काठमाडौं- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले जापानबाट नेपाल फर्किएका एक नेपाली विद्यार्थीसम्बन्धी घटनालाई लिएर सञ्चारमाध्यममा भइरहेको समाचार सम्प्रेषण तथा सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका टिप्पणीप्रति आपत्ति जनाउँदै प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको छ ।
एक शैक्षिक परामर्श संस्थाको कार्यालयमै पुगेर समाचार संकलन गर्दा सञ्चारकर्मीले अपनाएको कार्यशैली र त्यसपछि सार्वजनिक भएका एकपक्षीय समाचार तथा आरोप–प्रत्यारोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ईक्यानले निष्पक्ष पत्रकारिता र व्यावसायिक मर्यादा कायम राख्न आग्रह गरेको हो ।
ईक्यानले विद्यार्थीको पक्षबाट उठाइएका प्रश्न र गुनासालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । विदेशमा अध्ययनरत विद्यार्थीमाथि अन्याय, आर्थिक शोषण, गलत परामर्श, दुर्व्यवहार वा संस्थागत लापरबाही भएको भए निष्पक्ष छानबिन हुनुपर्ने र दोषी देखिने पक्षले कानुनअनुसार जवाफदेहिता वहन गर्नुपर्ने संघको भनाइ छ ।
तर, आरोप सार्वजनिक हुँदैमा छानबिन र प्रमाणको प्रतीक्षा नगरी सञ्चारमाध्यमले नै कसैलाई दोषी ठहर गर्ने प्रवृत्ति उचित नभएको ईक्यानले जनाएको छ । उजुरी, आरोप, प्रमाण र अनुसन्धानबाट स्थापित तथ्य फरक विषय भएकाले तिनलाई एउटै रूपमा प्रस्तुत गर्नु न्यायिक तथा पत्रकारिताको दृष्टिले गम्भीर त्रुटि हुने संघको धारणा छ ।
समाचार संकलनका क्रममा केही सञ्चारकर्मी परामर्श संस्थाको कार्यालयमा पुगेर कर्मचारी तथा सञ्चालकसँग प्रतिक्रिया माग्ने, दृश्य सामग्री संकलन गर्ने र कार्यालय परिसरमा असहज अवस्था सिर्जना गर्ने गरेको गुनासो आएको ईक्यानले उल्लेख गरेको छ । पत्रकारलाई प्रश्न सोध्ने, कागजात माग्ने र सार्वजनिक सरोकारका विषयमा अनुसन्धान गर्ने अधिकार भए पनि त्यसको प्रयोग कानुनी सीमा, व्यावसायिक मर्यादा र मानवीय सम्मानभित्र हुनुपर्ने संघको भनाइ छ ।
कार्यालयमा कार्यरत कर्मचारी स्वतः सार्वजनिक पात्र नहुने उल्लेख गर्दै ईक्यानले उनीहरूको व्यक्तिगत गोपनीयता, सम्मान र सुरक्षाको पनि संरक्षण हुनुपर्ने जनाएको छ । प्रश्न सोध्नु पत्रकारिताको अधिकार भए पनि दबाब सिर्जना गर्नु व्यावसायिक पत्रकारिताको मानक नभएको संघले स्पष्ट पारेको छ ।
ईक्यानले पत्रकारिता निष्पक्ष, जिम्मेवार र तथ्यमा आधारित हुनुपर्नेमा जोड दिएको छ । समाचार प्रकाशन गर्दा आरोपको तथ्यगत आधार, सम्बन्धित पक्षको प्रतिक्रिया, आरोप र प्रमाणबीचको भिन्नता तथा समाचारको भाषा र दृश्य प्रस्तुतिले अनुसन्धानअघि नै कसैलाई दोषी ठहर गर्ने वातावरण सिर्जना गरेको छ कि छैन भन्ने विषयमा ध्यान दिनुपर्ने संघको भनाइ छ ।
त्यस्तै, विद्यार्थीको पहिचान, गोपनीयता र भविष्यमा पर्न सक्ने प्रभावलाई समेत समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने ईक्यानले जनाएको छ । विद्यार्थी, परामर्श संस्था, विदेशी शैक्षिक संस्था तथा सम्बन्धित नियामक निकाय सबैको जिम्मेवारी र भूमिका निष्पक्ष रूपमा परीक्षण हुनुपर्ने संघको धारणा छ ।
यसैबीच, ईक्यानले प्रेस काउन्सिल नेपालसमक्ष सम्बन्धित समाचार सामग्रीको स्वतन्त्र समीक्षा गर्न, एकपक्षीय समाचार सम्प्रेषण भए–नभएको परीक्षण गर्न र समाचार संकलनका क्रममा अपनाइएको व्यवहारको अध्ययन गर्न आग्रह गरेको छ ।
संघले विद्यार्थीको गोपनीयता संरक्षण गर्न, तथ्यगत त्रुटि वा एकपक्षीय सामग्री देखिए आवश्यक सुधार, खण्डन वा प्रतिक्रिया प्रकाशनको पहल गर्न तथा पत्रकार आचारसंहिता उल्लङ्घन पुष्टि भए क्षेत्राधिकारअनुसार कारबाही गर्नसमेत माग गरेको छ ।
ईक्यानले कुनै सञ्चारमाध्यममाथि पूर्वनिर्धारित कारबाहीको माग नगरेको स्पष्ट पार्दै घटनाको निष्पक्ष अध्ययन र संस्थागत निर्णयको अपेक्षा गरेको जनाएको छ ।
विद्यार्थीले न्याय माग्न पाउनुपर्ने, परामर्श संस्थाले आफ्नो पक्ष राख्न पाउनुपर्ने र सञ्चारमाध्यमले प्रश्न तथा अनुसन्धान गर्न पाउनुपर्ने उल्लेख गर्दै संघले यी सबै अधिकारको प्रयोग तथ्य, प्रमाण, कानुनी सीमा र व्यावसायिक मर्यादाभित्र हुनुपर्नेमा जोड दिएको छ ।
प्रतिक्रिया