नेप्से अपडेट

नेप्से घट्दा पनि बजारमा उत्साह, एकै दिन ८ अर्ब ८९ करोडको कारोबार

शुक्रबार, १३ कार्तिक २०८३, १६ : २०

काठमाडौं- लगातार उकालो लागिरहेको सेयर बजारमा शुक्रबार सामान्य गिरावट आएको छ। पछिल्लो समय बजार बढ्दै गएपछि लगानीकर्ताले नाफा सुरक्षित गर्न सेयर बिक्री बढाउँदा नेप्से परिसूचकमा करेक्सन देखिएको हो। यद्यपि, बजार घटे पनि कारोबार रकम भने साढे ६ महिनायताकै उच्च विन्दुमा पुगेको छ।

शुक्रबार नेप्से परिसूचक ५.४५ अंकले घटेर २ हजार ६९०.१५ विन्दुमा झरेको छ। तर, दिनभर ८ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यसअघि गत वैशाख ३ गते साढे ९ अर्ब रुपैयाँको कारोबार भएको थियो। बिहीबार भने ८ अर्ब ५७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।

आज ३४८ वटा धितोपत्रका २ करोड २८ लाख ६२ हजार ५५४ कित्ता सेयर खरिदबिक्री भएका छन्। कारोबारमा आएका कम्पनीमध्ये १०२ वटाको सेयर मूल्य बढेको छ भने १६९ वटाको मूल्य घटेको छ। त्यस्तै, ८ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।

शुक्रबार बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेको छ। यसको प्रतिकित्ता मूल्य ७०९ रुपैयाँ ७० पैसा पुगेको छ। स्वाभिमान लघुवित्तको सेयर मूल्य पनि १२.११ प्रतिशतले वृद्धि हुँदै प्रतिकित्ता १ हजार ५०० रुपैयाँ कायम भएको छ।

यसको विपरीत मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.०८ प्रतिशतले घटेर प्रतिकित्ता २५६ रुपैयाँमा झरेको छ। सुपर खुदी हाइड्रोपावरको मूल्य पनि ३.७८ प्रतिशतले घट्दै प्रतिकित्ता ७१२ रुपैयाँमा सीमित भएको छ।

कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक पहिलो स्थानमा रहेको छ। बैंकको प्रतिकित्ता ५५० रुपैयाँका दरले ३८ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यसको मूल्य अघिल्लो दिनको तुलनामा ७ प्रतिशतले बढेको हो।

त्यस्तै, शिवम् सिमेन्टको ३० करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कम्पनीको सेयर प्रतिकित्ता ७०५ रुपैयाँका दरले किनबेच भएको छ।

समूहगत परिसूचकतर्फ कारोबारमा आएका १३ समूहमा पाँच समूहको सूचक बढेको छ भने आठ समूहमा गिरावट आएको छ। विकास बैंक समूह सर्वाधिक १.६१ प्रतिशतले बढेको छ।

शुक्रबार, १३ कार्तिक २०८३, १६ : २०

प्रतिक्रिया