मुकुन्दपुर खानेपानीको १९औँ साधारणसभा सम्पन्न

सोमबार, ०७ मंसिर २०८३, ११ : २२

गैंडाकोट- नवलपुरको मुकुन्दपुर खानेपानी उपभोक्ता संस्थाको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष थिरबहादुर थनेतको अध्यक्षतामा सम्पन्न सभामा संघीय सांसद राजन गौतम प्रमुख अतिथि तथा राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओली र गैंडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइराला विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद गौतमले खानेपानी उपभोक्ता संस्थामा पारदर्शिता कायम गर्नुपर्ने र अनावश्यक खर्च नियन्त्रण गर्नुपर्नेमा जोड दिए। उनले मुकुन्दपुर खानेपानी संस्थाको विकास र सुधारका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष ओलीले सरकारले खानेपानी क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिएको भन्दै चिन्ता व्यक्त गरे। नागरिककै लगानी, श्रम र प्रयासबाट निर्माण तथा सञ्चालन भएका खानेपानी संस्थालाई सहयोग गर्नुपर्नेमा उल्टै खारेजी र विघटनको नीति अघि सारिनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो।

खानेपानी नागरिकको आधारभूत आवश्यकता र मौलिक अधिकार भएकाले उपभोक्ताले निर्माण गरेका संस्थाको संरक्षण, प्रवर्द्धन र संस्थागत विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताए।

त्यस्तै, गैंडाकोट नगरपालिकाकी उपप्रमुख कोइरालाले जनप्रतिनिधि नागरिकका सेवक भएको उल्लेख गर्दै जनताको काम गर्न र उनीहरूका समस्या समाधान गर्न आफूहरू प्रतिबद्ध रहेको बताइन्।

कार्यक्रममा संस्थाका सचिव रामचन्द्र धितालले वार्षिक साधारणसभा सञ्चालन गरेका थिए भने उपाध्यक्ष प्रकाश न्यौपानेले स्वागत मन्तव्य राखेका थिए। कोषाध्यक्ष बबिता सुवेदीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

साधारणसभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, वित्तीय पारदर्शिता तथा खानेपानी सेवाको प्रभावकारी सञ्चालनलगायत विषयमा छलफल भएको थियो।

खानेपानी उपभोक्ता संस्थाको संस्थागत विकास, पारदर्शिता र दिगो सञ्चालनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको निष्कर्षसहित साधारणसभा सम्पन्न भएको संस्थाले जनाएको छ।

सोमबार, ०७ मंसिर २०८३, ११ : २२

प्रतिक्रिया