भ्रष्टाचार मुद्दा

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७३ करोड ५० लाख बिगो दाबी

मंगलबार, १७ कार्तिक २०८३, १४ : १४

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक तथा हदबन्दीभन्दा बढीको जग्गा सट्टापट्टा र छुट दर्ता गराई भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिजको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टाका लागि मन्त्रिपरिषद्बाट निर्णय गराई बिक्री गरिएको तथा विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्ता गर्ने क्रममा अनियमितता भएको आरोप छ ।

यस प्रकरणमा तत्कालीन माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले जग्गा बिक्री तथा सट्टापट्टाका लागि दिएको सहमतिलाई समेत आधार बनाइएको छ । अख्तियारले प्रतिवादीहरूबाट कुल ७३ करोड ५० लाख रुपैयाँ बिगो असुल गर्न मागदाबी गरेको छ ।

आरोपत्रमा पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठ, पूर्वसचिव छविराज पन्त, पूर्वसहसचिव रमेशचन्द्र अधिकारी तथा तत्कालीन उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्ष्मण थापा, ध्रुव सापकोटा र शाखा अधिकृत बलराम निरौलालाई पनि प्रतिवादी बनाइएको छ ।

त्यस्तै, सवारी दुर्घटनाका क्रममा त्रिशूली नदीमा बेपत्ता भएका पूर्वमुख्यसचिव माधव घिमिरेकी छोरी कमला घिमिरेलाई समेत प्रतिवादी बनाइएको छ ।

भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक राजेन्द्र शर्मा, निर्देशक नारायण अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सिताराम पोखरेल र नायब सुब्बा बुद्धिबहादुर कार्कीविरुद्ध पनि मुद्दा पेस गरिएको अख्तियारले जनाएको छ ।

विशेष अदालतका अनुसार अख्तियारबाट प्राप्त आरोपपत्रको अध्ययन तथा रुजु गर्ने प्रक्रिया भइरहेको छ । पूर्वप्रधानमन्त्री नेपालविरुद्ध यसअघि पतञ्जली जग्गा प्रकरणमा दायर भएको भ्रष्टाचार मुद्दासमेत विशेष अदालतमा विचाराधीन छ ।

मंगलबार, १७ कार्तिक २०८३, १४ : १४

प्रतिक्रिया