पहिलो ‘शक्ति लम्साल स्मृति साहित्य पुरस्कार’ रमेश विकललाई

सोमबार, ०७ मंसिर २०८३, ०९ : ०९

काठमाडौं- प्रगतिशील लेखक संघ (प्रलेस) नेपालले पहिलो ‘प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार, २०८३’ साहित्यकार रमेश विकललाई प्रदान गरेको छ।

नेपालको वामपन्थी साहित्य तथा न्यायिक अभियानमा विकलले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई उक्त पुरस्कार प्रदान गरिएको प्रलेसले जनाएको छ।

आइतबार काठमाडौंमा आयोजित पुरस्कार वितरण समारोहमा वक्ताहरूले राजनीतिक जवाफदेहिता, सामाजिक न्याय, रूपान्तरण र समावेशी लोकतन्त्रका पक्षमा स्वर्गीय शक्ति लम्सालले पुर्‍याएको योगदानको चर्चा गरेका थिए। उनीहरूले लम्सालको आदर्श र त्यागलाई राजनीतिक संस्कारका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शक्ति लम्सालले नागरिक स्वतन्त्रता र देश विकासका पक्षमा कहिल्यै कसैसँग सम्झौता नगरेको बताए। नेपाली नागरिकको हित र राष्ट्रिय सार्वभौमसत्ताको सवालमा लम्साल सधैँ अविचलित रहेको उनको भनाइ थियो।

खनालले राजनीतिक विविधताको सम्मान गर्दै दर्शन, विचार र कार्यदिशाका विषयमा बहसलाई निरन्तरता दिनुपर्ने बताए। निषेधको राजनीतिले नेपाली समाजको हित नगर्ने उल्लेख गर्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर खुला विचार प्रवाहलाई बलियो बनाउनुपर्ने धारणा राखे।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वमन्त्री देव गुरुङले कठिन परिस्थितिमा पनि न्याय, समानता र विकासका पक्षमा लम्सालले अविचलित अडान राखेको स्मरण गरे। राजनीतिकर्मीहरूले सिद्धान्त र विचारमा आधारित राजनीति गर्न लम्सालले देखाएको बाटो पछ्याउनुपर्ने उनको भनाइ थियो।

लेखक तथा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले साहित्यिक र न्यायिक योगदानको कहिल्यै अन्त्य नहुने बताए। वामपन्थी विचारधाराका लेखक तथा विश्लेषक भए पनि लम्साल अहिंसाका पक्षपाती र सामाजिक रूपान्तरणका लागि आजीवन सक्रिय रहेको उनले उल्लेख गरे।

वामपन्थी पत्रकार तथा विश्लेषक महेश्वर दाहालले नेपालको वामपन्थी आन्दोलनमा शक्ति लम्साललाई निष्ठावान व्यक्तिका रूपमा लामो समयसम्म स्मरण गरिने बताए। उच्च सेन्सरसीपको समयमा समेत कसैको दबाब र प्रभावमा नपरी लम्सालले विचार र अडानसहित पत्रकारिता गरेको उनको भनाइ थियो।

स्वतन्त्र पत्रकारिता तथा विचार र अभिव्यक्ति स्वतन्त्रताको अहिलेको अवस्था शक्ति लम्सालजस्ता व्यक्तिहरूको त्यागको परिणाम भएको उल्लेख गर्दै दाहालले उनको आदर्श र त्यागलाई नेपाली राजनीतिको संस्कारका रूपमा विकास गर्नुपर्ने बताए। नयाँ पुस्तासँग समेत लम्सालका विचार र योगदान जोडेर लैजानु सबै राजनीतिक दल तथा राजनीतिकर्मीको दायित्व रहेको उनको भनाइ थियो।

कार्यक्रममा लेखक तथा विश्लेषक हिरण्यलाल श्रेष्ठ, वरिष्ठ वामपन्थी राजनीतिज्ञ मोहनविक्रम सिंह, पूर्वसांसद नारायण शर्मा, लम्सालकी धर्मपत्नी कृष्णा लम्साल, छोरी प्रज्ञा लम्साल तथा पत्रकार एवं विश्लेषक अशोक सुवेदीलगायतले जवाफदेही राजनीति र सामाजिक रूपान्तरणका पक्षमा लेखक तथा विश्लेषकहरूले निर्भीकतापूर्वक कलम चलाउनुपर्ने धारणा राखेका थिए।

पुरस्कारको राशि २५ हजार १०० रुपैयाँ रहेको छ। प्रगतिशील लेखक संघ नेपालले स्वर्गीय शक्ति लम्सालको स्मृतिमा प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्ने जनाएको छ।

वामपन्थी पत्रकार तथा विश्लेषक लम्सालले लोकतन्त्र प्राप्तिको आन्दोलनका क्रममा पटकपटक जेल जीवनसमेत बिताएका थिए। उनको २०७२ साल कात्तिकमा निधन भएको थियो।

सोमबार, ०७ मंसिर २०८३, ०९ : ०९

प्रतिक्रिया