नयाँदिल्ली- प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार हुने उच्चस्तरीय वार्तामा नेपालको चासोका प्रमुख विषय सीमा विवाद र थप हवाई प्रवेश मार्ग (एयर रुट) ले प्राथमिकता नपाउने संकेत देखिएको छ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा सहभागी अधिकारीहरूका अनुसार दुई प्रधानमन्त्रीबीच आधा घण्टाका लागि तय गरिएको एकल भेटवार्ता र त्यसपछि हुने प्रतिनिधिमण्डलस्तरीय छलफलको औपचारिक कार्यसूचीमा यी विषय समेटिएका छैनन्। यद्यपि, अन्तिम समयसम्म सहमति जुटाउने प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्।
‘विकसित भारत र समुन्नत नेपाल स् साझेदारीको पुनःकल्पना’ भन्ने अवधारणाअन्तर्गत दुई देशबीच विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने तयारी छ। व्यापार तथा आर्थिक साझेदारी, कनेक्टिभिटी, ऊर्जा, जलस्रोत, शिक्षा, प्रविधि, स्वास्थ्य, कृषि, पर्यटन र संस्कृतिसहित १० क्षेत्रमा सहमति तथा सम्झौता गर्ने तयारी गरिएको छ।
त्यसैगरी, सन् १९५० को शान्ति तथा मैत्री सन्धिमाथि आपसी समझदारीमा पुनर्विचार, रामायण, बौद्ध तथा शिव–शक्ति सर्किटको विकास र विभिन्न विकास परियोजनामा सहकार्यका विषय पनि छलफलमा समेटिने बताइएको छ।
नेपालले भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन लामो समयदेखि भारतसँग आग्रह गर्दै आएको छ। तर, यस विषयमा भारतीय पक्षबाट अहिलेसम्म ठोस सहमति प्राप्त हुन सकेको छैन।
प्रधानमन्त्री शाह आइतबार दिउँसो ३ बजेर २५ मिनेटमा नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। उनलाई भारतीय उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिनकुमारले स्वागत गरेका थिए।
विमानस्थलबाट होटल ताज पुगेका प्रधानमन्त्री शाहलाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट गरेका थिए। भेटमा सोमबार हुने मोदीसँगको वार्ता तथा सम्भावित सहमति र सम्झौताका विषयमा छलफल भएको थियो।
जयशंकरले सामाजिक सञ्जालमार्फत नेपालसँगको विशेष मित्रतालाई भारतले सधैँ कदर गर्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहको भ्रमणप्रति खुसी व्यक्त गरेका थिए।
दुईदिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोजसमेत आयोजना गर्नेछन्।
उच्चस्तरीय वार्तापछि विभिन्न परियोजनाको उद्घाटन तथा शिलान्यास र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्कने कार्यक्रम छ।
प्रतिक्रिया