प्रधानमन्त्रीको भारत भ्रमण

भारतमा प्रधानमन्त्री बालेनलाई गार्ड अफ अनर दिने तयारी, राष्ट्रपति भवनमा रातो कार्पेट

सोमबार, ०७ मंसिर २०८३, १० : १३

नयाँदिल्ली- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारतीय सेनाले ‘गार्ड अफ अनर’ प्रदान गर्ने तयारी गरेको छ।

राष्ट्रपति भवन परिसरमा आयोजना हुने समारोहका लागि रातो कार्पेट बिछ्याइएको छ। समारोहस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने तालिम प्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गरिएको छ।

समारोहस्थलको एकातर्फ सञ्चारकर्मी र अर्कोतर्फ नेपाल तथा भारतका राष्ट्रिय झण्डा बोकेका व्यक्तिहरूलाई राखिएको छ।

भ्रमणको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले सोमबार बिहान १०ः४० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्ने कार्यक्रम छ।

त्यसपछि बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुनेछ। बिहान ११ः५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुने तय भएको छ।

दिउँसो १२ः३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौता आदानप्रदान र दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि दिउँसो १ः१५ बजे भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। दिउँसो ३ः१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

सोमबार, ०७ मंसिर २०८३, १० : १३

प्रतिक्रिया