काठमाडौं- नेपाल सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष बालकुमार विश्वकर्मा (सुमन) नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको वस्तुगत परिषद् सदस्यमा मनोनीत भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले महासंघको विधान तथा प्रदेशको गठन तथा सञ्चालनसम्बन्धी नियमावलीअनुसार विश्वकर्मालाई वस्तुगत परिषद् सदस्यमा मनोनयन गरेको हो । महासंघ बागमती प्रदेशका अध्यक्ष वेदबहादुर श्रेष्ठद्वारा हस्ताक्षरित औपचारिक पत्रमार्फत उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो ।
मनोनयनसँगै विश्वकर्मालाई प्रदेशको उद्योग तथा वाणिज्य क्षेत्रसँग सम्बन्धित समस्या, सम्भावना र नीतिगत विषयमा हुने छलफल तथा बैठकमा सक्रिय सहभागिता जनाउँदै आवश्यक राय, सल्लाह र रचनात्मक सुझाव प्रस्तुत गर्न आग्रह गरिएको छ । महासंघले सम्बन्धित क्षेत्रको विकास र नीतिगत सुधारका लागि उनको सक्रिय भूमिका रहने अपेक्षा गरेको छ ।

लामो समयदेखि सुनचाँदी तथा गरगहना व्यवसायको विकास, व्यवसायीको हकहित संरक्षण र व्यावसायिक एकताका क्षेत्रमा क्रियाशील विश्वकर्माको मनोनयनलाई यस क्षेत्रको प्रतिनिधित्व र संस्थागत सहभागिताका दृष्टिले महत्वपूर्ण मानिएको छ ।
उनको नयाँ जिम्मेवारीले सुनचाँदी कला व्यवसायको प्रवर्द्धन, व्यवसायीले भोग्दै आएका समस्या समाधान, नीतिगत सुधार तथा समग्र निजी क्षेत्रको विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल सुनचाँदी कला व्यवसायी संघका अध्यक्षसमेत रहेका विश्वकर्मालाई महासंघ बागमती प्रदेशले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
_eht1WluNJS.jpg)
प्रतिक्रिया