रीय बैंकका निर्देशन तथा अन्तर्राष्ट्रिय साइबर सुरक्षा मापदण्ड पालना गर्न वित्तीय संस्थालाई प्राविधिक सहयोग पुग्ने संस्थाको विश्वास छ । विदेशी प्रविधि र अनुसन्धानमाथिको निर्भरता घटाउँदै स्वदेशमै अनुसन्धान तथा विकासको वातावरण निर्माण गर्न पनि यो पहल महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
यसले विश्वविद्यालयका अनुसन्धानकर्तालाई वित्तीय क्षेत्रका वास्तविक समस्या समाधानमा जोड्नुका साथै अन्तर्राष्ट्रिय विज्ञसँगको सहकार्यबाट ज्ञान तथा प्रविधि हस्तान्तरणमा समेत सहयोग पुग्ने संस्थाले जनाएको छ ।
प्रतिक्रिया