काठमाडौं– नेपाल प्रहरीको नेतृत्व परिवर्तनको विषयलाई लिएर प्रधानमन्त्री बालेन्द्र साहको सचिवालयमा रहेका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र सक्रिय रहेको आरोप सार्वजनिक भएको छ ।
मिश्रले वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी प्रमुख बनाउने प्रयास गरिरहेको स्रोतको दाबी छ।
स्रोतका अनुसार मिश्रले प्रहरी नेतृत्व परिवर्तनका लागि प्रधानमन्त्रीको सचिवालयदेखि विभिन्न तहमा आफ्नो पहुँच र प्रभाव प्रयोग गरिरहेका छन्। केसीलाई आईजीपी बनाउन राजनीतिक पहुँच प्रयोग गर्नुका साथै आर्थिक लेनदेनसमेत गरेको आरोप छ । मिश्रले केसीलाई कम्तीमा एक दिन भए पनि प्रहरी महानिरीक्षक बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेको स्रोतको दाबी छ।
प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार रहेका मिश्र यसअघि रुटिन अफ नेपाल बन्दमा आबद्ध थिए। सोही क्रममा विभिन्न राजनीतिक तथा सार्वजनिक व्यक्तित्वसँग उनको सम्बन्ध विस्तार भएको बताइन्छ। यसअघि केही स्थानीय तहका जनप्रतिनिधिसँग प्रचारप्रसार गरिदिने भन्दै रकम लिएको आरोपसमेत उनीमाथि लागेको दाबी गरिएको छ।
नेपाल प्रहरीको सर्वोच्च नेतृत्व चयन संगठनको व्यावसायिकता, निष्पक्षता र संस्थागत विश्वसनीयतासँग जोडिएको विषय हो। यस्तो संवेदनशील प्रक्रियामा बाह्य व्यक्तिको प्रभाव वा आर्थिक चलखेल भएको भए त्यसले प्रहरी संगठनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउन सक्छ।
प्रतिक्रिया