दाङ- घोराही उपमहानगरपालिका–८ का वडा अध्यक्ष जितेन्द्र शाहलाई कार्यपालिका बैठकबाट बाहिर निकालिएको छ । आफ्नो वडा क्षेत्रभन्दा बाहिर गएर अन्य वडामा सामाजिक गतिविधि सञ्चालन गरेको भन्दै प्रश्न उठेपछि विवाद हुँदा उनलाई बैठकबाट बाहिर निकालिएको हो ।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको कार्यपालिका बैठकमा शाहले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर अन्य वडामा सामाजिक काम गरेको भन्दै केही सदस्यले प्रश्न उठाएका थिए । उनीहरूले यस विषयमा माफी माग्नसमेत दबाब दिएको बताइएको छ ।
तर वडा अध्यक्ष शाहले आफू वडा नम्बर ८ को जनप्रतिनिधि भए पनि सिंगो उपमहानगरका नागरिकको समस्या र सामाजिक सेवामा सक्रिय हुनु गलत नभएको भन्दै माफी माग्न अस्वीकार गरेका थिए । जनताको सेवामा खटिँदा माफी माग्नुपर्ने अवस्था स्वीकार्य नहुने अडान राखेपछि उनलाई बैठकबाट बाहिर निकालिएको बताइएको छ ।
पछिल्लो समय शाह आफ्नो वडासँगै घोराही उपमहानगरपालिकाका अन्य क्षेत्रमा समेत सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् । स्थानीयका समस्या समाधानमा सक्रियता देखाउँदै आएका उनको चर्चा उपमहानगर क्षेत्रमै बढ्दै गएको छ । उनलाई आगामी स्थानीय तह निर्वाचनमा घोराहीको मेयर पदका सम्भावित दाबेदारका रूपमा समेत चर्चा गर्न थालिएको छ ।
यसअघि नेकपा एमालेबाट निर्वाचित शाहले पार्टी परित्याग गरेपछि उनलाई पार्टीले निलम्बन गरेको थियो । उच्च अदालतको आदेशपछि पुनर्बहाली भएर उनले पुनः वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
शाहले भने उपमहानगरपालिकाले उपेक्षा गरेका क्षेत्रहरूमा समेत आफ्नो सामाजिक उपस्थिति निरन्तर रहने बताएका छन् । जनताको सेवा गर्दा माफी माग्न दबाब दिने कार्य स्वीकार्य नभएको उनको भनाइ छ ।
‘म जनताको प्रतिनिधि हुँ, जनताकै सेवामा खटिरहेको छु । मैले किन माफी माग्ने रु जनताको समस्या अवज्ञा गर्दै आएका जनप्रतिनिधिले माफी माग्नुपर्छ,’ शाहले भने ।
स्थानीय तहमा शाहको बढ्दो सक्रियता र आगामी निर्वाचनमा उनको सम्भावित उम्मेदवारीलाई लिएर घोराही उपमहानगरको राजनीतिक वृत्त तरंगित बनेको बताइन्छ । कार्यपालिका बैठकबाट बाहिर निकालिएको घटना पनि त्यसकै उपज भएको शाह स्वयंले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
प्रतिक्रिया