काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको बैठक वर्तमान केन्द्रीय समितिको अन्तिम बैठकसमेत भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
बैठकले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, उपसभापतिले पेस गरेको समसामयिक विषयसम्बन्धी प्रस्ताव तथा महामन्त्रीले पेस गरेको पार्टी सञ्चालन र विधानसम्बन्धी प्रस्तावमाथि निर्णय गरेको छ।
प्रवक्ता चालिसेका अनुसार सभापति थापाको राजनीतिक प्रस्तावमा आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक कार्यदिशा, सरकार, देशको समग्र अवस्था तथा अन्तर्राष्ट्रिय सम्बन्ध र दृष्टिकोण समेटिएको छ। लोकतान्त्रिक संस्थालाई सबल बनाउनु आगामी दिनको प्रमुख चुनौती रहेको उल्लेख गर्दै कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आफ्नो मूल सिद्धान्तका रूपमा अघि सारेको उनले बताए।
बैठकले आगामी निर्वाचनमा उम्मेदवार छनोट गर्दा नेतृत्व विकास र क्षमता अभिवृद्धिलाई प्राथमिकता दिने नीति पनि अघि सारेको छ। नेतृत्व एकेडेमीबाट प्रशिक्षण तथा अध्ययन पूरा गरेका व्यक्तिलाई उम्मेदवार बनाउने अवधारणा अघि सारिएको चालिसेले बताए। यसबाट सक्षम नेतृत्व निर्माण तथा सुशासन प्रवर्द्धनमा सहयोग पुग्ने कांग्रेसको अपेक्षा छ।
यस्तै, बैठकले विधान संशोधनसम्बन्धी प्रस्तावमा सुझावसहितको प्रारम्भिक खाका अघि बढाएको छ। महामन्त्रीले पेस गरेको प्रस्तावमा पार्टी सञ्चालनको विधि, निर्णय प्रक्रिया तथा पार्टीका विभिन्न तहमा जिम्मेवारी र संरचनालाई व्यवस्थित गर्ने विषय समेटिएको छ।
नयाँ विधानको प्रारम्भिक खाकामा वडा, क्षेत्र र जिल्ला तहमा थप पद सिर्जना गर्ने प्रस्तावसमेत गरिएको छ। तर, यो अन्तिम निर्णय भने नभएको प्रवक्ता चालिसेले स्पष्ट पारे।
उनका अनुसार सार्वजनिक गरिएको संरचना प्रारम्भिक खाका मात्रै हो। १५औँ महाधिवेशनको बन्दसत्रमा प्रस्ताव प्रस्तुत भई प्रतिनिधिहरूले पारित गरेपछि मात्रै विधान संशोधनले अन्तिम रूप पाउनेछ।
प्रतिक्रिया