काठमाडौं- साताको कारोबारको मध्यदिन बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १.४० अंकले बढेर २ हजार ६६५.५३ विन्दुमा पुगेर बन्द भएको हो। यो ०.०५ प्रतिशतको वृद्धि हो।
दिनभर उतारचढाव देखिएको बजार कारोबारका क्रममा २ हजार ६८० विन्दुभन्दा माथिसमेत पुगेको थियो। तर, अन्तिम समयमा बजारले उक्त वृद्धि कायम राख्न नसक्दा सामान्य अंकको बढोत्तरीमा सीमित भएको हो।
परिसूचकमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ। बुधबार कुल २ करोड १२ लाख २३ हजार ४१४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आज कारोबारमा आएका कम्पनीमध्ये ९८ वटाको सेयर मूल्य बढेको छ भने १७१ कम्पनीको मूल्य घटेको छ। यस्तै, ९ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन। यसले समग्र बजार परिसूचक सामान्य बढे पनि अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको देखाउँछ।
प्रतिक्रिया