काठमाडौं- नेपाली कांग्रेसका नेता डा। प्रकाशशरण महतले शेरबहादुर देउवा नेतृत्वको कांग्रेस नै विधि र विधानअनुसार सही ठाउँमा रहेको दाबी गरेका छन् ।
उनले देउवालाई सभापतिबाट हटाउन पार्टीको विधानअनुसार दुईतिहाइ आवश्यक पर्ने बताए । “१४औँ महाधिवेशनको सभापति शेरबहादुर देउवा हो । अहिले पनि यो पार्टीको सभापति उहाँ नै हुनुहुन्छ । उहाँलाई हटाउन दुईतिहाइ चाहिन्छ । कुनै प्रक्रिया नै नभइकन उहाँहरूलाई आधिकारिकता दिइएको अवस्था थियो,” उनले भने ।
महतले पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा पुनरवलोकनको प्रक्रियामा रहेको बताए । उनका अनुसार, देउवा पक्षले हालसम्म २२८ प्रदेशसभा निर्वाचन क्षेत्र र ११४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गरेको छ । त्यस्तै, २६ जिल्लामा पनि अधिवेशन सम्पन्न भइसकेको उनले बताए ।
छोटो समयमै अधिवेशनको प्रक्रिया अघि बढाउनुपरे पनि देशभर उत्साहजनक सहभागिता रहेको महतको दाबी छ ।
“कुनै साधनस्रोत दिइएको छैन । जुन–जुन तहमा अधिवेशन भएको छ, ती तहमा आफ्नै साधनस्रोत प्रयोग गरेर साथीहरू सहभागी भएका छन् । हामी न्याय र विधिको पक्षमा छौँ ।
प्रतिक्रिया