दङ्गाकारीहरूले शनिवार अबेर मध्य फ्र्याङ्फर्टका पसलहरूमा लुटपाट गरेका छन् भने मूलतः शान्त रहेका महँगी विरुद्धका प्रदर्शनहरूपछि प्रहरी र प्रदर्शनकारीहरूबीच जर्मनीका विभिन्न सहरमा झडप भएको छ।
जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्फर्टबाहेक बर्लिन, कोलोन र ह्यामबर्गमा हिंसात्मक घटनाहरू भएका थिए। प्रहरीले आन्दोलनकारीलाई तितरबितर बनाउन अश्रु ग्यास प्रहार गरेको जनाएको छ।
आन्दोलनकारीहरूले भने आपत्कालीन सेवाका कर्मचारीहरूमाथि अतीसबाजी, ढुङ्गा र बोतलहरू प्रहार गरेका थिए।
अभियान समूह जेन जी रिग्लेट (जेनजीले नेतृत्व लिनुपर्छ) ले त्यसअघि आयोजना गरेका प्रदर्शनमा हजारौँ मानिसहरू सहभागी थिए। उनीहरू विद्यालयमा बजेट घटाइएको, महँगी बढेको र सार्वजनिक खर्च कटौती र अनिवार्य सैन्य सेवाको व्यवस्थाप्रति विरोध जनाएका थिए।
यसअघि यस्तै खालको प्रदर्शन फ्रान्समा पनि भएको थियो र त्यहाँ ३ लाख २० हजार भन्दा बढी मानिसहरूले शनिवार प्रदर्शन गरेको जनाइएको छ।
हिंसा र गिरफ्तारीका विवरण
फ्र्याङ्फर्टमा ब्याट मेनको पोसाक लगाएका एक व्यक्ति शहरमा आगो लागिरहँदा हात उठाएर सङ्केत दिदैँ। जेन जी रिग्लेट नामक समूहले देशव्यापी प्रदर्शन आयोजना गरेको हो।
एएफपी समाचार संस्थाका अनुसार फ्र्याङ्कफर्टको प्रमुख सपिङ स्ट्रिटको ठूलो हिस्सा प्रहरीले बन्द गराएको थियो। एकजना प्रहरी प्रवक्ताले सहरबाट धेरै जनालाई पक्राउ गरिएको बताएका छन्।
फ्र्याङफर्ट, म्युनिख र बर्लिनका अधिकारीहरूले झन्डै झन्डै १८ हजार प्रदर्शनकारीहरूले विरोध कार्यक्रममा सहभागिता जनाएको आकलन गरेका छन्। त्यो आयोजकहरूले आफ्नो वेबसाइटमा दाबी गरेको सङ्ख्याको तुलनामा लगभग आधा हो।
जेन जी रिग्लेटकी प्रवक्ता लीना फ्रिडरिकले ती प्रदर्शनहरू 'युद्ध वा जबरजस्ती भन्दा पनि शान्ति र स्वतन्त्रताको लागि सङ्घर्ष भएको' बताइन्।
कैयौँ पसलहरूका झ्यालहरू तोडफोड गरिएका छन् भने आपत्कालीन सेवा प्रदायकहरूमाथि प्रज्वलनशील तरल पदार्थ सिसाको बोतलमा राखेर तयार पारिएका घरेलु बम प्रहार गरिएका जनाइएको छ।
प्रहरीले बन्दुक बिक्री गर्ने एउटा पसलको झ्याल तोडफोड गरिएको उल्लेख गर्दै एक जना सन्दिग्ध व्यक्तिलाई पक्राउ गरी दुईवटा हतियार बरामद गरेको जनाएको छ।
फ्रायङफर्ट राजधानी रहेको हेस राज्यका आन्तरिक मन्त्रीले स्पष्ट रूपमा चिनिएका झन्डै १०० 'अति वामपन्थी अतिवादीहरूले' प्रदर्शनहरूमा घुसपैठ गरेको जनाएका छन्। उनले प्रदर्शन टुङ्गिएको शैली 'लज्जास्पद' भएको पनि बताए।
आन्तरिक मन्त्री होमान पोसेकले भने, "फ्रान्समा भएका लुटपाट, घरहरूमा आगजनी, प्रहरीका सवारी साधन जलाइएका घटना र प्रहरीमाथिको आक्रमण हामी सबैको स्मृतिमा ताजै छन्। …यस सम्बन्धमा फ्रान्सलाई उदाहरण मानेर अनुकरण गर्नुहुँदैन।"
बीबीसी न्यूज नेपाली
प्रतिक्रिया