तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

विहीबार, १९ कार्तिक २०८३, १२ : ४६

काठमाडौं  बागलुङ नगरपालिका–१ रामरेखाको मैनडाँडाकी कमला थापाको पछिल्ला दिनमा परिचय फेरिएको छ । उनलाई धेरैले सफल कृषकको परिचय दिएका छन् । त्यसमा पनि फूलेखती गर्ने कृषकका रूपमा उनले नाम कमाएकी छिन् ।  फूलेखतीले उनलाई नामसँगै दाम पनि दिएको छ । 

सुरुआती दिनमा उनले प्लास्टिक टनेलमा व्यावसायिक तरकारीखेती गरेकी थिन् । पछिल्लो तीन वर्षदेखि तरकारी छाडेर उनि फूलखेतीमा लागिन । तरकारीबाट भन्दा बढी फूलबाट आम्दानी भएको उनले बताईन् । 

नजिकै रहेको बागलुङ कालिका मन्दिरमा फूलको माग बढ्दै गएपछि उनले तरकारीखेती छाडेर फूलखेती सुरु गरेकी हुन् । भाडामा लिएको दुई रोपनी जग्गामा तीनवटा प्लास्टिक टनेल निर्माण गरी उनले मौसमी तथा बेमौसमी फूल उत्पादन गर्दै आएकी छिन् ।

“लामो समयदेखि तरकारीखेती गर्दै आएकी थिएँ । तरकारीमा विषादी प्रयोग गर्नुपर्ने भएकाले फूलखेतीमा लागेकी हुँ । तीन वर्ष भयो, फूलखेतीबाट घरखर्च राम्रै चलेको छ,” थापाले भनिन्, “वार्षिक रु दुई लाख ५० हजारदेखि तीन लाखसम्म आम्दानी हुन्छ । बजारमा बाहिरबाट फूल नआउँदा राम्रो बिक्री हुन्छ, नत्र कहिलेकाहीँ बोटमै कुहिने अवस्था पनि आउँछ ।”

उनका अनुसार बेमौसममा उत्पादित फूल प्रतिकिलो रु ४०० सम्म र मौसमी फूल प्रतिकिलो रु २०० सम्म बिक्री हुने गरेको छ । प्लास्टिक टनेलभित्र खेती गर्दा बेमौसममा पनि फूल उत्पादन गर्न सकिने उनको अनुभव छ ।

बागलुङमा व्यावसायिक फूलखेती गर्ने किसानको संख्या कम रहेकाले उत्पादित फूलको बजार खोज्न समस्या नभएको कृषक थापाको भनाइ छ । उनले टनेलमा उत्पादन गरेको सयपत्री फूल नजिकै रहेको बागलुङ कालिका मन्दिरमा आउने भक्तजनलाई बिक्री गर्दै आएकी थिन् ।

हाल उनि तिहारलाई लक्षित गरी सयपत्री फूल बिक्री गर्ने तयारीमा छिन् । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि मन्दिरमा आउने भक्तजनलाई सहज भएको छ । तरकारी खेतीबाट फूलखेतीमा लाग्नुभएकी थापाका लागि फूलखेती अहिले आम्दानीको भरपर्दो माध्यम बनेको छ । 

विहीबार, १९ कार्तिक २०८३, १२ : ४६

प्रतिक्रिया