भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदै, द्विपक्षीय सम्बन्धबारे छलफल हुने

बुधबार, १८ कार्तिक २०८३, ०९ : ४०

काठमाडौं- भारतका विदेश सचिव विक्रम मिस्री आज नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबीच द्विपक्षीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हित र चासोका विविध विषयमा विचार आदानप्रदान हुने कार्यक्रम छ ।

दुई देशबीच लामो समयदेखि कायम रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले भ्रमण हुन लागेको मन्त्रालयले जनाएको छ ।

नेपाल बसाइका क्रममा भारतीय विदेश सचिव मिस्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाटसमेत गर्नेछन् ।

दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी उनी कात्तिक १९ गते काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बुधबार, १८ कार्तिक २०८३, ०९ : ४०

प्रतिक्रिया