काठमाडौं– दीपक भट्टपछि बिचौलिया इनम सापकोटाको पक्राउ र त्यससँग जोडिएर सार्वजनिक भइरहेका घटनाक्रमले नेपालको राजनीति, प्रशासन, न्यायालय र सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न खडा गरेका छन्।
सामान्य पहुँच र प्रभाव भएका व्यक्तिहरूको सम्पर्क सञ्जाल राज्यका महत्वपूर्ण निकायसम्म प्रभाव पार्न सक्ने अवस्थामा देखिनु आफैँमा चिन्ताको विषय हो। तर यससँगै अर्को गम्भीर प्रश्न पनि छ– राज्यको यति ठूलो शक्ति र पहुँच हुँदाहुँदै हजारौँ सर्वसाधारणको अर्बौं रुपैयाँ बचत हिनामिना गरेको आरोप लागेका सहकारी ठगीका फरार अभियुक्त गितेन्द्रबाबु (जीबी) राईलाई सरकारले किन नेपाल ल्याउन सकेको छैन ?
के जीबी राईभन्दा शक्तिशाली अपराधी थिए ? के नेपालको सुरक्षा संयन्त्र कमजोर छ ? कि राजनीतिक संरक्षण, प्रशासनिक मिलेमतो र कूटनीतिक निष्क्रियताले राज्यलाई नै निरीह बनाएको हो ? यी प्रश्नको जवाफ खोज्नु अहिलेको आवश्यकता हो।
नेपाल प्रहरीको अन्तर्राष्ट्रिय अपराध अनुसन्धानको विगत कमजोर छैन। सार्वजनिक तथ्यांकअनुसार पछिल्लो १० वर्षमा इन्टरपोलको सहयोगमा ६६ जना फरार नेपाली अभियुक्तलाई विभिन्न देशबाट पक्राउ गरी नेपाल ल्याइएको छ। संयुक्त अरब इमिरेट्सबाट मात्रै २५ जना, कतारबाट १० जना र अन्य विभिन्न देशबाट समेत अभियुक्तहरू स्वदेश फर्काइएका छन्। यसले विदेशमा लुकेर बस्दैमा अपराधी सधैँ राज्यको पहुँचभन्दा बाहिर रहन नसक्ने देखाउँछ।
यसको एउटा उदाहरण मनोज पुनको घटना हो। २०७४ फागुन ६ गते भारतको गोवाबाट पक्राउ परेका पुनलाई नेपाल ल्याइएको थियो। २०७४ फागुन ९ गते रूपन्देहीको देवदहमा प्रहरीसँगको कथित मुठभेडमा उनी मारिए। यस घटनाले पनि त्यतिबेला नेपाल प्रहरीले सीमापार अपराधमा संलग्न व्यक्तिको खोजी र नियन्त्रणमा क्षमता देखाएको थियो।
तर जीबी राईको हकमा राज्य किन प्रभावकारी देखिएको छैन ? यो प्रश्नको जवाफ सरकारले दिनुपर्छ। राईविरुद्ध इन्टरपोलले २०८० माघ २५ गते रेड नोटिस जारी गरेको थियो। उनी मलेसियामा रहेको जानकारी नेपाल प्रहरीसम्म पुगेको समाचारसमेत सार्वजनिक भएका छन्। प्रहरी टोली मलेसिया पुगेर खोजी तथा समन्वयमा संलग्न भएको विवरण पनि बाहिरिएको छ। तर अहिलेसम्म उनलाई नेपाल फर्काउन सकिएको छैन।
यदि कानुनी अड्चन छन् भने तिनको समाधान खोज्न सरकारले के गर्यो ? प्रहरीलाई आवश्यक राजनीतिक तथा कूटनीतिक सहयोग किन प्रभावकारी रूपमा उपलब्ध हुन सकेन ? अभियुक्तको अवस्थाबारे सरकार आफैँ किन स्पष्ट जवाफ दिन सक्दैन ? यी प्रश्न अनुत्तरित रहनु हुँदैन।
अझ २०८३ असोज ३१ गते जीबी राई नेपाल फर्किन चाहेको दाबी गरिएको अडियो र विज्ञप्ति सार्वजनिक भयो। प्रहरीले त्यसको सत्यता परीक्षण गर्ने बताएको छ। यदि उनी साँच्चै नेपाल फर्किन इच्छुक छन् भने सरकारका लागि यो एउटा अवसर हुन सक्छ। तर उनको भनाइलाई नै अन्तिम सत्य मानेर होइन, निष्पक्ष अनुसन्धान र कानुनी प्रक्रियामार्फत अगाडि बढ्नुपर्छ।
अब यो प्रश्न नेपाल प्रहरीको अनुसन्धान क्षमतामा मात्रै सीमित छैन। यो राज्यको राजनीतिक इच्छाशक्ति र जवाफदेहितासँग पनि जोडिएको छ। प्रहरीलाई आवश्यक निर्देशन दिने, गृह मन्त्रालयले समन्वय गर्ने, परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल गर्ने र सरकारले समग्र जिम्मेवारी लिने हो। यस्तो अवस्थामा असफलताको सम्पूर्ण दोष प्रहरीमाथि थोपरेर सरकार उम्कन मिल्दैन।
जीबी राईको गिरफ्तारीमा ढिलाइ हुनुको अर्थ सुरक्षा संयन्त्र अयोग्य छ भन्ने स्वतः होइन। तर राज्यका निकायबीच समन्वयको कमजोरी, राजनीतिक हस्तक्षेप, सम्भावित संरक्षण र कूटनीतिक निष्क्रियताबारे प्रश्न उठ्नु स्वाभाविक हो। यी आशंकाको निष्पक्ष छानबिन हुनु आवश्यक छ।
सरकारलाई अब केही सीधा प्रश्न छन्– जीबी राई कहाँ छन् भन्ने जानकारी राज्यसँग छ भने उनलाई नेपाल ल्याउने ठोस योजना के छ ? अहिलेसम्म भएका कूटनीतिक प्रयासको परिणाम के आयो ? राहदानी रद्द गर्ने प्रक्रियामा कहाँ अवरोध भयो ? कसको जिम्मेवारीमा फाइल अड्कियो ? र, हजारौँ बचतकर्ताको अर्बौं रुपैयाँको न्याय कसले सुनिश्चित गर्छ ?
जनताको पसिनाको कमाइ लुटिएको छ। परिवारको भविष्य सुरक्षित गर्ने उद्देश्यले जम्मा गरेको बचत गुमाएर नागरिक सडकमा छन्। उनीहरूलाई आश्वासन होइन, न्याय चाहिएको छ। सरकारको सफलता भाषण, पक्राउका समाचार र राजनीतिक प्रतिशोधमा होइन, शक्तिशाली भनिएका व्यक्तिलाई समेत कानुनको दायरामा ल्याउन सक्ने क्षमतामा देखिनुपर्छ।
दीपक भट्ट र इनम सापकोटा प्रकरणले राज्यका प्रभावशाली तहसम्म पुग्ने अनुसन्धानको ढोका खोलेको छ भने जीबी राई प्रकरणले राज्यको इच्छाशक्ति र जवाफदेहिताको परीक्षा लिइरहेको छ । सरकार असफल भएको हो कि राज्यभित्रै कसैको स्वार्थले सरकारलाई असफल बनाइरहेको छ ? अब यसको जवाफ नागरिकले होइन, सरकारले दिनुपर्छ।
प्रतिक्रिया