न्यायालय

सर्वोच्च अदालतको फूलकोर्ट : निष्पक्ष छानबिनको मागदेखि सञ्चारमाध्यमलाई अपिलसम्म

सोमबार, १६ कार्तिक २०८३, १४ : ५८

काठमाडौं- सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) ले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार बसेको पूर्ण बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता डा। अशोककुमार क्षेत्रीले विज्ञप्ति जारी गर्दै संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैलाई आग्रह गरेका छन्।

विज्ञप्तिमा संविधान र कानुनको सर्वोच्चता न्यायपालिकाको अटल आस्था र प्रतिबद्धता रहेको उल्लेख गर्दै त्यसप्रति आफूहरू स्पष्ट र अडिग रहेको जनाइएको छ।

त्यस्तै, सार्वजनिक रूपमा प्रकाशित तथा प्रसारित विषयमा बिना पूर्वाग्रह, निष्पक्ष र स्वतन्त्र ढंगले संविधान तथा कानुनबमोजिम छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा हुने छानबिन र अनुसन्धानमा कानुनबमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहिता पूरा गर्न तथा आवश्यक सहयोग गर्न सर्वोच्च अदालत प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

न्यायपालिका जनताको आस्था र विश्वासमा अडिएको संस्था भएकाले यससँग सम्बन्धित समाचार प्रकाशन तथा प्रसारण गर्दा आम नागरिक र सेवाग्राहीमा भ्रम तथा नकारात्मक असर नपर्ने विषयमा सचेत रहन पनि पूर्ण बैठकले आग्रह गरेको छ।

छानबिनको निष्कर्ष सार्वजनिक हुनुअघि नै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने किसिमका समाचार प्रकाशन तथा प्रसारण नगर्नसमेत सर्वोच्चले सञ्चारमाध्यमलाई अनुरोध गरेको छ।

सोमबार, १६ कार्तिक २०८३, १४ : ५८

प्रतिक्रिया