नेप्से

नेप्सेको सीईओ नियुक्ति प्रक्रिया अन्योलमै, सरकार अझै अनिर्णित

बुधबार, १८ कार्तिक २०८३, ०९ : ३५

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया सुरु भएको लामो समय बितिसक्दा पनि सरकारले नयाँ नेतृत्व चयन गर्न सकेको छैन। उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता सम्पन्न भइसके पनि नियुक्ति प्रक्रिया भने अन्योलमै छ।

लामो समयपछि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले समेत नेप्सेको सीईओ नियुक्तिबारे कुनै निर्णय गर्न सकेन। यसअघि छनोट समितिका संयोजक महेश आचार्यले तिहारअघि नै नयाँ सीईओ नियुक्त हुने बताएका थिए। तर, तिहार नजिकिँदै गर्दा पनि नियुक्ति प्रक्रिया टुंगिन सकेको छैन।

नेप्सेको सीईओ पदका लागि आठ जनाले आवेदन दिएका थिए। तीमध्ये चार जनालाई संक्षिप्त सूचीमा समावेश गर्दै कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट गरिएको थियो। छनोटमा पर्नेहरूमा प्रताप सुवेदी, अनिलराज पौडेल, नवराज सापकोटा र नारायणप्रसाद सापकोटा रहेका छन्। चारै जनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता सम्पन्न भइसकेको छ।

नियुक्तिसम्बन्धी कार्यविधिअनुसार छनोट तथा सिफारिस समितिले चार उम्मेदवारमध्ये मूल्यांकनका आधारमा उत्कृष्ट तीन जनाको नाम अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्नेछ। त्यसपछि मन्त्रिपरिषद्ले सिफारिस भएका तीन जनामध्येबाट एक जनालाई सीईओ नियुक्त गर्ने व्यवस्था छ। तर, अहिलेसम्म सिफारिस तथा नियुक्तिको प्रक्रिया अघि बढ्न सकेको छैन।

नेप्सेका तत्कालीन सीईओ चूणमणि चापागाईंले २०८३ असार २२ गते राजीनामा दिएपछि उक्त पद रिक्त छ। उनको राजीनामापछि नयाँ नेतृत्व नियुक्त हुन नसक्दा नेप्से लामो समयदेखि कामचलाउ नेतृत्वका भरमा सञ्चालन हुँदै आएको छ।

यसअघि नियुक्ति प्रक्रिया अघि बढाउने क्रममा धितोपत्र बजार सञ्चालनसम्बन्धी कानुनी तथा नियामकीय व्यवस्थाका विषयमा समेत अन्योल देखिएको समाचार सार्वजनिक भएका थिए। यद्यपि, अहिले नियुक्ति प्रक्रिया रोकिएको वास्तविक कारणबारे सरकार वा अर्थ मन्त्रालयले आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

चारै जना उम्मेदवारको अन्तर्वार्ता सम्पन्न भइसकेको अवस्थामा अब उत्कृष्ट तीन जनाको नाम सिफारिस गर्ने र मन्त्रिपरिषद्बाट अन्तिम निर्णय गर्ने प्रक्रिया मात्र बाँकी छ। यस्तो अवस्थामा समेत सरकारले नियुक्ति टुंग्याउन नसक्दा सरकारी कार्यसम्पादनमाथि प्रश्न उठ्न थालेको छ।

सुशासन र सार्वजनिक संस्थामा समयमै पदपूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरेको नयाँ सरकारले पुँजी बजारको महत्वपूर्ण संस्थामा समेत नेतृत्व चयन गर्न नसक्नुले उसको कार्यशैलीमाथि प्रश्न उठाएको छ।

दैनिक अर्बौँ रुपैयाँको कारोबार हुने र लाखौँ लगानीकर्ता आबद्ध रहेको पुँजी बजारको प्रमुख पूर्वाधार संस्था नेप्सेमा पूर्णकालीन नेतृत्व नहुँदा दीर्घकालीन योजना, संस्थागत सुधार तथा प्रविधिगत विकासका काम प्रभावित हुन सक्ने देखिन्छ। त्यसैले सरकारले कहिलेसम्म नयाँ सीईओ नियुक्त गर्छ भन्ने विषय लगानीकर्ताका लागि चासो र प्रतीक्षाको विषय बनेको छ।
 

बुधबार, १८ कार्तिक २०८३, ०९ : ३५

प्रतिक्रिया